× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
अर्थ/बजार

नेपालका १० हजार स्थानमा फेसबुक निशुल्क

Simrik Online

२० आश्विन २०७७, बुधबार

वर्ल्डलिंकसँगको सहकार्यमा १० हजार स्थानमा निःशुल्क वाइफाइ हटस्पट जडान

काठमाडौं । लोकप्रिय सामाजिक सञ्जाल फेसबुक सार्वजनिक स्थानमा निःशुल्क इन्टरनेट पुर्‍याउने परियोजना लिएर नेपाल भित्रिएको छ । विकासोन्मुख मुलुकमा इन्टरनेट पहुँच बढाउने फेसबुकको परियोजना एक्सप्रेसवाइफाई मार्फत् फेसबुक नेपाल आएको हो । सार्वजनिक स्थानमा निःशुल्क वाइफाइको लागि फेसबुकले नेपालको इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसनसँग सहकार्य सुरु गरेको हो ।

लकडाउन अघिदेखि नै फेसबुकले वर्ल्डलिंकसँगको सहकार्य सुरु गरेको भए पनि यसलाई भर्खरै मात्र सार्वजनिक गरिएको वर्ल्डलिंकका सञ्चालक दीलिप अग्रवालले जानकारी दिएका छन्। ‘हामीले १० हजार स्थानमा निःशुल्क वाइफाइ हटस्पट जडान गरिसकेका छौं, यी सबै हटस्पटमा फेसबुकले तयार पारेको सफ्टवेयर प्रयोग गर्न दिने गरी हामीबीच सहकार्य भएको हो ।’ अग्रवालले भने।

फेसबुकले निःशुल्क वाइफाइ हटस्पट व्यवस्थापनको लागि बनाएको सफ्टवेयरको प्रयोगले इन्टरनेटको गुणस्तर बढ्नुका साथै सेवा प्रयोगकर्ता मैत्री हुने दाबी अग्रवालको छ । ‘वर्ल्डलिंकको निःशुल्क वाइफाइमा यसअघि प्रयोगकर्ताले हरेकपटक मोबाइलमा एसएमएसमार्फत् अथेन्टिकेसन गर्नुपर्नेमा अब एकपटक गरेपछि जतिपटक पनि इन्टरनेटमा कनेक्ट हुन सकिन्छ,’ अग्रवालले भने,‘यो सफ्टवेयरको प्रयोगले निःशुल्क वाइफाई हटस्पटको इन्टरनेट गुणस्तर पनि अभिवृद्धि गर्छ।’

फेसबुकले विकासोन्मुख देशमा इन्टरनेट पहुँच पुर्‍याउन एक्सप्रेस वाईफाई परियोजना सुरु गरेको बताइएको छ । फेसबुकको यो परियोजना एसियाका २ मुलुक नेपाल र भारतमा मात्रै कार्यान्वयन भइरहेको छ । यो बाहेक अफ्रिकाका ७, दक्षिण पूर्वी एसियाका २, दक्षिण अमेरिकाका २ र उत्तर अमेरिकाको १ देशमा पनि यो परियोजनाले काम गरिरहेको वाइफाई एक्सप्रेस परियोजनाको वेबसाइटमा उल्लेख गरिएको छ।

यस परियोजनामार्फत फेसबुकले विभिन्न देशमा विभिन्न मोडालिटीमा इन्टरनेटको पहुँच पुर्‍याउने काम गरिरहेको छ । नेपालमा पनि वर्ल्डलिंकले राखेको १० हजार फाइफाइ हटस्पटको संख्या बढाउन सहकार्यको लागि छलफल भइरहेको अग्रवालले जानकारी दिएका छन्।