× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
अर्थ/बजार

बहराइनका राजकुमार खालिफा खुम्बुमा

Simrik Online

१३ आश्विन २०७७, बुधबार

वासुदेव न्यौपाने, काठमाडौं । बहराइनका राजकुमार नासिर बिन हामिद अल खालिफा सहित १८ जनाको टोली पर्वतारोहणका लागि खुम्बु क्षेत्रमा पुगेको छ । खालिफालाई सोलुखुम्बुको खुम्बु क्षेत्रका स्थानीयले भब्य स्वागत गरेका छन् । सोलुखुम्बुको दिङबोचेमा उनीहरु सोमबार पुगेका थिए ।

राजकुमार खालिफाको टोली नाम्चेदेखि दुई दिन हिँडेर सोमबार दिङबोचे पुगेको स्थानीय होटल व्यवसायी गेलु शेर्पाले बताएका छन् । राजकुमार खालिफालाई लुक्लादेखि नै स्थानीयहरुले शेर्पा परम्पराको नृत्यसहित स्वागत गरेका थिए । स्वागत कार्यक्रममा सगरमाथाको प्रथम आरोहण टोलीका एकमात्र जीवित सदस्य कान्छा शेर्पाको पनि उपस्थिति थियो ।

भदौ ३१ गते नेपाल आएको राजकुमारको टोली आउनासाथ होटल क्वारेन्टिनका लागि गोकर्ण फरेस्ट रिसोर्टमा बसेको थियो।

असोज ५ गते सोमबार कोरोना जाँच गराएको टोली मंगलबार रिपोर्ट नेगेटिभ आएपछि लुक्ला प्रस्थान गरेको फोटिन पिक एक्सपिडिसनका समूह नेता टासी शेर्पाले जानकारी दिए।

राजकुमारको टोली त्यहाँबाट लोबुचे हिमाल आरोहणका लागि प्रस्थान गर्ने कार्यक्रम रहेको बताइएको छ ।
सम्पर्क अधिकृत, टोली नेता र गाइड समेत करिब २१ जना टोलीमा थप समावेश गरेर पहिला खुम्बुक्षेत्रको लोबुचे हिमाल आरोहण गर्ने कार्यक्रम रहेको बताइएको छ।

६,१४५ मिटर उचाइको लोबुचे हिमाल आरोहणको प्रतिव्यक्ति राजस्व १ सय २५ अमेरिकी डलर तोकिएको छ । राजकुमारको टोली ११ दिनमा लोबुचे आरोहण गरी फर्किने कार्यक्रम छ।
लोबुचे हिमाल चढ्ने अनुमति नेपाल पर्वतारोहण संघले दिइसकेको अध्यक्ष सन्तवीर लामाले जानकारी दिएका छन् ।

राजकुमारको टोली त्यसपछि गोरखाको मनास्लु हिमाल आरोहणका लागि प्रस्थान गर्ने बताइएको छ । हेली एभरेस्ट चार्टर्ड गरेर मनास्लुसम्मको यात्रा तय हुनेछ।
८,१६३ मिटर अग्लो मनास्लु आरोहणका लागि पर्यटन विभागले स्वीकृति दिइसकेको समूह नेता शेर्पाले जानकारी दिएका छन् ।

नेपाल सरकारले निर्धारण गरेका स्वास्थ्य तथा सुरक्षासम्बन्धी सम्पूर्ण मापदण्डको पूर्ण पालना गरेर पर्वतारोहण गर्न निर्देशन दिइएको विभागका महानिर्देशक रुद्र तामाङले बताएका छन् । राजकुमारको टोलीले करिब २० देखि २५ दिनमा मनास्लु आरोहण गर्ने योजना बनाएको छ।

कोभिड-१९का कारण करिब ६ महिनादेखि बन्द पदयात्रा तथा पर्वतारोहण औपचारिक रूपमा नखुले पनि भदौ १४ गते बसेको मन्त्रिपरिषद् बैठकले पर्वतारोहणका लागि विशेष अनुमति दिने निर्णय गरेपछि बहराइनका राजकुमारसहित १८ जनाको टोली नेपाल आइपुगेको हो । टोलीमा रहेका १८ जनामा बहराइनका राजकुमार नासिर बिन हमाद अल खलिफा, १५ जना बहराइनका रोयल गार्ड र ३ जना बेलायती नागरिक छन्।

बहराइनस्थित नेपाली दूतावास र परराष्ट्र मन्त्रालयको प्रस्तावपछि सरकारले विशेष अनुमति दिएको पर्यटन सचिव केदारबहादुर अधिकारीले जानकारी दिए। चार्टर्ड फ्लाइटसहित नेपालमा पर्वतारोहणका लागि अनुमति दिइएको जानकारी दिए।

‘पदयात्रा तथा पर्वतारोहण खुली नसकेको अवस्थामा कूटनीतिक पहल भएका कारण मन्त्रिपरिषद्ले विशेष अनुमति दिएको हो । उक्त टोली करिब २ महिना नेपाल बस्नेछ’, सचिव अधिकारी बताउँछन्।

तीन महिनाकोे भिसामा आएकोे राजकुमार टोलीले नेपाल भ्रमणको क्रममा ठूलो धनराशि खर्चिने भनिए पनि त्यसबाट नेपाल सरकारले कति राजस्व उठाउँछ भन्ने खुलाइएको छैन। सेभेन समिट ट्रेकले उक्त भ्रमणको आयोजना गरेको हो।

सन् २०२० का लागि निर्धारण भएका लोबुचे र मनास्लु हिमालको आरोहणपछि राजकुमारको टोली २०२१ मा सगरमाथा आरोहणको तयारीमा रहेको नेपाल ट्रेकिङ एजेन्सी संघका सचिव दामोदर ढकालले जानकारी दिए। हिमाल आरोहणको अभ्यासका लागि लोबुचे छनोट गरिएको छ। करिब ६ महिनादेखि बन्द पर्वतारोहणका लागि शरद ऋतुका लागि यो अनुमति दोस्रो हो। यसअघि बरुन्चे हिमाल आरोहणका लागि नेपाली टोलीलाई अनुमति दिइएको थियो। यही अक्टुबर १७ बाट पदयात्रालाई खुलाउने तयारीमा सरकार छ। शरद ऋतुको सेप्टेम्बर, अक्टुबर र नोभेम्बर महिना नेपालमा पर्वतारोहणको लागि विशेष मानिन्छ।