महामारीका वेला चुनाव छाडेर सर्वसम्मत नेतृत्व चयन गर्नुपर्ने आमदबाब छ, तर सहमति गराउन लाग्नुपर्ने पूर्वअध्यक्ष, निवर्तमान अध्यक्ष, अध्यक्ष र वरिष्ठ उपाध्यक्ष नै प्यानलका संरक्षक
काठमाडौं । कोरोना महामारीको जोखिमकै बीच उद्योगी-व्यवसायीहरू नेपाल उद्योग वाणिज्य महासंघको चुनावमा होमिएका छन्। महासंघको ५४औँ वार्षिक साधारणसभा तथा निर्वाचन आगामी ११ मंसिरदेखि १३ गतेसम्म काठमाडौंमा हुँदैछ। चुनावले वरिष्ठ उपाध्यक्षसहित अन्य पदाधिकारी र कार्यसमिति सदस्य निर्वाचित गर्नेछ। अध्यक्ष पदका लागि भने निर्वाचन हुनेछैन, वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने महासंघको विधानले व्यवस्था गरेको छ। अब साधारणसभापछि वर्तमान वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वतः अध्यक्ष हुनेछन्।
महासंघको भावी वरिष्ठउपाध्यक्षका लागि उद्यमी चन्द्रप्रसाद ढकाल र किशोर प्रधानले आ-आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। अहिले ढकाल महासंघको एसोसिएट तर्फका उपाध्यक्ष हुन् भने प्रधान जिल्लानगर तर्फका उपाध्यक्ष हुन्। ढकाल र प्रधान स्पष्ट प्यानलसहित चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन्।
महासंघ निर्वाचन समितिले ५ कात्तिक देखि नै उम्मेदवार मनोनयन दर्ता सुरु गरेको छ, मनोनयन ४ मंसिरसम्म दर्ता गराउन सकिनेछ। अबको करिब दुई सातापछि हुने चुनावमा प्रधान र ढकाल दुबै समुह प्यानल बनाएर होमिएका छन्। महामारीकै बीच दुवै पक्ष चुनावी प्रचार-प्रसारमा व्यस्त छन्। दुवैले आ-आफ्नो जित निश्चित रहेको दाबी गर्दै आएका छन्।
ढकालको प्यानलबाट वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, जिल्लानगर उपाध्यक्षमा गुणनिधि तिवारी र एसोसिएट उपाध्यक्षमा रामचन्द्र संघईले उम्मेदवारी दर्ता गराएका छन्।
प्रधानको प्यानलबाट वस्तुगत उपाध्यक्षमा अञ्जन श्रेष्ठ, जिल्लानगर उपाध्यक्षमा दिनेश श्रेष्ठ र एसोसिएट उपाध्यक्षमा सौरभ ज्योति उम्मेदवार रहेका छन्।
ढकाल समूहको वस्तुगततर्फको कार्यकारिणी सदस्यमा हेमराज ढकाल, कमला श्रेष्ठ, आकाश अधिकारी, जय सिवाकोटी, सुवास भण्डारी, प्रकाशसिंह कार्की, भक्त हमाल, सुबोधकुमार गुप्ता, सुमित केडिया, रविनकुमार श्रेष्ठ र नरेशलाल श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन्।
प्रधान प्यानलको वस्तुगततर्फको कार्यकारिणी सदस्यमा अरनिको राजभण्डारी, अशोक शर्मा, विप्लवमान सिंह, विष्णु गैह्रे, दीपक दाहाल, गोविन्द ढुंगेल, माधवलाल श्रेष्ठ, महेशलाल प्रधान, मीनमान श्रेष्ठ, रामबहादुर श्रेष्ठ, शकुन्तलाल हिराचन, सन्दीप अग्रवाल, शारदा रिजाल, शिवप्रसाद घिमिरे र सुनीलगोपाल श्रेष्ठ रहेका छन् ।
प्रधान प्यानलको एसोसिएटतर्फको कार्यकारिणी सदस्य विजयसिंह वैद्य, रञ्जित आचार्य, कृष्ण दुलाल, राजेश अग्रवाल, साहिल अग्रवाल, आनन्द बगारिया, मंगेशलाल श्रेष्ठ, अशोक टिमानी, सुनीलनारायण श्रेष्ठ, ज्योत्सना श्रेष्ठ, प्रबलजंग पाण्डे, सन्दीप गाडिया, हेमन्त गोल्छा, शक्ति बेगानी र उदीप श्रेष्ठ रहेका छन्।
ढकाल प्यानलको एसोसिएटतर्फको कार्यकारिणी सदस्यमा भरत आचार्य, गोपाल खनाल, रामशरण थपलिया, अम्बिकाप्रसाद पौडेल, अजित बस्नेत, विनोद ढकाल, सुशील थापा, बाबुकाजी कार्की, कृष्णलाल महर्जन, विराट थापा, सञ्जय गिरी, अविनाश बोहरा र रामकृष्ण प्रसाईँ रहेका छन्।
