✍️ कोमलनाथ शर्मा
वैवाहिक सम्बन्ध महिलाको भावी जीवनको खुशी र आश्रयको खोजी सम्झिने मान्यता अनवरत छ। वैवाहिक सम्बन्धबाट नै महिलाको अधिकार र कर्तव्यको सिर्जना हुन्छ। विवाह पूर्व र विवाह पछिको स्थिति र हैसियत नै फरक छ। परिवर्तित हैसियत स्वीकार्नुको विकल्प पनि छैन। लोग्नेको आश्रयमा नै महिला सुरक्षित हुने मान्यता र परम्परा अर्थपूर्ण भएकोले नै विवाह पछि लोग्नेको घरमा जाने चलन छ। वैवाहिक जीवनको सफलता लोग्नेस्वास्नी दुवैको समर्पणमा निर्भर रहने भएपनि महिलाको निमित्त विवाह भएको घरमा समाहित गर्दै जानुपर्ने जीवनको यथार्थ हो।
महिलालाई जागरुक र अधिकारसम्पन्न गराउने विषयमा संविधानमा आरक्षण र समावेशी अवधारणा स्वीकारिए पनि मन्त्रिमण्डलको गठन, दलको पदाधिकारीको चयन, संवैधानिक नियुक्ति जस्ता कार्यमा संवैधानिक व्यवस्था अनुरुप कार्यान्वयनमा आउन नसकेको यथार्थ तरताजै छ । कानूनमा भएको व्यवस्था यथा समयमा कार्यान्वयनमा नआउँदा पुरुषको बाहुल्यता रहेको कारणले महिलालाई समान हैसियतमा राख्न नचाहने मानसिकता जीवित नै रहेको भन्ने आक्षेप पनि अस्वाभाविक लाग्दैन । साथै दवाव र बाध्यताको स्थिति नआएसम्म महिलालाई अवसर दिने हार्दिकता नरहेकै कारण सहजै कार्यान्वयनमा नआउने प्रतिक्रिया आउँदा अनौठो मान्नुपर्ने अवस्था छैन । एकातिर यस्तो स्थिति छ भने अर्को तर्फ महिलालाई समान हैसियतमा राख्ने प्रयास र व्यवस्था हुँदा पनि सामर्थ्य र उच्च महत्वाकांक्षाको तालमेलको अभाव र धरातलीय यथार्थको कारणबाट परिणाम सकारात्मक छैन ।
स्वार्थ र आवश्यकता मिलेको अवस्थामा महिला र पुरुष एक अर्काको पूरकको रुपमा रहेपनि निजी चाहनाको प्रश्नमा आपसमा एकसाथ नरहने कुराले जीवन यापनमा समान व्यवहार नभएको तीतो यथार्थ छ । यस्तो हुँदाहुँदै पनि सामाजिक, सांस्कृतिक र आर्थिक क्षेत्रमा महिला प्रतिको हेय दृष्टिकोण र आर्थिक असमानता जस्ता कुरा सदा उचित मानिएका छैनन् र मानिदैनन् पनि । सामाजिक भेदभाव र पारिवारिक थिचोमिचोको कारणबाट महिला प्रभावित हुने गरेको दृश्यले सामाजिक सन्तुलनमा पर्ने प्रतिकुल असर रोक्न पनि सुधार उन्मुख हुन अनिवार्य छ । महिला प्रति असमान व्यवहार हुन नहुने धारणाको प्रादुर्भावसँग उपचारको बाटो खोज्नु अनुचित होइन । प्रत्यक्ष देखिएको विभेद मेटाउन सामाजिक सचेतना जगाउने जस्ता उपायको खोजी भैरहँदा र कानूनी उपचारको व्यवस्था गरिँदा पनि आत्मसात् हुन नसक्दा भने परिवर्तन प्रति चासो र हार्दिकता नरहेको भन्ने प्रतिक्रिया आउनु अस्वाभाविक होइन । तैपनि वाञ्छित परिणामको निमित्त भैरहेको संरचना र व्यवस्था अपर्याप्त देखिँदा सुधार हुनुपर्ने आवश्यकता औंल्याउनु अर्घेलो होइन । त्यस्तै कानूनी व्यवस्था गरिँदा दिगो समाधानको अपेक्षा गरिनु र खोजिनु सकारात्मक प्रयास भएपनि परिणाम सुखद नै हुने निश्चय हुँदैन, तरपनि सुधारको अभियानमा विराम पनि लाग्दैन, यो गतिशील प्रक्रिया हो ।
