काठमाडौँ जिल्लाका मेयरहरुले उपत्यकामा थप एक साता निषेधाज्ञा आदेश जारी राख्न आग्रह गरेका छन् । आज जिल्लास्तरीय कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी) को बैठकले यस्तो अाग्रह गरेको हो ।
काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको अध्यक्षतामा राष्ट्रिय सभा गृहमा बसेको बैठकमा काठमाडौं महानगरपालिकाका मेयर एवं उपत्यका मेयर फोरमका अध्यक्ष बिद्यासुन्दर शाक्य सहित काठमाडौ जिल्लाका मेयरहरु सहभागी थिए ।बैठकले निषेध आदेश थप गर्न सुझाव दिएको छ । उपत्यका नगरपालिका फोरमको हिजो बसेको बैठकले पनि उपत्यकामा समूदायस्तरमै कोभिड—१९ को संक्रमण फैलिन सक्ने खतरालाई मध्यनजर गर्दै रोकथाम र नियन्त्रणका लागि तत्कालै स्वास्थ्य मन्त्रालयसँगको समन्वयमा कन्ट्याक्ट ट्रेसिङ र टेस्टिङको दायरा फराकिलो बनाउने निर्णय गरिसकेको छ ।
उपत्यकामा करीब २८ हजार पाँच सयको कन्ट्याक्ट ट्रेसिङ र टेस्टिङको गर्नुपर्ने हुन सक्ने भन्दै फोरमले ढिलोमा १५ गते सम्ममा ती सबैको परीक्षण सक्ने गरी तालिका बनाएर अघि बढ्ने समेत निर्णय गरेको छ । निषेध आदेशकै बेलामा उपत्यकामा एकीकृत आइसोलेशन निर्माणलाई तिव्र रुपमा अघि बढाउने पनि फोरमको तयारी छ । कोरोना संक्रमण भएको व्यक्तिलाई सम्पर्क चक्रबाट छुट्याउन पनि कम्तीमा १५ गतेसम्म निषेधाज्ञा थप गर्नुपर्ने काठमाडौँका मेयरहरुको सुझाव रहेकाे । उपत्यकाका सिडिओ र सुरक्षा प्रमुखहरूकाे बैठक बसेकाे र ७ दिन निषेध आदेश थपि भदाै १७ गते मध्य रातिसम्म लगाउन तयारी भैरहेकाे छ ।