× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
अन्तर्राष्ट्रिय समाचार

ईयूकी राजदूत डेप्रेद्वारा ओहदाको प्रमाणपत्र पेस

Simrik Online

१० आश्विन २०७७, आईतवार

काठमाडौं । नेपालका लागि युरोपियन युनियन (ईयू) की नवनियुक्त राजदूत तथा नेपालका लागि युरोपियन युनियनको डेलिगेशन प्रमुख नोना डेप्रेले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहदाको प्रमाणपत्र पेस गरेकी छिन् ।

राष्ट्रपति कार्यालय शितल निवासमा भएको कार्यक्रममा नेपालका लागि युरोपियन युनियनकी नवनियुक्त राजदूत नोना डेप्रेले ओहदाको प्रमाणपत्र पेस गरेकी हुन् । उनले नेपालका लागि युरोपियन युनियनको राजदूतका रुपमा जिम्मेवारी सम्हाल्न पाउँदा आँफू निकै खुशी भएको बताएकी छन् ।

“म नेपाललाई हेर्न-बुझ्न, नेपाली जनतालाई भेट्न र नेपाली संस्थाहरु एवं नागरिक समाज, निजी क्षेत्र, मिडिया, अन्तर्राष्ट्रिय साझेदारहरु र सम्बद्ध सबै राजनीतिक, सामाजिक र आर्थिक सरोकारवालाहरुसँग मिलेर काम गर्न उत्साहित छु ।” राजदूत डेप्रेले भनेकी छन् ।
नेपाल सरकारसँगको सहमति अनुरुपका ३ प्राथमिक क्षेत्रमा सहकार्य गरिरहेको युरोपियन युनियन करिब ५ दशकदेखि नेपालको एउटा विकास साझेदार र दाताका रुपमा रही आएको छ ।

नेपालमा कोरोना महामारीको बेला ईयूले ७ करोड ५० लाख युरो अर्थात् १० अर्ब रुपैयाँ उपलब्ध गराएको थियो । सन् २०१४-२०२० मा ईयूले नेपाललाई प्रदान गर्ने सहायताको कुल लागत ३६ करोड युरो अर्थात् झण्डै ५० अर्ब रुपैयाँ रहेको छ ।

यो सहयोगका लागि ईयूले ‘टिम युरोप इनिसिएटिभ’ को मर्मअनुरुप अन्य ईयू सदस्य राष्ट्रहरुसँग निकट रुपमा संयोजन गरेको थियो ।

ईयूले विश्वव्यापी रुपमा पनि १६ अर्ब युरोको कोष निर्माण गर्न सहयोग गरेको छ । विश्वका लागि नै कोरोनाको खोप, परीक्षण तथा उपचार गर्न त्यो कोषलाई उपयोग गरिने नेपालका लागि युरोपियन युनियनको डेलिगेशनका प्रमुख नोना डेप्रेले निकालेको विज्ञप्तिमा उल्लेख गरिएको छ।