× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
अन्य

स्थानीयको घेरामा पशुपति विकास कोष

Simrik Online

२० आश्विन २०७७, बुधबार

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले तयार पारेको गुरुयोजनाको विरोध गर्दै स्थनीय बासिन्दाले शान्तिपूर्ण प्रदर्शन सहित पशुपति क्षेत्र विकास कोषको कार्यालय घेराउ गरेका छन्।   भगवान श्री पशुपतिनाथको प्राचीनता मासिने गरी गुरुयोजना तयार गरिएको भन्दै सोमबार देखि स्थानीयले विरोध प्रदर्शन गरेका हुन् । पशुपति क्षेत्रको विकासको नाउँमा परापूर्वदेखिको वस्ती नै मास्ने र स्थानीय संस्कृति तथा जात्राको विनास गर्ने गरी गुरुयोजना ल्याइएको स्थानीयको आरोप छ ।

पशुपति क्षेत्र संयुक्त संघर्ष समितिका संयोजक आशामान संगतले पशुपति क्षेत्र विकास कोषले ल्याएको गुरुयोजनाको विरुद्धमा आन्दोलन सुरु गरिएको बताए । गुरुयोजनाले स्थानीय धार्मिक, समाजिक, सांस्कृतिक सम्पदा नष्ट गर्ने भएकाले त्यसको जगेर्नाका लागि गुरुयोजना खारेज गर्न माग गर्दै आन्दोलनमा उत्रनुपरेको संगतले बताए । उनले पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्रको चार किल्ला भित्र बसोबास गर्दै आएका पुरानो वस्तीलाई विस्थापित गर्ने र जात्रा पर्वहरुको विनास गरी व्यापारीकरण गर्न लागेको बताए ।

पशुपति क्षेत्र विकास कोषले गत साउनमा सिफलसम्मका बस्ती खाली गराउने प्रस्ताव सहितको संशोधित गुरुयोजना मन्त्रालयमा पठाएको छ। कोषले तयार पारेको १ सय वर्षे गुरुयोजनाले कालान्तरमा भुवनेश्वरी मन्दिरदेखि सिफलसम्मको बस्ती हटाउने परिकल्पना गरेको छ। कोषले २०५२ सालमा तयार गरेको पहिलो गुरुयोजना २०५६ सालमा स्वीकृत भएको थियो भने २०५८ सालदेखि लागू भएको थियो । पुरानो योजनाको समीक्षा नगरिकन नयाँ गुरुयोजना तयार पारिएकोले पनि विरोध गर्नुपरेको स्थानीयले बताएका छन् ।