काठमाडौं । नेपाल सरकारले राष्ट्रिय जनगणना २०७८ का लागि सर्वसाधारणले भर्नुपर्ने प्रश्नावलीलाई स्वीकृत गरेको छ । यस स्वीकृतिसँगै आगामी वर्ष हुने जनगणनाका लागि प्रश्नावलीको टुंगो लागेको छ ।
प्रत्येक १० वर्षमा हुने राष्ट्रिय जनगणनाका लागि नागरिकले घर तथा घरपरिवार सूचीकरण अन्तर्गत घर रहेको स्थान, ठेगाना र घरको विवरणमा तला, घर बनेको वर्ष, घर प्रयोग भएको प्रयोजन र घरमा बस्ने परिवारको संख्या गणना गरी परिचयात्मक बिवरण भर्नुपर्ने भएको छ ।
अबको जनगणनामा घरमा पालेका गाइवस्तु तथा जनवारको समेत विवरण भरिने भएको छ । कृषि प्रयोजनमा प्रयोग भएको जग्गा, व्यक्तिका नाममा रहेको बैंक खाता, शैक्षिक विवरण तथा बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएको भए त्यसको समेत विवरण जनगणनाका गर्दा भर्नुपर्ने भएको छ ।
जनगणनाका मुख्य प्रश्नावलीमा परिचयात्मक विवरणका साथसाथै व्यक्तिगत जीवनमा प्रयोग भएका वस्तुहरुको समेत विवरण भर्नुपर्छ । जसमा घरभित्र रहेका रेडियो, टेलिभिजन र शौचालयसम्मका विवरण भर्ने गरी प्रश्नावली तय गरिएको राष्ट्रिय योजना आयोगले जनाएको छ ।
जनगणनाको आर्थिक विवरणतर्फ आम्दानीको स्रोत, आर्थिक गतिविधिमा संलग्न सदस्य सदस्य संख्या, काम नगर्ने भए त्यसको कारण समेत उल्लेख गर्नुपर्ने भएको छ । परिवारका सदस्य विदेश गएका भए त्यसको विवरण, महिलाका नाममा जग्गा भएनभएको विवरण समेत जनगणनाले समेट्ने बताइएको छ ।