क्षितिज मोक्तान, सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ११ तिङलामा आज नेपाल कम्युनिस्ट पार्टी परित्याग गरेर दर्जनौं नेकपा कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
सोलुखुम्बु जिल्लाको साविक तिङ्ला गाविस ठेगाना भएका सुनिल थापामगर, दानबहादुर मगर, सोनाम शेर्पा, निरकुमार थापामगर, सुभाष मगर, भीम मगर, दीपक मगर, नरबहादुर मगर, फुर्बा शेर्पा, निमाकाले शेर्पा, राजु शिवा नेपाली, दोर्जी शेर्पा, रिन्जी लामा लगायत ११९ जनाले नेकपा परित्याग गरि नेपाली कांग्रेसको सदस्यता लिएको बताइएको छ ।
नेपाल कम्युनिस्ट पार्टीले चुनावी घोषणा-पत्र अनुसारको काम नगरेको, आफ्ना नातागोता मात्रै पोस्ने काम गरेको र सदैव भ्रष्टाचारमा लिप्त भएकोले आँफूहरुलाई नेकपामा बसिरहन पछुतो लागेकाले आँफूहरुले विकल्पको रुपमा नेपाली कांग्रेस पार्टी रोजेको नवप्रवेशीहरुले बताएका छन् । नवप्रवेशी नेता तथा कार्यकर्ताहरुलाई तरुण दलका केन्द्रीय पार्षद शारदामाया तामाङले सदस्यता प्रदान गर्दै खादा ओढाएर स्वागत गरेकी थिइन् ।
नेपाल तरुण दल तिङ्लाको आयोजनामा भएको कार्यक्रम तिङलाकै बेलीडाँडामा सम्पन्न भएको थियोे । तरुण दल तिङलाका अध्यक्ष फुर्वा शेर्पाको सभापतित्वमा भएको कार्यक्रममा सोलुदुधकुण्ड नगरपालिकाका नगरप्रमुख नाम्गेलजाङबु शेर्पा प्रमुख अतिथिका रुपमा उपस्थित भएको नेपाल विद्यार्थी संघ सोलुखुम्बुका नेता टङ्क कार्कीले जानकारी दिएका छन् ।
अझै ठूलो संख्यामा तिङलामा कांग्रेस प्रवेश गर्नेको लहर भएपनि कोरोना भाइरसको कहरका कारण संख्या कम भएको र अर्को कार्यक्रममा पार्टी प्रवेश गर्न बाँकी रहेकाहरुलाई पार्टीमा भित्र्याउने तरुण दल तिङलाका अध्यक्ष फुर्बा शेर्पाले जानकारी दिएका छन् ।