× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
फिचर

माननीयको सपना पूरा भएपछि गौतमले भने : राष्ट्रिय सभाको गरिमा बढाउँछु

Simrik Online

३१ भाद्र २०७७, बिहीबार

किशोर शर्मा, काठमाडौं । बर्दियाको निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभाको चुनाव हारेका नेकपा उपाध्यक्ष वामदेव गौतम ‘माननीय’ भएका छन् । गौतमले बिहीबार दिउँसो राष्ट्रिय सभा सदस्यको सपथ लिएसँगै लामो समयदेखिको माननीय बन्ने उनको कसरतले पुर्णता पाएको छ ।

गौतमलाई सोमबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रिय सभा सदस्य मनोनित गर्ने निर्णय गरेको थियो । आज राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रिय सभा सदस्य मनोनित गरेकी थिइन् ।

राष्ट्रपतिबाट मनोनित भए लगत्तै आजै सिंहदरबारस्थित कृषि समितिको सभाहलमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनले गौतमलाई सपथ ग्रहण गराएका थिए ।

यसैबीच राष्ट्रिय सभाका मनोनित सदस्य वामदेव गौतमले आफू राष्ट्रिय सभाको गरिमा बढाउन राष्ट्रिय सभामा आएको बताएका छन् । गौतमले आफूलाई राष्ट्रिय सभामा मनोनयन गर्ने नेपाल कम्युनिष्ट पार्टी, प्रधानमन्त्री र राष्ट्रपतिलाई आभार व्यक्त गरेका छन् ।

गौतमले – ‘म राष्ट्रिय सभामा यसको गरिमा बढाउनको निम्ति नेपालको संविधानबमोजिम, राष्ट्रिय सभाको नियमावलीबमोजिम मैले निर्वाह गर्नुपर्ने कर्तव्य निर्वाह गर्नका निम्ति आएको छु, मैले यो सभाको सदस्य रहँदासम्म कहिल्यै पनि राष्ट्रिय सभाको गरिमा र प्रतिष्ठा गिराउने गरी कुनै क्रियाकलाप गर्ने छैन ।’ भनेका छन् ।

उनले “राष्ट्रिय सभा सदस्यको भूमिका निर्वाह गर्दा नेपालको स्वतन्त्रता, राष्ट्रिय स्वाधीनता, सार्वभौम अधिकार र नेपाली जनताप्रति सधैं बफादार भएर कर्तव्य निर्वाह गर्ने तथा नेकपाले नेपालमा समाजवाद स्थापना गर्ने लक्ष्यका साथ संविधानबमोजिम उपस्थित भएको छ, त्यसका लागि म आफूलाई समर्पित गर्नेछु । त्योभन्दा मेरो कुनै अर्को उद्देश्य, लक्ष्य र स्वार्थ छैन।’ समेत भनेका छन् ।