ललितपुर । रातो मत्स्येन्द्रनाथलाई बुङ्मती लैजाने साइत निस्किएको छ । भदौ २९ गतेको शुभसाइतमा रातो मत्स्येन्द्रनाथलाई बुङ्मती लैजाने साइत निस्किएको हो ।
पाटन, मंगलबाजरस्थित सोह्रखुट्टे पाटीमा सोमबार रातो मत्स्येन्द्रनाथका ज्योतिषीहरुबीच भएको छलफलले भदौ २९ गतेको सुभसाईतमा मत्स्येन्द्रनाथलाई अवतरण गराइ बुङ्मती लैजाने निर्णय भएको हो । कोरोना भाइरस महामारीका कारण यसपालीको रातो मत्स्येन्द्रनाथको रथयात्रा संक्षिप्त रुपमा गरिएको हो।
ज्योतिषी दैवज्ञ कृतिकिरण जोशीले २९ गते बिहान १० बजेर ५ मिनेटदेखि १० बजेर २० मिनेटभित्रको शुभसाइतमा रथबाट मत्स्येन्द्रनाथको मूर्तिलाई निकालेर खटमा राखी बाजागावजा सहित बुङ्मती लैजाने निर्णय भएको बताए । ‘यसपाली नरिवल खसाल्ने र भोटो देखाउने जात्रा आयोजना गरिदैन’, उनले भने, ‘मूर्तिलाई बुङ्मती पु-याएको चार दिनमा विशेष पूजाआजा गरी जात्रा पर्व समाप्त गरिने कार्यक्रम रहेको छ ।
वैशाख शुक्लपक्षको शुभसाइतमा निकाल्नुपर्ने रथयात्रा यस वर्ष कोभिड-१९ महामारीका कारण रोकिएको थियो । लामो समय रथ तान्ने विषयमा केही निर्णय हुन नसकेपछि गएको बिहीबार स्थानीय केही युवाहरुले प्रशासनको अनुमतिबिना रथ तानेका थिए । त्यसलगत्तै स्थानीय युवाहरु र प्रहरीबीच झडपसमेत भएको थियो । ती युवाको समूहले रथ राखिएको ठाउँबाट तानेर केही पर पु-याएका थिए । त्यसपछि केही जातीय संगठन र स्थानीय ज्यापु समाजले शुक्रबार क्षमापूजा गरी आइतबार रथ तानेर सोह्रखुट्टे पाटीसम्म पु-याएका थिए ।
मत्स्येन्द्रनाथलाई बुंगमती लगेको चार दिनपछि पुल्चोकमा नै रथ भत्काउने काम सुरु हुने परम्परा छ । बिहीबार अव्यवस्थित रूपमा तानिएको रथलाई २० मिटरजति अगाडी तानेर सुरक्षित ठाउँमा लगिएको छ । – राजधानी