× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
अर्थ/बजार

आन्तरिक उडान असोज १ बाट हुने

Simrik Online

३० भाद्र २०७७, बुधबार

काठमाडौं । आन्तरिक हवाई उडान असोज १ गतेबाट खुल्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले असोज १ गतेबाट आन्तरिक उडान खोल्ने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यलयका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए। सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले उक्त जानकारी दिएको पौडेले बताए । सोमबारको मन्त्रिपरिषद् निर्णयले असोज ५ गतेबाट आन्तरिक उडान खोल्ने निर्णय गरेको स्वयं पर्यटनमन्त्री योगेशकुमार भट्टराइले नै जानकारी गराएका थिए । तर, मंगलबार साँझपछि मात्र सरकारका प्रवक्ताले असोज १ गतेबाट नै आन्तरिक उडानसँगै लामोदुरीका यातायात र होटल, रेष्टुराँ सञ्चालन हुने जानकारी गराएका थिए।

असोज १ गतेबाट आन्तरिक उडान खुलाउने सरकारको निर्णयपछि नागरिक उड्डयन प्राधिकरण प्रक्रियागत व्यवस्थापनमा जुटेको छ । कोरोनाको संक्रमणलाई मध्यनजर गर्दै सुरुमा ३० प्रतिशत मात्रै उडान हुने गरी घरेलु उडान खोलिने प्राधिकरणका उपमहानिर्देशक तथा प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए । सम्बन्धित वायुसेवा संचालकहरुसँगको छलफलपछि हाललाई ३० प्रतिशत उडान हुने गरी खोलिने सहमति भएको क्षेत्रीले जानकारी दिएका छन् ।

कोरानाअघिको समयमा आन्तरिकतर्फ दैनिक ३ सय भन्दा बढि उडान हुने गरेको थियो। यस्तै, आन्तरिक वायुसेवा कम्पनीहरुले साविकको समयमा उडाउदै आएको सबै क्षेत्रका लागि उडान खुल्ला गरिएको बताइएको छ । सुगम तथा दुर्गम वा ट्रंक रुट(लामो धावनमार्ग भएका तराईका विमानस्थल) तथा सर्ट रुट(छोटो धावनमार्ग भएका दुर्गम क्षेत्रका विमानस्थल) सबै क्षेत्रका लागि नै उडान अनुमति दिइने प्रवक्ता क्षेत्रीले बताए । यसअघि सरकारले असोजबाट आन्तरिक उडान खुलाएपनि कारोना संक्रमण बढि भएका तराइका जिल्लाहरुमा उडान नगर्ने र पहाडि तथा हिमाली जिल्लाहरुमा मात्र उडान गरिने बताएको थियो । अब आन्तरिक उडानका लागि वायुसेवा कम्पनीहरुले चाहेको गन्तव्यमा उडान अनुमति माग्न पाउने छन् ।

उडान सुचारु गर्दा वायुसेवा कम्पनीहरुले पर्यटन मन्त्रालय तथा प्राधिकरणले सार्वजनिक गरेका स्वास्थ्य सुरक्षा मापदण्डलाई भने पालना गर्नुपर्नेछ । आगमन कक्षमा यात्रुहरुको ज्वरो नाप्ने, पूर्ण विवरण खुलाउने गरी फारम भर्न लगाउनुपर्ने, यात्रुहरुले अनिवार्य रुपमा मास्क प्रयोग गर्नुपर्ने जस्ता मापदण्डहरुको अंक्षरंश पालना गर्नुपर्ने छ । आन्तरिक उडान गर्ने यात्रुहरुको कोराना जाँच(पीसीआर) गर्ने वा नगर्ने सम्बन्धमा भने छलफल भइरहेको प्राधिकरण प्रवक्ताको भनाइ रहेको छ ।

आन्तरिक वायुसेवा कम्पनीहरुको उडान तयारी

गत चैत्र ११ गतेबाट सरकारले बन्द गराएको आन्तरिक उडान ६ महिनापछि असोज १ गतेबाट पुनः सुचारु हुँदैछ। लामो समयदेखि उडान नभरेका विमानहरु संचालनमा आउने भएपछि विमान संचालकहरु उडानको तयारीमा जुटेका छन् । यसअघि भदौ १ गतेबाट आन्तरिक उडान खुलाउने सरकारको निर्णयपछिबाट नै उडानको अभ्यास गरिरहेका विमान कम्पनीहरु पूर्ण रुपमा तयार रहेको आन्तरिक विमान संचालक संघका प्रवक्ता योगराज कँडेल शर्माले बताए । ‘उडानको तयारी अन्तरगत कर्मचारीलाई तालिम, जहाजको बिमाको अवस्था, जहाजको प्राविधिक अवस्था, उडान दलका कर्मचारीहरुलाई पनि आवश्यक निर्देशन जस्ता कामहरु सुरु भइसकेका छन् ।’ प्रवक्ता कँडेल बताउँछन्।

यसअघि असोज १ गतेबाट उडान सुरु गर्नका लागि बुधबारबाट हवाइ टिकट बुकिङ खुल्ला गरिने प्रवक्ता शर्माले जानकारी दिए । – अन्नपूर्णपोष्ट