सोलुखुम्बु । खोटाङ, उदयपुर र सोलुखुम्बुका नेपाली कांग्रेसका नेता कार्यकर्ताहरु भदौ १३ गते शनिबार जिल्लास्तरीय प्रशिक्षण कार्यक्रममा एकैठाँउमा भेला हुने भएका छन् ।
नेपाली काङ्ग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको संयोजन तथा उदयपुर, खोटाङ तथा सोलुखुम्बु जिल्लाका प्रशिक्षण शाखाहरुको आयोजनामा तीन जिल्लाका कांग्रेस कार्यकर्तालाई प्रशिक्षण दिन लागिएको हो ।
नेपाली काङ्ग्रेसका उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख बिमलेन्द्र निधिको प्रमुख आतिथ्यता, कांग्रेस केन्द्रीय सदस्य बलबहादुर केसीको विशेष आतिथ्यता तथा तीनवटै जिल्लाका जिल्ला सभापति तथा महासमिति सदस्यहरु, विभिन्न निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार बनेका नेताहरु तथा निर्वाचित जनप्रतिनिधिहरु समेतको उपस्थितिमा शनिबार दिउँसो ३ बजेबाट प्रशिक्षण कार्यक्रम शुरु हुने नेपाली कांग्रेसका महासमिति सदस्य एवं सोलुखुम्बु प्रशिक्षण शाखाका सहसंयोजक जयप्रसाद राईले बताएका छन् ।
कोरोना भाइरसको प्रभावका कारण Zoom प्रविधिको उपयोग गरि तीन जिल्लाका नेता कार्यकर्ता शनिबार ३:०० बजे एकैठाउँमा जुट्न लागेको र यसबाट कांग्रेस कार्यकर्तामा वैचारिक ऊर्जाको थप सञ्चार हुने र पार्टी संगठन मजबुत बनाउन समेत सहयोग पुग्ने महासमिति सदस्य तथा सोलुखुम्बु प्रशिक्षण शाखा सहसंयोजक राईको भनाइ छ ।