जोखिम मोलेरै प्रचार-प्रसार :
कोरोना संक्रमणको जोखिमलाई नजरअन्दाज गर्दै दुवै समूह चुनावी दौडधुपमा लागेका छन्। ढकाल समूह बिहीबार सुदूरपश्चिममा चुनावी प्रचार-प्रसारका लागि निस्किएको छ। प्रधान प्यानल अहिले काठमाडौंमै चुनावी प्रचारमा व्यस्त छ। मोफसलमा जाने तयारी भइरहेको प्रधान प्यानलका जिल्ला नगर उपाध्यक्षका उम्मेदवार श्रेष्ठले बताए।
दुवै प्यानलले सम्पर्क कार्यालय नै खोलेर दैनिक भेटघाट तथा छलफल गर्दै आएका छन्। ‘जोखिम मोलेरै मनोनयन दर्ता भइरहेको छ,’ एक व्यवसायीले भने, ‘त्यसभन्दा बढी चुनावी प्रचार-प्रसार, भेटघाट र पार्टीहरू भइरहेका छन्, जसबाट कोरोना संक्रमणको जोखिम उच्च देखिन्छ।’
गत चैतमा हुनुपर्ने महासंघको ५४औँ साधारणसभा तथा निर्वाचन कोभिड-१९ का कारण स्थगित भएको थियो। पछि पटक-पटक साधारणसभा तथा निर्वाचनको मिति तोकिए पनि कोभिड-१९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेका लकडाउन तथा निषेधाज्ञाका कारण साधारणसभा हुन सकेको थिएन। तर, अहिले कोरोना संक्रमणको दर र जोखिम झन्–झन् बढिरहेकै अवस्थामा महासंघमा आबद्ध उद्योगी-व्यवसायी चुनावी मैदानमा होमिएका छन्।
सहमतिको सम्भावना कम :
उम्मेदवारी दर्ता जारी रहेकै वेला महासंघमा पुनः सहमतिको चर्चा सुरु भएको छ। केही दिनअघि बसेको पूर्वअध्यक्षहरूको भेलाले पुनः सहमतिको प्रयास गर्ने निर्णय गरेको छ, जसको नेतृत्व पूर्वअध्यक्ष रविभक्त श्रेष्ठले गरेका छन्। यसअघि पनि पूर्वअध्यक्ष श्रेष्ठकै नेतृत्वमा पूर्वअध्यक्षहरूको समूहले सहमतिको प्रयास गरेको थियो। तर, सहमति जुट्न सकेन। अहिले पुनः सहमतिका लागि पहल थालिएको श्रेष्ठले बताए। ‘अहिले महामारीको जोखिम छ, स्वास्थ्यप्रति सजग हुने वेला हो, यस्तो वेला चुनाव गरेर जोखिम बढाउनु ठीक होइन,’ उनले भने, ‘निजी क्षेत्र एकढिक्का हुनुपर्ने वेलासमेत भएकाले सहमतिमा नेतृत्व चयन गर्नु ठीक हुन्छ।’ तिहारलगत्तै वरिष्ठ उपाध्यक्षलगायत पदाधिकारीका आकांक्षीलाई बोलाएर सहमतिको प्रयास गर्ने उनले बताए।
कसको समर्थन कसलाई :
कोरोना महामारीका वेला चुनाव छाडेर सर्वसम्मत नेतृत्व चयन गर्नुपर्ने आमव्यवसायीको दबाब छ। तर, सहमति गराउन लाग्नुपर्ने पूर्वअध्यक्ष, निवर्तमान अध्यक्ष, अध्यक्ष र वरिष्ठ उपाध्यक्ष नै प्यानलका संरक्षक देखिएका छन्।
ढकालको समूहलाई पूर्वअध्यक्ष चण्डीराज ढकाल, पूर्वअध्यक्ष सुरज वैद्य, पूर्ववरिष्ठ उपाध्यक्ष भास्करराज राजकर्णिकारलगायतको साथ रहेको देखिन्छ। प्रधानलाई भने पूर्वअध्यक्ष कुशकुमार जोशी, पूर्वअध्यक्ष पद्म ज्योति, निवर्तमान अध्यक्ष पशुपति मुरारका, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छालगायतको साथ रहेको देखिन्छ।
वर्तमान अध्यक्ष भवानी राणाले यसअघि प्रधान प्यानललाई समर्थन गर्ने संकेत गरेकी थिइन्। तर, अहिले भने राणाले कुनै समूहलाई पनि खुलेर समर्थन गरेको देखिँदैन। एसोसिएटमा प्रधान प्यानल र जिल्ला नगरमा ढकाल प्यानल बलियो देखिएको व्यवसायीहरू बताउँछन्। वस्तुगतमा भने दुवै पक्ष बराबर अवस्थामा देखिएको छ।-नयाँपत्रिका।