काठमाडौं । नेपाल चेम्बर अफ कमर्शले कर तिर्ने म्याद थप्न सरकारसँग माग गरेको छ । अहिले पनि काठमाडौं उपत्यकासहितका अधिकांश जिल्लाहरुमा पूर्णरुपमा बन्दाबन्दी भएको भन्दै चेम्बरले बन्दाबन्दी खुलेको मितिबाट कम्तिमा २ महिना म्याद थप्न सरकारसँग आग्रह गरेको हो ।
चेम्बर अध्यक्ष राजेशकाजि श्रेष्ठले राजश्व सचिवलाई पत्राचार गर्दै राजश्व दाखिला गर्न सक्ने अवस्थामा अहिले उद्योगी, व्यवसायीहरु नरहेको बताएका छन् । पहिलेको लकडाउनभन्दा अहिलेको निषेधाज्ञा कडा गरिएका कारण कर सम्बन्धी सबै कागजात तयार पार्न पनि समय लाग्ने भएकाले समय थपिदिनुपर्ने आग्रह श्रेष्ठले गरेका छन् ।
निषेधाज्ञाका कारण खातापाताहरु कारोबार स्थलमै रहेको र अहिले कारोबार स्थलमा जान पनि नसकिने अवस्था रहेका कारण कर तिर्न नसकिने अध्यक्ष श्रेष्ठले बताएका हुन् । सरकारलाई राजश्व तिर्न निजी क्षेत्र सदैव तयार रहेको भन्दै श्रेष्ठले महामारीका बेला उद्योगी, व्यवसायीहरुमा व्यवहारिक कठिनाइ भएका कारण सरकारले राजश्व दाखिला गर्ने समय थप गर्नुपर्ने बताएका छन् ।