काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारी समितिले साधारण-सभा सम्बन्धी पदाधिकारीको निर्णयलाई अनुमोदन गरेको छ ।
यससँगै अब महासंघको ५४औं वार्षिक साधारणसभा मंसिर ११ र १२ गते काठमाडौंमा हुने तय भएको छ । एकपटकमा २५ जनाभन्दा बढी भेला नभई स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर चुनाव गर्न सरकारले पनि अनुमति दिइसकेको छ ।
बिहीबार बसेको कार्यसमिति बैठकले यसअघि पदाधिकारीले सिफारिस गरेको मिति र चुनावको मोडालिटी अनुमोदन गरेको अध्यक्ष भवानी राणाले जानकारी दिएकी छन् । महासंघको ५४औं साधारणसभा वेबिनारमार्फत हुनेछ भने चुनाव प्रत्यक्ष रुपमा हुने बताइएको छ ।
चुनाव सम्पन्न गर्न जतिदिन लागे पनि सरकारको निर्देशन र स्वास्थ्य प्रोटोकलको पूर्ण पालना गरेरै हुने अध्यक्ष राणाले बताइन् । “एउटा भेन्युले हुँदैन । दुई-तीनवटा भेन्युमा चुनाव गर्नुपर्ने हुन्छ । भेन्युको निर्णय भएको छैन, खोज्दै छौं,” अध्यक्ष राणाले भनिन् । कोभिड १९ का कारण गत चैतमा हुनुपर्ने महासंघको साधारणसभा पटक-पटक सर्दै आएको छ ।