✍️ पं. केशव आचार्य, बैैंकक थाइल्यान्ड
सम्पूर्ण नेपाली जगतको वर्षभरिको अति ठूलो चाडको रुपमा रहेको विजया दशमी वा वडादशैं, आश्विन शुक्ल प्रतिपदादेखि दशमी पर्यन्त घर-घरमा र मठ-मन्दिर एवं शक्तिपीठहरुमा घटस्थापना र जमरा राखि श्री दुर्गाभवानी माताको विधिवत रुपमा पूजापाठ र आराधना एवं अनुष्ठान गरि मनाउने शास्त्रीय परम्परा रहिआएको छ। घटस्थापनाको दिन सनातन हिन्दू धर्मावलम्बीहरुले नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा वा देवीस्थानमा जमरा राखिन्छ। माटाको घट कलश स्थापना गरिन्छ । त्यसपछि तामाको थालीमा चन्दन वा केशरले षट्कोण र त्यसको बाहिरपट्टि अष्टदल वा कमलको आकार तयार पारी त्यसमा नवाक्षर मन्त्र लेखी महाकाली, महालक्ष्मी र महासरस्वती स्वरूपा श्री दुर्गाभवानी माताको विधिपूर्वक न्यासध्यान गरी स्थापना र प्राणप्रतिष्ठा गरेर दैनिक रुपमा षोडशोपचारले पूजाआजा गरि मनाउने शास्त्रीय मान्यता रहिआएको छ।
वैदिक परम्परा अनुसार आ-आफ्नो घर वा पूजाकोठामा विधिपूर्वक दीयो कलश गणेश र देवीको स्थापना गरि पूजा पाठ गरि पवित्र स्थानमा जौ, गहुँ र मकै लगायतका अन्न रोपेर जमरा राखिन्छ। देवीको आराधना स्तोत्र पाठ गरेर राखेको जमरा विजयादशमीका दिन भगवतीको प्रसाद स्वरुप टिकासँगै लगाइन्छ। बताइन्छ कि भगवान श्रीरामले यसैदिन रावणको बध गर्नुभएको थियोे, साथै दुर्गामाताले महिषासुरकोे। त्यसैले यसलाई असत्य माथि सत्यको विजयको रुपमा मनाइन्छ, यसकारण यस दिनलाई विजयादशमीको नामले पनि जानिन्छ।
विजयादशमी भन्नाले विजय प्राप्त गरेको दिन भन्ने बुझिन्छ, असत्य माथि सत्यको, हिंसा माथि अहिंसाको, अधर्म माथि धर्मको, अन्याय माथि न्यायको, अनीति माथि नीतिको, दुराचार माथि सदाचारको पापमाथि धर्मको आदि आदि ,,,,,।
नौ दिनसम्म नवदुर्गा भवानी माताको नवधाभक्ति गरौं, नौदिन सम्म शक्तिको उपासना गरौं आफ्नै जीवन भित्र लुकेर बसेको व्यक्तित्व, आत्मबल, ऊर्जाशक्ति, प्रतिभा, प्रेम, शान्ति र आनन्दलाई प्रकट गराउन नयाँ आध्यात्मिक यात्राको शुभारम्भ गरिन्छ।
हामीभित्रको आस्था, भक्ति, विश्वास, सरलता, सत्यता र शाश्वत ज्ञानको स्फुरण र सुखमय एवं आनन्दित जीवनको लागि ममतामयि भगवती माताको भक्तिरुपी सरोवरमा डुबुल्की लगाइन्छ। शक्तिको उपासना गरि आफूमाभएको नराम्रोप्रवृत्ति अर्थात् काम, क्रोध, लोभ, मोह, राग, द्वेष, ईर्ष्या, छल, कपट आदि जस्ता नकारात्मक विचार माथि पूर्णतया विजय प्राप्त गरि शान्त, सरल, समृद्ध, भाइचारा, दया, करुणा, सद्भाव, सेवाभाव र कर्तव्य परायणको भावनालाई अभ्युदय गराइन्छ।
