काठमाडौं । नेपाल सरकारले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित गरेकोमा नेपाल निजामती कर्मचारी युनियनले विरोध गरेको छ । निर्वाचनको अन्तिम तयारी भइसकेको अवस्थामा कसैको स्वार्थमा निर्वाचन स्थगित गरेको युनियनका नेताहरूले आरोप लगाएका छन् ।
‘कि पहिले नै निर्वाचन स्थगित गर्नुपर्दथ्यो, अन्तिम अवस्थामा आएर रोक्नु गलत हो,’ युनियनका अध्यक्ष गोपाल पोखरेलले भने, ‘यसमा हाम्रो गम्भीर आपत्ति छ ।’
आगामी २४ असोजमा आधिकारिक ट्रेड युनियनको चुनाव तय भएको थियो । कर्मचारी ट्रेड युनियनहरूले निर्वाचनको प्रचारसमेत थालिसकेका थिए ।
प्रमुख निर्वाचन अधिकृत कलानिधि पौडेलले सामाजिक दूरी कायम गरेर सहजै रूपमा चुनाव गर्न सकिने बताएका भए पनि कोरोना संक्रमण बढेको कारण देखाएर मंगलबारको मन्त्रिपरिषद बैठकले चुनाव रोक्ने निर्णय गरेको थियो ।
नेपाल सरकारले हालको कार्यसमितिको म्याद वैशाखसम्म थपेकाले अब वैशाखामा मात्र चुनाव हुने सम्भावना देखिएको छ । नेकपा निकट कर्मचारी संगठन भित्रको आन्तरिक विवादका कारण निर्वाचन स्थगित गरिएको युनियनको आरोप छ ।