हाम्रो समाजमा यस्तो असमञ्जस स्थिति हुँदाहुँदै पनि नेपाल अधिराज्यको संविधान २०४७ प्रारम्भ भएपछि पैतृक सम्पत्तिमा छोराछोरीको बराबर हक रहनु पर्ने भनि कानूनी व्यवस्था गर्न आवश्यक ठानी महिला कानून व्यवसायीको अग्रसरतामा दायर भएको रिट निवेदनमा सर्वोच्च अदालतले निर्देश दिए अनुरुप मुलुकी ऐन अंशबण्डाको महलमा संशोधन भै गरिएको परिवर्तित व्यवस्थाबाट अपेक्षित परिणाम आउन सकेन । छोराछोरीको बीचमा पैतृक सम्पत्तिको बाँडफाँडमा बराबर हक रहने भन्ने कुरा सकारात्मक भएपनि त्यसबाट उत्पन्न परिणामले दाजूभाइ र दिदीबहिनीको सम्बन्धमा रहेको सद्भाव खलबलिन गै सामाजिक व्यवहारमा तिक्तता र दूरी बढाएको देखिएको छ । त्यस्तै लोग्नेको सम्पत्तिमा स्वास्नीको हक रहने भएपछि लोग्नेस्वास्नीको सम्बन्ध विच्छेद भएपनि अंश पाउने व्यवस्थाले अंश लिने कुरा व्यापार जस्तो भएको छ र विकृति समेत निम्तिएको छ ।
त्यस्तै वैदेशिक रोजगारको कारण महिला अस्मिता संकटमा परेको कारणबाट खासखास देशमा रोजगारको निमित्त जान नपाइने गरि नियन्त्रण गर्दा पनि लुकिछिपी जाने क्रम रोकिएको छैन । विदेशमा लगेर महिला बेचबिखन गर्ने कार्यलाई नियन्त्रण गर्न ठाउँठाउँमा जाँचपोस्ट खडा गरि जाँच गर्ने गरिए पनि ढाँटीछली जाने क्रम नियन्त्रणमा आउन सकेको छैन । महिलाको चाहना विना लोग्नेबाट हुने यौन सम्बन्धलाई वैवाहिक बलात्कारको श्रेणीमा राखे पनि परिणाम सकारात्मक छैन ।
महिला प्रति हुँदै आएका अमिल्दा व्यवहारमा सुधारको अपेक्षा राखी गरिएका व्यवस्था स्वयम् महिलाबाट पालना हुन नसक्नु र पालना हुँदा सामाजिक रोहरीतमा प्रतिकूल प्रभाव पर्नु जस्ता कुराले परिवर्तन आत्मसात गरिएको छैन । महिलाको हितको निमित्त भनि निर्माण गरिएका नीति र कानूनी व्यवस्था सामाजिक धरातलमा कति सहयोगी र उपयोगी छन् त्यसको लेखाजोखा गर्ने परिपाटी छैन । महिलाको इच्छा विपरीत राखिने यौन सम्बन्धलाई वैवाहिक बलात्कारको अपराध मानी महिलाको इच्छाको कदर गर्न खोजिएपनि लोग्नेस्वास्नी बीचको सम्बन्ध नै संकटमा पर्ने गरेको दृश्य सबैका सामु छ ।
वैवाहिक जीवनको दिगो सम्बन्ध लोग्ने स्वास्नीका बीचको आपसी समझदारी र संझौतामा मात्र संभव हुने विषय भएकोले एकतर्फी रुपमा महिलालाई मात्र प्राथमिकता दिने सोच पनि पारिवारिक विग्रहको कारण भएको छ। महिलाको स्वतन्त्रता र चाहनालाई मात्र प्राथमिकतामा राख्दा पारिवारिक सन्तुलन र सञ्चालनमा वाञ्छित परिणाम नआएको वास्तविकता पनि उपेक्षालायक छैन । सुधारको नाममा पारिवारिक समन्वय र चलिआएका परम्परा खलबलिनु उचित होइन भन्ने सोच पनि प्रवल छ । महिला हक र हितको निमित्त भनि गरिने यस्ता व्यवस्था अनुकूल हुन नसक्नुमा महिला प्रतिको विशेष आग्रह र परिणाम प्रति दूरदृष्टि नरहनु हो भन्ने टिप्पणि पनि अन्यथा नहोला।