एक-अर्कोलाई आफ्नो उपस्थितिबाट खुसी र आनन्द राख्न सकौं, एक-अर्कोलाई जिउने हौसला र उमङ्ग प्रदान गर्न सकौं, अरुको सुखमा खुसी हुने र अरुको दुःखमा दुःखि हुन सकौं, एक-अर्कोमा आत्मीयताको भावनालाई सदा कायम राखौं, नौ दिनसम्म साधना गरि जीवनलाई धन्य-धन्य बनाअौं यही हो दुर्गा पूजाको वास्तविक अर्थ।
विजयादशमीका दिन माता दुर्गाले दानवीय शक्तिमाथि अर्थात् महिषासुर नामक दैत्यलाई तथा भगवान श्रीरामले रावण माथि विजय हाँसिल गरेको उपलक्ष्यमा नवदुर्गा भवानीको प्रसाद स्वरुप रातो टीका र जमरा लगाउने चलन छ।
नवरात्रको पहिलो दिन घटस्थापना गरि नौ दिनसम्म शक्तिस्वरुपा भगवतीको पूजाअर्चना गर्ने, देवी महात्म्य पाठ गर्ने गरिन्छ, प्रत्येक दिन फरक-फरक माता दुर्गाका नौ स्वरुपको पूजा हुन्छ, प्रतिपदा देखि क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कूष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्री नवदुर्गाको पूजा गर्दै सप्तशती पाठ गरि महाकाली महालक्ष्मी र महासरस्वतीको पनि विशेष आराधना गर्ने गरिन्छ।
पहिलो दिन, शैलपुत्री पूजा
वन्दे वाच्छितलाभाय चन्द्रार्धकृतशेखराम्।
वृषारूढ़ां शूलधरां शैलपुत्रीं यशस्विनीम्।।
मातादुर्गाको पहिलो स्वरूपको नाम हो शैलपुत्री। पहिलो दिनमा शैलपुत्री स्वरुपा भवानी माताको श्रद्धा र भक्तिपूर्वक पूजाअर्चना र आराधना गरिन्छ। पर्वतराज हिमालयकी पुत्रीको रूपमा उत्पन्न भएको कारणले उनलाई शैलपुत्री भनिएको शास्त्रीय मान्यता रहेको छ। शैलपुत्रीको आराधना गर्नाले धनधान्य, सौभाग्य, आरोग्य, मोक्ष तथा सबै प्रकारका मनोकामना पूर्ण हुने विश्वास गरिन्छ ।
दोस्रो दिन, ब्रह्मचारिणी पूजा
दधाना करपद्माभ्यामक्षमालाकमण्डलू।
देवी प्रसीदतु मयि ब्रह्मचारिण्यनुत्तमा।।
माता दुर्गाको दोस्रो स्वरुपको नाम हो ब्रह्मचारिणी । ब्रह्मचारिणी स्वरुपा दुर्गा भवानीको पूजापाठ दोस्रो दिनमा गरिन्छ। ब्रह्माको आचरणमा रही कठोर तपस्या गरेकी र शिरमा अर्धचन्द्र तथा नाना प्रकारका आभूषण धारण गरेकी हुनाले उनलाई ब्रह्मचारिणीको स्वरुपमा पूजाआराधना गर्ने गरिन्छ। ब्रह्मचारिणीको आराधना गर्नाले आयु, शक्ति, भौतिक सुख तथा दाम्पत्य जीवन सुखी रहने बताइन्छ।
तेस्रो दिन, चन्द्रघण्टा पूजा
पिण्डजप्रवरारूढ़ा चण्डकोपास्त्रकेर्युता।
प्रसादं तनुते मह्यं चंद्रघण्टेति विश्रुता॥
माता दुर्गाको तेस्रो स्वरूपको नाम हो चन्द्रघण्टा । चन्द्रघण्टा मातालाई दुर्गा भवानी माताको रुपमा उनलाई तेस्रो दिनमा पूजाआजा र आराधना गर्ने गरिन्छ। उनको शिरमा घण्टीको आकार जस्तै अर्धचन्द्र भएकाले उनको नाम चन्द्रघण्टा रहन गएको शास्त्रीय मान्यता छ। यिनको आराधनाले सांसारिक कष्ट देखि छुटकारा पाई सहज रुपमा परमपदको आधिकारिक बन्द छ भन्ने मान्यता छ ।
