काठमाडौं । प्रदेश-२ को कृषि मन्त्रालयमा अहिले लफडा परेको खबर छ । मन्त्री र सचिवको लडाइँले रमिता सिर्जना गरेको छ । हुन त, यो प्रदेश २ मा हुने रमिता न नयाँ हो न पहिलो नै । हरेक मन्त्रीहरू आफ्नो मन्त्रालयमा सरुवा भएर आउने सचिवलाई हाजिर हुन नदिने, कार्यकर्तालाई आन्दोल गर्न लगाउने अनि आफू अनुकूलको काम गराउन सहमत गराएर हाजिर गराउने पुरानै रोग हो ।
त्यो रोग अहिले कृषि मन्त्रालयमा चलिरहेको छ । मन्त्री शैलेन्द्र साहले भर्खरै सरुवा भएर पुगेकी सचिव सम्झना काफ्लेलाई हाजिर हुन त दिएनन् नै सचिवको कोठा नै तालाबन्दी गरिदिए । त्यतिले नपुगेर कार्यकर्ता जम्मा गरेर सचिव विरुद्ध नाराबाजीमात्र होइन धक्कामुक्का पनि चलाईयो । यो घटना २०७७ असोज ७ गते बुधबारको हो ।
खासमा किन यस्तो भयो भने कृषिमन्त्री साह उपसचिव शंकर साहलाई निमित्त सचिव बनाएर आँफू अनुकूलको निर्णय गराउन चाहन्छन् । आर्थिक अनियमितताको चरम चरणमा पुगेको प्रदेश-२ मा कृषि मन्त्रालय अछुतो रहने कुरै भएन । यो मन्त्रालयले कमिशन हात पार्नका लागि कुकुर बन्ध्याकरण गर्ने भनेर ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । यस्ता अनियमित काम गर्दा जनता समाजवादी पार्टीको प्रदेश-२ मा मात्र होइन केन्द्रमा समेत हल्लिखल्ली भएको छ ।
अध्यक्ष उपेन्द्र यादवलाई प्रदेशका सांसदले भेटेर आर्थिक अनियमितताको फेहरिस्त सुनाईसकेका छन् । र, कुकुर बन्ध्याकरणको नाममा विनियोजित ५० लाख रुपैयाँको बजेटको बारेमा छलफलसमेत भएको छ । त्यसमा अध्यक्ष उपेन्द्र यादव स्वयंले पनि प्रश्न उठाएको स्रोत बताउँछ ।
हेर्दा सामान्य लागे पनि आर्थिक अनिमितताको चरम रुप यही बजेटबाट देखिने प्रदेशका एकजना सांसदको मत छ । कुकुर परिवार नियोजन गर्ने भनेर पैसा खाने मेलो बाहेक मन्त्रालयको कुनै गतिलो काम छैन भन्ने ती सांसदको आरोप छ । उनीहरूले यो विषयमा पार्टीका केन्द्रीय नेताहरूसँग पनि छलफल गरेकै कारण अहिले अध्यक्ष उपेन्द्र यादव प्रदेश-२ को सरकार फेरबदलमा सहमत भएका हुन् । त्योभन्दा पहिला अध्यक्ष उपेन्द्र यादव एकीकृत पार्टीको केन्द्रीय समिति टुंगो लगाउन चाहन्छन् । केन्द्रीय समिति टुंगो लागेलगत्तै प्रदेश-२ को पुरै सेट परिवर्तन गर्ने सोचमा अध्यक्ष यादव देखिएको स्रोत बताउँछ । तर, मुख्यमन्त्री महन्थ ठाकुर पक्षलाई दिन भने उपेन्द्र यादव तयार देखिएका छैनन ।
जसले गर्दा उपेन्द्रको समूहबाट विजय यादव, कौशल सिंह मुख्यमन्त्रीको दौडमा रहेका छन् । ठाकुरको पक्षबाट भने मनिस सुमनले दाबी गरिरहेका छन् । केही प्रदेश सांसदहरूले मुख्यमन्त्री परिवर्तनका लागि काठमाडौंमा आएर नेताहरूसँग भेट पनि गरिसकेको खबर छ । दुई दर्जन सांसद नै काठमाडौं आएर मुख्यमन्त्री फेर्नुपर्छ भन्ने अवस्था आएका कारण अध्यक्ष उपेन्द्र यादव पनि मुख्यमन्त्री लालबाबु राउतलाई बोकिरहने पक्षमा देखिएका छैनन् ।-साँघु