काठमाडौं, १०भदौ । विवाद समाधान गर्न गठित कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल गर्न नेकपाले १३ भदौमा सचिवालय बैठक बोलाएको छ । दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच मंगलबार भएको दुई घन्टा लामो छलफलपछि पार्टी सचिवालय बैठक बोलाउने निर्णय भएको हो ।
कार्यदलले शनिबार प्रतिवेदन बुझाएपछि ओली र प्रचण्डबीचको पहिलो भेट हो । पार्टी महासचिव नेतृत्वको कार्यदलले आफ्नो प्रस्तावमा दुई अध्यक्षको अधिकार बाँडफाँड, मन्त्रिमण्डल हेरेफेर र महाधिवेशनलगायत विषयमा सहमतिको प्रस्ताव अगाडि सारेको छ । सोमबार ओली र प्रचण्डबीचको भेट अन्तिम समयमा स्थगित भएको थियो ।
यसअघि १ भदौमा सचिवालय बैठकले कार्यदलको प्रतिवेदन सचिवालयमा छलफल गर्ने निर्णय गरेपछि कार्यदल अनुमोदन भएको थियो । ३० साउनमा ओली र प्रचण्डले गठन गरेको कार्यदलप्रति सुरुमा सचिवालयका सदस्यहरू झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठको असन्तुष्टि थियो । कार्यदल प्रतिवेदनमा दुई अध्यक्षको सहमतिपछि सचिवालयमा र सचिवालयमा छलफलपछि निर्णयका लागि स्थायी कमिटीमा लैजाने सहमति छ । नयाँपत्रिकाबाट