चौथोदिन, कूष्माण्डा
सुरासम्पूर्णकलशं रुधिराप्लुतमेव च ।
दधाना हस्तपद्माभ्यां कुष्माण्डा शुभदास्तु मे॥
माता दुर्गाको चौथो स्वरुपको नाम हो कूष्माण्डा । चौथो दिनमा कूष्माण्डा स्वरूपा दुर्गा भवानीको पूजाआराधना गरिन्छ। आफ्नो मधुरो, मन्द हाँसोबाट ब्रह्माण्डको उत्पत्ति गरेकी हुनाले उनको नाम देवी कूष्माण्डा रहन गएको मान्यता छ । माता कूष्माण्डाको भक्तिले सुख , समृद्धि र उन्नति हुने रोग, शोक नष्ट भई आयु, यश र बलको वृद्धि हुने मान्यता रहेको छ।
पाँचौं दिन, स्कन्दमाता पूजा
सिंहसनगता नित्यं पद्माश्रितकरद्वया ।
शुभदास्तु सदा देवी स्कन्दमाता यशस्विनी॥
माता दुर्गाको पाँचौ स्वरुपको नाम हो स्कन्दमाता। स्कन्दमाता स्वरूपा दुर्गा भवानीको पाँचौ दिनमा भक्ति पूर्वक आराधना र पूजापाठ गर्ने गरिन्छ। शिव-पार्वती पुत्र स्कन्दकुमार अर्थात् कार्तिकेयकी माता भएको कारण उनलाई स्कन्दमाता भनिएको हो। स्कन्दमाता भवानीको उपासना गर्नाले सबै प्रकारका इच्छापूर्ति हुने मान्यता छ।
छैठौं दिन, कात्यायनी पूजा
चन्द्रहासोज्ज्वलकरा शार्दूलवरवाहना ।
कात्यायनी शुभं दद्याद्देवी दानवघातिनी।।
माता दुर्गाको छैठौं स्वरुपको नाम हो कात्यायनी। दुर्गा स्वरूपा कात्यायनी भवानीको छैठौं दिनमा पूजा आराधना गरिन्छ। पौराणिक मान्यता अनुसार माता कात्यायनी, महर्षि कात्यायनको घोर तपस्यादेखि प्रसन्न भएर उनको ईच्छा अनुसार उनको घरमा पुत्री रुपमा जन्मिएकी थिइन। महर्षि कात्यायनले सर्वप्रथम यिनको पूजाअर्चना गरेका थिए। यसकारण कात्यायनी देवीका नामले प्रसिद्ध भइन्। भगवान् श्रीकृष्णलाई पतिका रूपमा पाउन ब्रजका गोपिनीहरुले उनै कात्यायनी देवीको आराधना गरेका थिए। कात्यायनी देवीको पूजापाठको प्रभावले अविवाहिताको यथाशीघ्र विवाह हुने र धर्म, अर्थ, काम तथा मोक्ष प्राप्त गर्न सकिने शास्त्रीय मान्यता छ।
सातौं दिन, कालरात्रि पूजा
एकवेणी जपाकर्णपूरा नग्ना खरास्थिता ।
लम्बोष्ठी कर्णिकाकर्णी तैलाभ्यक्तशरीरिणी॥
वामपादोल्लसल्लोहलताकण्टकभूषणा ।
वर्धनमूर्धध्वजा कृष्णा कालरात्रिर्भयंकरी।।
माता दुर्गाको सातौं स्वरुपको नाम हो कालरात्रि। कालरात्रि स्वरूपा दुर्गा भवानीको सातौं दिनमा श्रद्धाका साथ पूजाआराधना गरिन्छ। शास्त्रमा देवी कालरात्रिको स्वरुप देख्दामा भयंकर र डरलाग्दो भएता पनि भक्तहरुलाई सदैव शुभ फल दिनुहुन्छ भन्ने मान्यता छ। उनको श्रद्धा एवं भक्तिले कुनैपनि प्रकारको बाधा, दुष्टको आतंक या ग्रहपीडा देखि मुक्त भई जसद्वारा साधक भयभीत हुनुपर्दैन भन्ने मान्यता रहेको छ।
