काठमाडौं । थापाथली परोपकार प्रसूतिगृहमा नुवाकोटकी २८ वर्षिया सोमिका तामाङले एकैपटकमा ५ जना शिशुलाई जन्म दिएकी छन्। सोमबार बिहान उनको शल्यक्रिया गरी ५ शिशु निकालेको थापाथली प्रसुति गृहले जनाएको छ।
प्रसुति अस्पतालका स्त्रीरोग विशेषज्ञ तथा शल्यचिकित्सक डा.कृतिपाल सुवेदीको समूहले शल्यक्रिया गरी ५ जना शिशुहरु निकालेका हुन्। ५ मध्येमा एक जनाको पेटमै मृत्यु भएको र बाँकी ४ जना जीवित रहेको अस्पतालले जनाएको छ। चारै वटा शिशुलाई स्वास्थ्य निगरानीको लागि अस्पतालको एनआइसियुमा राखिएको डा.सुवेदीले जानकारी दिएका छन्।
डा.कृतिपाल सुवेदी, डा.दिप्ती श्रेष्ठ, डा.नमिता सिग्देल, एनेशथेसियातर्फ डा.मुकेश कुमारको टोलीले तामाङको शल्यक्रिया गरेका थिए। बालरोग बिशेषज्ञ तर्फ डा.श्रद्धा श्रेष्ठ रहेकी छिन्। चिकित्सकका अनुसार ४ जना शिशु मध्येमा एउटा १ केजी, दोस्रो १ केजी ८ सय ग्राम, तेस्रोको १ केजी ६ ग्राम र चौथोको ८ सय ग्राम तौल रहेको छ। २ देखि ४ जनासम्म शिशुको एकैपटक जन्म हुने गरेको धेरै हुने पाइए पनि एकै पटकमा ५ शिशुको जन्म हुनु दुर्लभ मानिएको छ।