एजेन्सी । बलिउड नायक सुशान्त सिंह राजपुतको आत्महत्या प्रकरणले लहरो तान्दा पहरो गर्जिएको छ । बलिउडका कतिपय कलाकार सम्पत्ति शुद्धीकरण, कालो धन देखि लागूऔषधसँग जोडिएका छन् । उनीहरुमाथि भारतका सम्बन्धित निकायहरुले अनुसन्धान बढाएका छन्।
बलिउडका तीन नायिका दिपिका पादुंकण, श्रद्धा कपुर र सारा अलि खानमाथि लागुऔषध प्रकरणमा शनिबार सोधपुछ भएको छ । सुशान्त सिंह राजपुतको आत्महत्यासँग सम्बन्धित लागुऔषधको विषयले निकै सनसनी मच्चाएको छ ।
दिपिकामाथि भारतको लागुऔषध नियन्त्रण ब्युरोले उनको कोलाबास्थित गेष्ट हाउसमा सोधपुछ गरेको थियोे । श्रद्धा र सारासँग दक्षिणी मुम्बईको बलार्ड स्टेटमा सोधपुछ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
उनीहरूलाई सोधपुछका क्रममा कडा सुरक्षा दिइएको थियो । सुशान्तकी प्रेमिका रिया चक्रवर्तीको पक्राऊ र उनीमाथि सोधपुछपछि खुलेका नामहरुमाथि अनुसन्धान गरिएको बताइएको छ । त्यसक्रममा सारा अली खानसहितको नाम आएको थियो । दिपिकाको नाम वाट्सएप कुराकानीका क्रममा सुशान्त प्रकरणसँग जोडिएका लागूऔषध उपपलब्ध गराउने व्यक्तिसँग भेटिएपछि सोधपुछ चलाइएको उल्लेख गरिएको छ ।