आठौं दिन, महागौरी पूजा
श्वेते वृषे समारूढ़ा श्वेताम्बरधरा शुचिः।
महागौरी शुभं दद्यान्महादेवप्रमोददा॥
माता दुर्गाको आठौं स्वरुपको नाम हो महागौरी। महागौरी स्वरूपा दुर्गाभवानीको आठौं दिनमा भक्तिपूर्वक पूजाआराधना गरिन्छ। महागौरी आठ वर्षको उमेरमै कठोर तपस्यामा लिन हुँदा शरीर कालो भएको थियो र साक्षात् शिवले गंगाजलद्वारा स्नान गराएपछि यिनको शरीर गोरो भएकाले महागौरी भनी उनको नामकरण गरिएको शास्त्रमा उल्लेख छ। यिनको शक्ति अमोघ र शुभ फलदायिनी मानिन्छ। यिनको उपासनाले कलुषीत मन दुर भई शान्ति र परमपद प्राप्ति हुन्छ भन्ने मान्यता छ।
नवौं दिन, सिद्धिदात्री पूजा
सिद्ध गन्धर्व यक्षाद्यैरसुरैरमरैरपि ।
सेव्यमाना सदा भूयात् सिद्धिदा सिद्धिदायिनी।।
माता दुर्गाको नवौं स्वरुपको नाम हो सिद्धिदात्री। सिद्धिदात्री स्वरूपा दुर्गा भवानी माताको आराधना नवौं दिनमा गर्ने गरिन्छ। नामअनुसार सबै प्रकारको सिद्धिहरु प्रदान गर्ने वालि हुनुहुन्छ । सिद्धिदात्री देवीको पूजाआराधनाबाट सर्वसिद्धि प्राप्त हुन्छ भन्ने विश्वास गरिन्छ।
नवरात्र भरिको महत्त्व आफ्नै भएपनि घटस्थापना, फूलपाती, महाष्टमी/कालरात्रि, महानवमी र विजयादशमी यी पाँच दिनको महत्त्व भने अझ बढी रहेको पाइन्छ।
नवरात्रिको पहिलोदिन अर्थात् घटस्थापनाको दिन अखण्ड दीप प्रज्वलन गरि नवरात्रको शुभारम्भ गरिन्छ। दीपलाई कर्मको साक्षी र ज्ञानको प्रतीक मानि यज्ञारम्भ गरिन्छ। हाम्रो धर्म संस्कृति अनुसार सम्पूर्ण देवीदेवता, ब्रह्मा, विष्णु, महेश, चार वेद, सागर, सप्तद्वीप, समस्त नदी एवं तीर्थहरु कलशमा अर्थात् घटमा स्थापित हुन्छन् भन्ने मान्यता अनुसार घटस्थापना गरिन्छ। यसका अतिरिक्त कलशमा अष्टमंगलका शुभ चिन्हहरुद्वारा पूजित गरि, वैदिक मन्त्रद्वारा घट अर्थात् कलश स्थापना गरि त्यसमै सम्पूर्ण देवीदेवता, तीर्थ, पावनी नदी, नाला, सप्तसागर, सप्तद्वीप आदि सबैलाई समाहित गरि अथवा आह्वान गरि शुभ सूचकको प्रतीक मानि दशैं पूजाको थालनी गरिन्छ, साथै अखण्ड दीप बालेर नवरात्रिको पूजापाठ गर्ने गरिन्छ, दीपलाई ज्ञान र उज्यालोको प्रतीक मानिन्छ।
नवरात्रिको सातौं दिन अर्थात् सप्तमी यो विशेष दिनलाई फूलपाती भनिन्छ, गाउँ घर र नगर परिक्रमा गरि विभिन्न प्रकारका फूलपाती भित्र्याइन्छ ।
रम्भाकच्चु हरिद्रा च जयन्ती विल्वदाडिमौ ।
अशोकौ मानकश्चैव धान्यानि नवपत्रिका ।।
