काठमाडौं । मुलुक सङ्घीय संरचनामा परिवर्तन भएसँगै दुई वर्षको अवधिमा नेपाल प्रहरीको १ हजार १ सय ७७ वटा नयाँ संरचनाहरूको निर्माण कार्य सम्पन्न भएको छ । प्रत्येक स्थानीय तहसम्म प्रहरी ईकाइहरू विस्तार गर्ने योजना अनुरुप प्रहरीको नियमित बजेट, राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, प्रदेश सरकार र स्थानीय तहको आर्थिक सहयोगमा भौतिक पूर्वाधार तथा निर्माण कार्य शुरु गरिएको हो ।
प्रहरी प्रधान कार्यालयका अनुसार, पछिल्लो दुई आर्थिक वर्ष २०७५/७६ र ०७६/ ७७ मा ५५ वटा कार्यालय भवन, ६० वटा ब्यारेक, ५० वटा हिरासत कक्ष, ७१ वटा मेस र सात सय ५५ वटा शौचालय निर्माण भएका छन् । मुलुकभर प्रहरीको दुई हजार ७५७ इकाईहरू छन् । एक स्थानीय तहमा एक प्रहरी इकाई स्थापना गर्ने लक्ष्य अनुरुप २०७५ सालबाट चौकीदेखि प्रदेश प्रहरी कार्यालयसम्म २५१ नयाँ इकाईका लागि (जनशक्ति) दरबन्दीसमेत निकासा भइसकेको छ ।
प्रहरी प्रधान कार्यालय भौतिक पूर्वाधार निर्देशनालयका प्रमुख प्रहरी नायब महानिरीक्षक लोकेश सिंहले प्रहरीको नियमित बजेटबाट ३९ कार्यालय भवन, ९२ ब्यारेक, ४५ वटा भान्सा, २० वटा हिरासत कक्ष र ८८० शौचालय निर्माण गरिएको जानकारी दिनुभयो । त्यस्तै, राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको कोषबाट ४८ र प्रदेश तथा स्थानीय तहको बजेटबाट ८१० नयाँ पूर्वाधार निर्माण भएका छन् । केही संरचना निर्माणको अन्तिम चरणमा छन् ।
प्रहरीका लागि न्यूनतम् आधारभूत कुराको व्यवस्था गर्न ७२ वटा जिल्ला प्रहरी कार्यालयमा हिरासत, ब्यारेक र थुनुवा कक्ष लगायतका सबै संरचना अत्याधुनिक र सुविधायुक्त हुने गरी निर्माण गरिएको उहाँले बताउनुभयो । महिला, बालबालिका, जेष्ठ नागरिक र तेस्रो लिङ्गी लगायतको संवेदनशीलता तथा अन्य विभिन्न कारणले पनि थप छुट्टाछुट्टै संरचना बनाउनुपर्ने आवश्यकता देखिन्छ, केन्द्रीय प्रहरी प्रवक्ता कुवेरसिंह कडायतले भन्नुभयो, ‘जीर्ण, आधारभूत एवं अपरिहार्य देखिएका भौतिक पूर्वाधार निर्माण कार्य जारी छ ।’ – गोरखापत्र