× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
अपराध

असईको घाँटी रेटेर हत्या, जवानको अवस्था अझै अज्ञात

Simrik Online

२ कार्तिक २०७७, सोमबार

तस्करले हत्या गरेको आशंका

धनगढी । गस्तीमा रहेका प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विकको घाँटी रेटेर हत्या गरेको अवस्थामा शव भेटिएको छ । उनको हत्या तस्कर समूहले गरेको प्रहरीको अनुमान छ । उनको शव आइतबार बिहान मोहना नदीमा फेला परेको हो । प्रहरीका अनुसार तस्करीको ट्रान्जिट प्वाइन्ट मानिने कैलालीको धनगढी उपमहानगरपालिका-बनकट्टी घाटमा तस्कर समूहले शनिबार राति उनको हत्या गरेको हो । विकसँगै गस्तीमा गएका प्रहरी जवान रामबहादुर साउदको अवस्था अझै अज्ञात छ ।

घटनास्थलको प्रकृति हेर्दा विक र साउदलाई तस्कर समूहले घेराबन्दी गरेर आक्रमण गरेको देखिएको अनुसन्धानमा खटिएका एक प्रहरीले बताए । ‘उखुबारीको छेउमा रहेको बाँझो खेतमा लछारपछार भएजस्तो देखिएको छ । छेउमै प्रहरीको एउटा जुत्ता पनि फेला परेको छ । त्यसको करिब ५० मिटर पर स्लिपिङ ब्याग र चप्पल भेटिएको छ । त्योभन्दा ५० मिटर दक्षिणतर्फ खेतमै रगत देखिएको र हत्या गरेर शव मोहना नदीमा फालिएको देखिन्छ’, उनले भने । रगत देखिएको नजिकै फुटेको अवस्थामा मोबाइल पनि भेटिएको छ । असई विकले बोकेको एक थान हतियार र गोली फेला परेको छैन । प्रहरी जवान साउदको खोजी भइरहेको ती प्रहरीले बताए ।

असई विक अस्थायी प्रहरी पोस्टको इन्चार्ज भएर तीन महिनाअघि जुगेडा पुगेका थिए।

घटनास्थल नेपाल र भारत दुवैतर्फका तस्करको ट्रान्जिट प्वाइन्ट रहेको स्थानीयले बताएका छन् । ‘गोरुगाडामा भारतबाट सामान ल्याएर उखुबारी छेउमा राख्ने र त्यहाँबाट नेपालतर्फका तस्करले सामान लैजाने गर्छन् । यहाँ रातभर मानिस हिँडेको हिँड्यै गर्छन्’, एक स्थानीयले भने । यो नाका भएर भारतमा मटर, भटमास तथा दलहनको तस्करी हुने गर्छ । भारतबाट नेपालतर्फ चिनी, लुगाकपडा, सुर्तीजन्य पदार्थ, हार्डवेयरका सामग्री, इलेक्ट्रोनिक्स सामानको तस्करी हुन्छ । प्रहरीकै सेटिङमा नियमित तस्करी हुने गरेको स्थानीय बताउँछन् । जुगेडामा अस्थायी प्रहरी पोस्टका साथै सशस्त्र प्रहरीको बिओपी छ । तीन महिनाअघि अस्थायी प्रहरी पोस्टको इन्चार्ज भएर आएका असई विकले तस्करीमा कडाइ गरेका कारण उनको हत्या भएको स्थानीय प्रताप बिष्ट बताउँछन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक प्रतीक बिष्टले साँझ गस्तीमा निस्केका बेला सम्पर्कविहीन भएकामध्ये असई विकको धारिलो हतियारले हत्या गरेको अवस्थामा नदीमा शव फेला परेको बताए । सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख उत्तम सुवेदीले तस्करले विकको हत्या गरेर शव नदीमा फालेको प्रारम्भिक अनुसन्धानमा खुलेको बताए । सुवेदी आफैं घटनास्थल पुगेका थिए । सन्दिग्ध ११ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको उनले बताए । अस्थायी प्रहरी पोस्ट जुगेडामा दुई महिलासहित १० प्रहरीको दरबन्दी छ।-नागरिक।