अर्थात् केरा, दारिम, धान, हलेदो हरिद्रा, मानेको बोट मानक, कर्चर कचु, बेलपत्र र बेलको हाँगा, अशोक र जयन्ती यिनीहरूलाई नवपत्रिका वा फूलपाती भनेर शास्त्रमा उल्लेख छ। पत्र-पत्रिकालाई फूलपाती वा नवपत्रिका पनि भनिन्छ। विभिन्न प्रकारको फूलपात सम्मिश्रित देवीस्थानमा फूलपाती साइत हेरेर भित्र्याइन्छ, यही फूलपातीका प्रत्येक पत्रमा एक एक देवीको पूजागर्ने चलन छ। यस दिन कालरात्रि देवीका साथसाथै विद्या तथा संगीतकि देवी सरस्वती माताको पनि विशेष आवाहन गरि पूजाअर्चना गरिन्छ।
नवरात्रिको आठौं दिन अर्थात् महाष्टमीका दिन कालरात्रिको पूजा गर्ने विधि शास्त्रमा बताइएको छ। त्यसदिन शस्त्र-अस्त्रहरु अर्थात् विभिन्न प्रकारका हातहतियारहरुको पनि पूजाअर्चना गर्ने परम्परा छ। माताको कृपा र शक्ति पाउन यस दिन साधना गरिन्छ। खिरको हवन गरि अन्त्यमा बलि दिने प्रचलन छ। संस्कृतमा बलिको अर्थ त्याग गर्नु अर्पण गर्नु अथवा कुनैपनि कुरा त्यागिदिनु भन्ने बुझिन्छ, आजको दिनमा हामी मनुष्य भित्र रहेको अत्यन्त बलि काम, क्रोध, लोभ, मोह, राग द्वेष, ईर्ष्या, आदि दुर्गुणहरुको अन्त्य होस् भनेर कुभिण्डो र नरिवलको बलि चढाएर एउटा असल मनुष्य बन्ने महासंकल्प गर्ने गरिन्छ। बलि भनेको मनुष्यमा रहेका काम, क्रोध, लोभ, मोह, मद, अहंकार आदि दुर्गुणको त्याग गर्नु या भगवतीको चरणमा अर्पण गर्नु भनिएको हो।
नवरात्रिको नवौं दिन अर्थात् महानवमीका दिन नवौं शक्तिस्वरुपा माता सिद्धिदात्रीको पूजाअर्चना गरिन्छ, कन्यापूजा नवरात्र भर नवदुर्गाको पूजाका साथ-साथै प्रत्येक दिन एक-एकवटी कन्यालाई पूजा गर्ने चलन छ, प्रत्येक दिन फरक-फरक उमेर र नाम भएकि दुई वर्ष देखि दश वर्ष सम्मकी कन्यालाई बस्त्र अलंकार सहित पूजा गर्ने विधान छ। प्रत्येक दिन कन्यापूजा गर्न अनुकूल नहुँदा नवमीका दिन देवीस्वरुपा नौजना कन्यालाई प्रतीक मानि पूजा गरिन्छ, साथै चण्डीका प्रत्येक मन्त्रद्वारा हवन गरि तिलक लगाउने प्रचलन पनि छ।
कामदं मोक्षदं नृणां ज्ञानदं दुःख नाशनम्, अर्थात् मानिसले चिताएको पुग्ने, ज्ञान र मोक्ष प्राप्त गर्नुका साथै सम्पूर्ण दुःख नाश हुने पुराणमा बताइएको छ। त्यस्तै, मार्कण्डेय पुराणमा मधुकैटभ, महिषासुर, धुम्रलोचन, चण्ड, मुण्ड, रक्तबीज र अन्त्यमा निशुम्भशुम्भ नाम गरेका दैत्यमाथि देवीले विजय प्राप्त गरेको उल्लेख छ। तसर्थ मानिसका मनमा रहेको आसुरी भाव नष्ट गरी तत्वज्ञान प्राप्त गर्न पनि दुर्गा भवानी माताको पूजाआराधना गर्नुपर्ने मान्यता हो।
नवरात्रिको दशौं दिन अर्थात् विजयादशमी, यस दिन दैवी शक्तिले आसुरी शक्तिलाई पूर्णतया पराजित गरेको प्रतीक स्वरुप र असत्य माथि सत्यको विजयको रुपमा विजया देवीको पूजाआजा गरि जमराहरु मातालाई अर्पण गरि देवी विसर्जन गरि घटस्थापना गरेकोे कलशको जलले वैदिक मन्त्रद्वारा अभिषेकगरि बुढापाकाहरुको हातबाट आशिर्वाद स्वरुप जमरा टीका फूल प्रसाद ग्रहण गरि दशैं मनाइन्छ।