महिला र पुरुषको संरचना एकअर्काको शारीरिक आवश्यकता पूर्ति गर्ने साधनको निम्ति मात्र नभएर दाम्पत्य जीवनको निरन्तरता, पारीवारिक श्रृंखला जोड्ने कडी र मानव सिर्जनालाई अगाडि बढाउन हो । महिला र पुरुषको यौन संबन्ध भौतिक संतुष्टिको निम्ति हो भन्ने सामान्य बुझाइले यसको प्रयोग र व्यापकता बुझ्न सरल र सहज छैन । यौन आवश्यक भएपनि यसलाई सन्तुलनमा राख्न नसकेकै कारणबाट समाजमा विकृति व्याप्त भै पारिवारिक जीवन नै संकटमा पर्ने गरेको पनि छ । यौनलाई अपराध उन्मुख हुने कारण सम्झी नियन्त्रणका उपाय खोजिँदा पनि समाधान नगिचिएको छैन । यौनको क्रियामा फरक-फरक रुचि र प्रविधि अन्तरनिहीत भएको कारणबाट निश्चित तौरतरिका र मापदण्ड निर्धारित छैनन् । त्यसमा पनि महिलाको यौन मनोविज्ञान नितान्त फरक र जटिल भएर नै पुरुषबाट महिला नियन्त्रित हुँदै आएका हुन् भन्ने यो ऐतिहासिक तथ्य पनि मननयोग्य छ ।
मनुस्मृतिको “यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवता” भन्ने अवधारणा प्रयोगमा आउन नसकेको कारणबाट महिला समुचित व्यवहारबाट वञ्चित हुँदै आएको भन्ने गुनासो पनि बराबर आइरहन्छ । साथसाथै “न स्त्री स्वातन्त्र्यमर्हति” भन्ने विचारको उदयले महिला स्वतन्त्रता झन् दोसाँध र द्विविधाको स्थितिमा रहिआएको छ । सम्मान दिने तर स्वतन्त्रता दिन नहुने भन्ने अवधारणाको प्रयोजन पनि त्यतिबेला अर्थपूर्ण नै भएर स्वीकारिएको होला । महिला र पुरुषमा देखिने व्यावहारिक अन्तर पनि यस्तै-यस्तै कारणबाट विकसित र निर्मित भएको हो । पुरुषबाट महिला प्रति गरिने औसत व्यवहार समयको दौरानमा हार्दिक नभएको सम्झिएको कारणबाट लैंगिक समानताको अवधारणा स्वीकारिए पनि कार्यान्वयनमा सफल छेैन । सामाजिक क्षेत्रमा देखिएको महिलाको न्यून प्रतिनिधित्वको कारणबाट महिला सक्रियता बढाउन महिला अधिकार र आरक्षणको विषयले प्राथमिकता पाएपनि वाञ्छित ठानिएको छैन । महिला र पुरुष एकै रथका दुई पाँग्रा भनि समान दायित्व र महत्व रहेको कुरा परिभाषित हुँदाहुँदै पनि समान हुन नसक्नुको पछाडिको कारण पनि अदृश्य छ । यस्तो गहन रुपमा रहेको विषयको रहस्य नखोजे सम्म र त्यसको पृष्ठभूमिको विषयमा यथार्थ नबुझे सम्म उपलब्धि संभव छैन । प्रचलनमा देखिएका महिला उपर गरिने व्यवहार समन्यायको कसीमा स्वीकार्न नसकिने खालका भएपनि आमूल परिवर्तनबाट आउने परिणाम पनि सकारात्मक नदेखिनुमा अपेक्षित सोच, सामाजिक मनोभाव र स्वयं महिलाको अभिरुचिसँग हातेमालो हुन नसक्नु पनि यौटा पक्ष हो ।
