काठमाडौं । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अलग पार्टी बनाउने प्रस्ताव गरेको दाबी गरेका छन्। प्रचण्ड निवास खुमलटारमा वरिष्ठ नेताहरू झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र गृहमन्त्रीसमेत रहेका सचिवालय सदस्य रामबहादुर थापासहितको बैठकमा प्रचण्डले ओलीसँग भएको छलफलबारे ब्रिफिङ गरेका हुन्।
ओलीले तत्काल पार्टीको कुनै बैठक सम्भव नभएको र एकपक्षीय रूपमा हुने निर्णय आफूले नमान्ने, बरु पार्टी अलग गर्ने प्रस्ताव गरेको प्रचण्डलाई उद्धृत गर्दै खुमलटार छलफलमा सहभागी एक नेताले बताएका छन्। प्रचण्ड र ओलीबीच पछिल्लो पटक शनिबार छलफल भएको थियो।
खुमलटार छलफलमा सहभागी नेताहरूले पार्टी एकता बचाउनुपर्ने भन्दै ओलीसँग थप संवाद गर्न प्रचण्डलाई भनेका छन्। मन्त्रिपरिषद् पुनर्गठन, राजदूत नियुक्ति, नेकपा कर्णालीको विवाद र ‘रअ’ प्रमुखको नेपाल भ्रमणलगायतका विषयमा ओली र प्रचण्डबीच विवाद छ।