गहुँ र जौको अंकुर लगाउनाले सुख, शान्ति, समृद्धि र स्वास्थ्य लाभ हुने शास्त्रीय मान्यता रहेको छ। विजया देवीको प्रसाद स्वरुप दही र रातो टीका निधारमा लगाएर नवअंकुर जमरा शिरमा राख्यो भने शिरको पीडा र मानसिक अशान्तिबाट बच्न सकिन्छ भन्ने शास्त्रीय मान्यता छ। जमरा शीतलता र नूतनको प्रतीक हो।
यो दशैंले आपसी सद्भावना, न्याय, भाइचारा, दया, करुणा सदाचार, शान्ति, प्रेम र सबैमा मेलमिलापका साथ न्याय र सत्यको मार्गमा हिडाउँने छ।
विजया दशमीको टीकामा पुरुषलाई दिने आशिर्वचन
आयुर्द्रोणसुते श्रियं दशरथे शत्रुक्षयं राघवे ।
ऐश्वर्यं नहुषे गतिश्च पवने मानं च दुर्योधने ।।
दानं सूर्यसुते बलं हलधरे सत्यं च कुन्तीसुते ।
विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे।।
स्वस्त्यस्तुतेकुशलमस्तुचिरायुरस्तु ।गोवाजिहस्तिधनधान्यसमृद्धिरस्तु।। ऐश्वर्यमस्तु विजयोस्तु रिपुक्षयोस्तु । सन्तानवृद्धिसहिता हरिभक्तिरस्तु ।।
अर्थात्, द्रोणपुत्र अश्वत्थामाको जस्तो आयु होस्, दशरथ महाराजको जस्तो सम्पत्ति होस्, रामचन्द्रको जस्तो शत्रुनाश होस्, नहुष राजाको जस्तो ऐश्वर्य होस्, वायुको जस्तो गति, दुर्योधनको जस्तो सम्मान होस्, भीष्मपितामहको जस्तो शूरता होस्, हलोधारी बलरामको जस्तो बल होस्, युधिष्ठिरको जस्तो सत्य होस्, विदुरको जस्तो विज्ञान र नारायणको जस्तो कीर्ति तपाईंको पनि होस्। साथै तपाईंको चिरायु र कल्याण होस्, गाई–हात्ती–घोडा र धनधान्य वा सम्पत्ति बढोस्, ऐश्वर्य होस्, बल होस्, सन्तान वृद्धि होस् र भगवानमा भक्ति बढोस् यही आशिर्वाद छ ।
स्त्रीलाई दिने आशिर्वचन :
भद्रमस्तु शिवं चास्तु महालक्ष्मी प्रसीदतु।
रक्षतु त्वां सदा देवा आशीषः सन्तु सर्वदा।।
जयन्ती मंगलाकाली भद्रकाली कपालिनी।
दुर्गाक्षमा शिवा धात्री स्वाहा स्वधा नमोस्तुते।।
जयत्वं देवि चामुण्डे जय भूतार्तिहारिणी। जय सर्व गते देवि कालरात्रि नमोस्तुते।।
अर्थात्, भलो होस्, कल्याण होस्, महालक्ष्मी दुर्गा भगवती प्रशन्न रहुन्, सधैं देवीहरूले तपाईंको रक्षा गरून्, साथै जयन्ती, मंगला, काली, भद्रकाली, कपालिनी, दुर्गाक्षमा, शिवा, धात्री, स्वाहा, स्वधाआदि नामले प्रसिद्ध हे जगदम्बिके हजुरलाई मेरो नमस्कार छ। देवी चामुण्डे हजुरको जय होस्, सम्पूर्ण प्राणीहरूको पीडा नाश गर्ने हे देवी कालरात्रि हजुरलाई नमस्कार छ। यस्तो महत्त्व बोकेको दशैंमा यसरी छोरीमान्छेलाई दुर्गाकै रूप मानेर सम्मानपूर्वक आशिर्वचन प्रदान गरिँदै आएको छ। (लेखक – केशव आचार्य, संस्कृत स्नातक सेवा मण्डली, थाइल्यान्डका अध्यक्ष हुनुहुन्छ।)