काठमाडौं । पुरातात्त्विक महत्त्वको रानीपोखरीमा आज गजुर राखिएको छ । बिहान ८ बजेको साइतमा रानीपोखरीको बीच भागमा रहेको निर्माणाधीन बालगोपालेश्वर मन्दिरमा मुख्य एक र अन्य चार गरी पाँच स्थानमा गजुर राखिएको छ ।
तामाले बनेको भए पनि गजुरको बाहिरी आवरणमा सुनको लेपन गरिएको छ । मुख्य गजुर १२३ केजी तौलको रहेको छ। भूकम्पका कारण भत्किएको रानीपोखरी बालगोपालेश्वर मन्दिर अहिले लगभग निर्माण सम्पन्न भएको छ । यही दशैँअघि नै उद्घाटन गर्ने योजना राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको रहेको बताइएको छ ।
शुरुमा काठमाडौँ महानगरपालिको पुनःनिर्माण गर्ने भने पनि कहिले पुरातत्व विभागसँग त कहिले कामपामा नै आन्तरिक कुरा नमिल्दा तीन वर्षसम्म पनि पुनःनिर्माणको काम अघि बढ्न सकेको थिएन । अन्ततः पुनःनिर्माणको काम प्राधिकरणलाई जिम्मा दिइएको थियो ।
भूकम्प गएकै वर्ष माघ २ गते राष्ट्रिय भूकम्प दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले भूकम्पले क्षति पुर्याएको सम्पदा पुनःनिर्माणको शुरुआत रानीपोखरीबाटै गर्नुभएको थियो । प्रताप मल्लका छोरा चक्रवर्तेन्द्र मल्लको निधनपछि रानीको चित्त बुझाउन वि.सं. १७२७ मा रानीपोखरीको निर्माण गराएको शिलालेखमा उल्लेख छ ।
पोखरीको बीचमा त्यसैबेला बालगोपालेश्वर मन्दिर स्थापना गरिएको हो । प्रताप मल्लले आफ्ना छोरा चक्रवर्तेन्द्र मल्लको नाममा यो पोखरी बनाएका हुन् । पोखरीको निर्माण कार्य करिब पाँच वर्षभित्र अर्थात् नेसं ७८९ (विसं १७२५) मा सम्पन्न भएको थियो । ने.सं. ७९० (विसं १७२७/ई.सं. १६७०) मा शिलापत्र राखिएको थियो । पोखरीमा १०८ तीर्थको जल हालिएको इतिहासकार बताउँछन् ।
प्रताप मल्लले रानीपोखरी निर्माण गर्दा पोखरीको चारैतिर चारवटा मन्दिर स्थापना गर्न लगाएको पाइन्छ । उत्तर-पश्चिम कुनामा शक्तिसहितको भैरवको मन्दिर, उत्तर-पूर्व कुनामा भैरवको मन्दिर, दक्षिण-पूर्व कुनामा देवीको मन्दिर र दक्षिण-पश्चिममा सोह्रहाते गणेश स्थापना गरेको इतिहास प्रष्ट देखिन्छ।