× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
जीवन शैली

रानीपोखरीमा ५ वर्ष पछि पानी

Simrik Online

३ आश्विन २०७७, आईतवार

काठमाडौं । काठमाडौंस्थित रानीपोखरीमा ५ वर्षपछि पानी भरिएको छ । राजधानीकै प्रमुख आकर्षण केन्द्र मानिने रानीपोखरीमा २ करोड लिटर पानी हालिएको हो । रानीपोखरीमा विगतमा जस्तै सुन्दरीजलको स्वच्छ पानी हालिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जानकारी दिए ।

‘प्राचीन समयमा शिवपुरीबाट राजकुलोमार्फत पानी ल्याएर हालिन्थ्यो भन्ने इतिहास छ । अहिले त्यसो गर्न सम्भव हुँदैन। मेलम्चीको खानेपानी पाइप लाइनबाट सुन्दरीजलकै पानी भर्ने काम भइरहेको छ । पाँच वर्षपछि रानीपोखरीमा पानी भरिएको हो,’ हामीसँग उनले भने ।

उनका अनुसार रानीपोखरीको लम्बाइ १८० मिटर र चौडाइ १४० मिटर छ । जसको ९ फिट गहिराइमा पानी भरिएको हो । वि.सं. २०७२ को भूकम्पले क्षति पुर्याएको रानीपोखरी अहिले पुनर्निर्माण अन्तिम चरणमा पुगेको ज्ञवालीले जानकारी दिए । धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक धरोहरका रूपमा निर्माण भएको रानीपोखरी सुन्दर र मनमोहक स्वरूपमा देखिएको उनले बताए ।

‘रानीपोखरी पुर्ननिर्माण अन्तिम चरणमा पुगेको छ । रानीपोखरीलाई थप आकर्षक बनाउने, गार्डेन बनाउने काम भइरहेका छन् । मन्दिर रङरोगन गरिरहेको मन्दिरमा सुनको गुजुर राख्न बाँकी छ । रानीपोखरीलाई पूर्ण रूप दिने तयारी भइरहको छ,’ उनले थपे ।

बालगोपालेश्वर मन्दिर प्रताप मल्लका पालामा बनेको शैलीमा बनाइएको छ । रानीपोखरीको स्वरूप, प्रविधि र संरचना पनि प्राचीनकालकै रहेको उनले बताए ।

‘पोखरीभित्र माटोको प्रयोग गरेर निर्माण गरिएको छ । चुना, शुर्खी र इँटाको प्रयोगबाट मन्दिरवरिपरि भाग निर्माण भएका छन् । निर्माण समाग्री पनि प्राचीन युगमा प्रयोग गरिएको छ,’ उनले भने ।

उनका अनुसार प्राचीन स्वरूपका इँटा नै प्रयोग गरिएका छन् । पुरानै शैली, पुरानै समाग्री, पुरानै प्रक्रिया र शैलीमा रानीपोखरी निर्माण गरिएको उनको दाबी छ ।

जसले गर्दा प्राचीनता उजागर तथा सम्पदा/संस्कृतिको जगेर्ना हुने गरी पुरानै शैलीमा रानीपोखरी बनाउन पुनर्निर्माण प्राधिकरण लागिपरेको उनको भनाइ छ।

एक सातापछि रानीपोखरी पुर्निर्माणका सबै काम सम्पन्न हुने अनुमान छ । विशेष सांस्कृतिक पर्वसँगै रानीपोखरीको उद्घाटन गरिनेछ । सुरुमा रानीपोखरी कंक्रिटले बनाइएको भन्दै आलोचना भए तापनि त्यसलाई सच्याउँदै विज्ञ, सरोकारवाला, संरक्षणविदको सल्लाहमा प्राचीनता जोगाउने गरी निर्माण गरिएको उनले बताए ।

‘रानीपोखरीप्रति अहिले सर्वसाधारण सन्तुष्ट छन् । अब रानीपोखरी महत्वपूर्ण सम्पदाका रूपमा स्थापित भएको छ । राजनितिक दल, संरक्षणविदलगायत सम्पूर्ण जनताको हार्दिकताले रानीपोखरीलाई पुरानै शैलीमा फर्काउन पााएकामा आनन्द लागेको छ,’ उनले भने ।