महिलाको जीवनको गति र अभ्यास पनि फरक छ । वैवाहिक सम्बन्ध महिलाको भावी जीवनको खुशी र आश्रयको खोजी सम्झिने मान्यता अनवरत छ । वैवाहिक सम्बन्धबाट नै महिलाको अधिकार र कर्तव्यको सिर्जना हुन्छ । विवाह पूर्व र विवाह पछिको स्थिति र हैसियत नै फरक छ । परिवर्तित हैसियत स्वीकार्नुको विकल्प पनि छैन । लोग्नेको आश्रयमा नै महिला सुरक्षित हुने मान्यता र परम्परा अर्थपूर्ण भएकोले नै विवाह पछि लोग्नेको घरमा जाने चलन छ । वैवाहिक जीवनको सफलता लोग्नेस्वास्नी दुवैको समर्पणमा निर्भर रहने भएपनि महिलाको निमित्त विवाह भएको घरमा समाहित गर्दै जानुपर्ने जीवनको यथार्थ हो । जन्मघर र आमाबाबुबाट अलग्गिनु पर्ने विधिको निर्माण पनि विना प्रयोजन र विना कारण प्रचलनमा आएको होइन । यस्ता निहित तथ्यलाई पर राखेर गरिने परिवर्तनले मात्र सामाजिक अपेक्षा पुरा गर्न सक्दैन । त्यसै भएर महिलाको हितको निमित्त भनि गरिएका सुधारका कुरा कार्यान्वयनमा आउँदा पनि प्रभावकारी हुन नसकेका हुन् ।
पुरुषप्रधान समाज भएको कारणबाट महिला पछाडि परेको र प्रताडित भएको जस्ता कुरा सामाजिक धरातलमा सही भएपनि सदा र सर्वत्र मान्य हुँदैनन् र सुनिदैनन् पनि । पटक-पटक दोहोर्याइने यो विषय सहानुभूति पाउने आधार त बन्न सक्छ तर उपादेयता छैन। हाम्रो समाज पुरुषप्रधान भएकै कारणबाट पुरुषको नेतृत्व छ । परिवर्तन ल्याउन सके महिलाप्रधान समाजको निर्माण पनि टाढा हुँदैन । यो प्रतिस्पर्धाको युग हो यस स्थितिमा सके नेतृत्वमा जाने र नसके मान्ने हो । यो यथार्थ हो। नेतृत्व लिन नसके पछि आँफूलाई हीनताबोधमा राख्ने कुरा पनि उचित हुँदैन । आँफै सक्रिय रहने कामको परिणाम आफ्नो हित विपरित हुँदा आफ्नो कमजोरी नदेख्ने स्वभावको कारणबाट हेपिने हो । दोषारोपण गर्ने बहानाबाजी पनि हितकर हुँदैन। यस्तै मनस्थिति रहँदा गन्तव्य टाढा हुन्छ। स्वयं स्वीकारिने र मनन गरिने विषय हुँदा गुनासोको अर्थ छैन।
सभ्य समाजमा महिला र पुरुष दुवैको निमित्त समान अवसर र मान्यता वाञ्छनीय भएपनि सम्भव भएको छैन। किन भन्ने प्रश्नको उत्तर अन्यत्र खोज्नु पर्दैन, आँफैसँग छ। पुरुषबाट महिला निर्देशित छन् र महिलाको आवाज सदा स्वीकार्य पनि हुँदैन । तरपनि महिला र पुरुषको सहभागिता निरन्तर छ । यो जीवनको यथार्थ भोगी आएको हो । हाम्रो जीवनमा समस्या छन् समाधान खोज्ने आँफै हो । चाहेर मात्र पनि प्राप्ति हुँदैन । प्रयास पनि सदा सार्थक नभएको अनुभव छ । समय भन्दा अगाडि र समय भन्दा पछाडि केही हुँदैन भन्ने तथ्यलाई स्वीकार्नुको विकल्प छैन । त्यसैले समय सापेक्ष भएर जीउनुमा नै श्रेयस्कर छ । प्रयासको निरन्तरता भने आवश्यक छ। (लेखक/पूर्व न्यायाधीश शर्मा, हाल अमेरिकाबाट सुशासन र समाजिक न्यायका पक्षमा कलम चलाउनु हुन्छ।)