× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
भ्रष्टाचार

खर्चको विवरण पाउँ : नेचासल्यान कांग्रेस

Simrik Online

१६ भाद्र २०७७, बुधबार

सोलुखुम्बु । नेपाली कांग्रेस नेचासल्यानले गत आर्थिक वर्ष २०७६/०७७ को खर्च विवरणको प्रमाणित प्रतिलिपी उपलब्ध गराउन नेचासल्यान गाउँपालिकालाई आग्रह गरेको छ । आम नागरिकले निकै चासो दिएको पालिकाको खर्चमा नेपाली कांग्रेस नेचासल्यान गाउँपालिकाकाे बैठकले गाउँपालिकाको तर्फबाट विभिन्न शीर्षकमा भएको खर्च अपारदर्शी ढंगबाट भएकोले अध्ययन गर्ने निर्णय गरेको भन्दै सभापति निरकुमार शर्मा कटेलले सोकाे विवरण उपलब्ध गराउन गाउँपालिकालाई आग्रह गरेका हुन् ।

सभापति कटेलले गाउँपालिकालाई लेखेको पत्रमा उद्दार तथा राहत वितरण, कोभिड-१९ को नाममा भएको शीर्षकगत खर्च, जेसीभी प्रयोगको भाडा र खर्च विवरण, स्थानीय तहबाट स्वास्थ्य क्षेत्रमा भएका काम र खर्च, स्थानीय तहका पदाधिकारीहरुकाे सेवासुविधा तथा ईन्धन सम्बन्धी खर्च, सम्पन भइसकेका विकासे आयाेजनाकाे विवरण, जनप्रतिनिधिहरुको दैनिक भ्रमण भत्ताको विवरण, गाउँपालिकाका तर्फबाट विद्युत उत्पादन तथा वितरण सम्बन्धमा भएकाे खर्च लगायत ११ वटा शीर्षकमा भएका खर्चको बिवरण माग गरिएको छ ।

गाउँपालिकाबाट खर्च विवरण उपलब्ध हुनासाथ गहन ढंगले अध्ययन गरेर प्रतिवेदन तयार गर्ने र सो को वास्तविक जानकारी आम नागरिकमाझ सार्वजनिक गरिने कांग्रेस सभापति कटेलले सिम्रिक अनलाइनलाई बताएका छन् ।