संयुक्त राज्य अमेरिकाको ४६औं राष्ट्रपति बन्ने निश्चितजस्तै रहेका जो बाइडेन सन् १९८८ मै राष्ट्रपतीय चुनावका बलियो दाबेदार ठानिएका थिए। बेलायती राजनीतिज्ञ नील किनकको भाषण चोरेको आरोप लागेपछि त्यतिबेला उनी पछि हटेका थिए।
न्युयोर्क । अमेरिकी राष्ट्रपति निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ। डेमोक्र्याटिक पार्टीका प्रत्याशी जो बाइडेन ४६ औं राष्ट्रपति बन्ने निश्चित देखिएको छ। उनी जितका आवश्यक २ सय ७० इलेक्टोरल भोटको निकै नजिक छन्। जितपछि बाइडेन पछिल्ला तीन दशकमा पदासीन राष्ट्रपतिलाई हराउने पहिलो उम्मेदवार हुनेछन्।
जो बाइडेन सन् २००९ देखि २०१७ सम्म बाराक ओबामा प्रशासनमा उपराष्ट्रपति थिए। चुनावी अभियानका लागि निकै सफल मानिने बाइडेन सन् १९७३ देखि सन् २००९ सम्म डेलावेयरबाट निरन्तर सिनेटर भएका थिए। उनले ३३ वर्षअघि सन् १९८८ मा राष्ट्रपतीय चुनावको प्रत्याशीका रूपमा आफ्नो अभियान चलाएका थिए। त्यतिबेला बलियो दाबेदार ठानिएका उनी बेलायती राजनीतिज्ञ नील किनकको भाषण चोरेको आरोप लागेपछि अभियान त्याग्न बाध्य भएका थिए।
बाइडेनमा विदेश नीतिसम्बन्धी दशकौं लामो अनुभव छ। कूटनीतिक अनुभव बलियो पक्ष भएकाले विदेश मामिलासम्बन्धी जटिल विषय उनका लागि बढी हानिकारक हुन सक्ने देखिन्छ।
यसअघि सिनेटको विदेशसम्बन्ध समितिका अध्यक्षसमेत रहेका बाइडेनले ४५ वर्षे राजनीतिमा विश्वका सबै अग्रणी नेतासँग भेटेको दाबी गर्छन्। यसले मतदातालाई आश्वस्त पार्न सक्ने भए पनि विदेश मामिलाका विभिन्न मुद्दामा उनले विगतमा गरेका मतदानले कस्तो असर पार्ला भन्न सकिँदैन। उनले सन् १९९१ मा पहिलो खाडी युद्धको विपक्षमा मतदान गरेका थिए भने सन् २००३ मा इराक अतिक्रमणको समर्थन गरेका थिए। पछि उनले अमेरिकाको इराकमा संलग्नताको आलोचना गरेका थिए। अलि सतर्क रहन रुचाउने बाइडेनले राष्ट्रपति ओबामालाई ओसामा बिन लादेनलाई समात्ने विशेष कारबाही नगर्न सुझाएका थिए। उक्त कारबाहीमा लादेन मारिएका थिए।
प्रखर वक्ताका रूपमा परिचित बाइडेन सामान्य नागरिकसँग निकै सहज रूपमा घुलमिल हुन सक्छन्। विरोधीका नजरमा भने उनी ‘अस्ताउन लागेका घाम’ हुन् जसले बेलाबखत लाजमर्दो व्यवहार गर्छ। उदाहरणका लागि महिलाको कपाल सुँघ्ने बाइडेनको बानी छ। गत वर्ष उनले आफूहरूलाई अनुचित स्पर्श गरेको, अँगालो हालेको वा चुम्बन गरेको आरोप आठ महिलाले लगाएका थिए।
बाइडेन मतदातालाई आकर्षित गर्न सक्ने स्वभाव भएका नेतासमेत मानिन्छन्। भाषणका क्रममा भने उनी बेलाबेला चिप्लने गरेका छन्। एक भाषणमा उनले आफ्ना पुर्खाहरू पेन्सलभेनियाका कोइलाखानीमा काम गर्ने बताएका थिए। तर त्यो वास्तविकता होइन। उनले सन् २०१२ मा आफ्नो राजनीतिक अनुभवबारे बोल्दै ‘आठ जना राष्ट्रपतिलाई चिनेको र तीमध्ये तीन जना आफ्नो अत्यन्त निकट रहेको’ दाबी गरेका थिए। उनको यो दाबी गलत भएको र विचार नगरी बोलेको जनाइएको छ। ओबामाको उपराष्ट्रपतिका रूपमा सन् २००९ मा उनले ‘आफूहरूका कारण अर्थतन्त्रमा ३० प्रतिशत हानि पुर्याउने सम्भावना रहेको’ बताएका थिए।
मतदातासँगको भेटघाटमा भने बाइडेन निकै सहज रूपमा प्रस्तुत हुन्छन्। खासगरी कामदार तथा मजदुर वर्गलाई भाषणमार्फत लट्ठ पार्न सक्छन्। भाषणपछि समर्थकसँग हात मिलाउँछन् र कुनै रकस्टारले जस्तो अँगालो मार्ने वा फोटो खिचाउने गर्छन्।
बाइडेनको जन्म सन् १९४२ नोभेम्बर २० मा भएको हो। उनकी पहिलो पत्नी नेलिया र नाओमीले कार दुर्घटनामा ज्यान गुमाएका थिए। सिनेटमा पहिलो चुनाव जितेपछि शपथ लिने तयारी गर्दैगर्दा भएको दुर्घटनामा नेलिया र नाओमीको ज्यान गएको थियो भने दुई छोरा बो र हन्टर घाइते भएका थिए। बो बाइडेनको सन् २०१५ मा ४६ वर्षको उमेरमा मस्तिष्क ट्युमरका कारण मृत्यु भएको थियो। पारिवारिक शोकमा डुबेका बाइडेनप्रति सर्वसाधारण अमेरिकीले निकै सहानुभूति राख्ने गर्छन्। उक्त सहानुभूति आगामी दिनमा कायम हुन्छ कि हुँदैन भन्नेचाहिँ उनको कार्यशैलीमै भर पर्छ।
जित लगभग निश्चित :
६ राज्यको मतगणना जारी रहँदा जितका लागि महत्त्वपूर्ण मानिएका पेन्सलभेनिया र जर्जियामा बाइडेनले राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध अग्रता लिएका छन्। सबैभन्दा घना अवादी रहेको फिलाडेल्फिया क्षेत्रमा उल्लेखनीय मत पाएपछि बाइडेन २० इलेक्टोरल भोट रहेको पेन्सलभेनियामा जितको निकट पुगेका छन्। फिलाडेल्फिया क्षेत्रमा ट्रम्पले साढे ३ हजार मत पाउँदा बाइडेनले २७ हजार मत पाएका थिए। त्यहाँ अझै २० हजार मत गन्न बाँकी रहेको बताइएको छ।
‘ब्याटलग्राउन्ड’ राज्य भनिए पनि रिपब्लिकन पार्टीको पकड रहेको जर्जियामा बाइडेनले जित्ने आकलन गरिँदैछ। सहरी क्षेत्रबाट खसेका हुलाकी मतहरूको गणना जारी रहँदा बाइडेनको सम्झावना बलियो बन्दै गएको विश्लेषण गरिएको छ। सन् १९९२मा डेमोत्र्याटिक पार्टीका बिल क्लिन्टनले जितेपछिको यो दक्षिण-पूर्वी राज्यमा पहिलो डेमात्र्याटको जित हुनेछ। सन् १९९६ पछि एरिजोना राज्यमा फहिलो डेमोत्र्याट प्रत्याशीका रूपमा बाइडेन जितको नजिक छन्। चार वर्षअघि हिलारी क्लिन्टनविरुद्ध ट्रम्पको जितमा पेन्सलभेनियासहित विस्किन्सन र मिसिगनले सबैभन्दा महत्त्वपूर्ण भूमिका खेलेका थिए। सन् १९८८ पछि पहिलोपटक रिपब्लिकन उम्मेदवारका रूपमा जित हासिल गरेका ट्रम्पले यसपटक विस्किन्सन र मिसिगनमा हारिसकेका छन्।
कीर्तिमानी मतदान भएको यसपटकको निर्वाचनमा करिब १६ करोडले मतदान गरेका थिए। बाइडेनले करिब साढे सात करोडको कीर्तिमानी लोकप्रिय मत पाएका छन्। यो तथ्यांक बढ्ने देखिएको छ। कोभिड-१९ को मारलाई मध्यनजर गर्दै कीर्तिमानी १० करोड हाराहारी मत ‘अर्ली भोटिङ’का रूपमा खसेको थियो। जसमा साढे ६ करोड हुलाकी मत थिए।
पहिलो राष्ट्रपतीय बहसका अतिरिक्त अन्य अवसरमा राष्ट्रपति ट्रम्पले आफूअनुकूल नभए नतिजा नस्विकार्ने बताउँदै आएका थिए। हारको नजिक पुगेका ट्रम्पको धाँधली र नक्कली मतदाताको दाबी अर्थहीन रहेको विश्लेषकहरू बताउँछन्। उनको पार्टी पनि यस विषयमा मौन छ। जसले उनको कानुनी प्रक्रियालाई प्रभावित पार्नेछ । राष्ट्रपति ट्रम्प र उनको कानुनी टिमले केही राज्यको चुनावको सम्भावित परिणामलाई प्रभावित पार्ने नियतले रिट दायर गरिसकेका छन्।
ट्रम्पले आफूअनुकूल रहेको अमेरिकी सर्वोच्च अदालतमा जाने धम्कीसमेत दिइसकेका छन्। तर सम्बन्धित राज्यको निर्वाचन बोर्डको लिखितबिना धाँधलीको आरोपले वैधानिक लडाइँको मान्यता पाउन गाह्रो हुने बताइएको छ। नतिजा एकभन्दा बढी राज्यमा बाइडेनको पक्षमा परेकाले ट्रम्पको दाबीले खासै असर नगर्ने कानुनी ज्ञाताहरू बताउँछन्। यसपटक निर्वाचन र मतदानको संरचनालाई कोभिड-१९ ले अत्यधिक प्रभावित गर्यो जसले गर्दा नतिजा घोषणामा ढिलाइ भएको हो। मतदानलाई सहज बनाउन यसपटक धेरै कानुनी प्रक्रियालाई परिमार्जन गरियो।
अमेरिकी कंग्रेसको तल्लो सदन हाउस र माथिल्लो सदन सिनेटको मतगणना जारी छ। तल्लो सदन हाऊसमा डेमोत्र्याटहरूले बहुमत कायमै राख्ने सम्भावना छ भने सिनेटमा दुवै पार्टीको कडा प्रतिस्पर्धा चलिरहेको छ। एक सय सिट रहेको सिनेटमा अहिलेको चरणमा दुवै पार्टीको समान ४८ सिट छ। यस नतिजाले बाइडेनको कार्यकाललाई प्रभाव पार्नेछ।-कान्तिपुर।