× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
विचार/ब्लग

तिहारको महत्त्व

Simrik Online

२२ कार्तिक २०७७, आईतवार

✍️ केशव आचार्य

दीपावली तिहार नेपालीले मनाइने दोस्रो ठूलो चाड पर्वको रुपमा लिइन्छ । परापूर्वकाल देखि मानिदै आएको अत्यन्तै रमाइलो महान चाड दीपावली तिहार हाम्रो घर आँगनमा घुम्दै फेरि भित्री सकेको छ । धार्मिक , सामाजिक र सांस्कृतिक दृष्टिले महत्त्वपूर्ण मानिने दीपावली पर्व, हरेक वर्षको कार्तिक कृष्ण त्रय‍ोदशी देखि प्रारम्भ भइ कार्तिक शुक्ल द्वितीय सम्म मनाइन्छ ।

यो पर्व पाँच दिन सम्म मनाइने हुनाले यसलाई यमपञ्चक पनि भनिन्छ । यमपञ्चक लागे पछि सूर्यपुत्र एवं मृत्युकादेवता यमराज आफ्नी बहिनी यमुनाको घर मर्त्यलोकमा आएर पाँचदिन सम्म बस्छन् भन्ने शास्त्रीय मान्यता छ । यी पाँच दिनहरु यमलोकका नारकीय दु:खबाट मुक्त हुने उपाय अर्थात् यमदीपदान, यमपूजन, यमतर्पण, यमभोजन, र यमलोकको अन्धकारलाई उज्यालो पार्न गरिने यमदीपदान आदि यमराज संग सम्बन्धित धार्मिक विधि भएको हुनाले यसलाई यमपञ्चक पनि भनियो । उत्साह, उमङ्ग, मनोरञ्जन, आरोग्य, सुख, शान्ति, समृद्धि र दीर्घायु प्राप्तिका लागि पनि लिइन्छ तिहारका पाँच दिनहरु । प्रकृति र संस्कृतिको अनुपम संगम हो तिहारका पाँच दिनहरु । तिहार त्यो पर्व हो, जसमा विभिन्न उपायले स्वस्थ शरीर, धनधान्य र सुख–समृद्धिको कामना सिद्ध गरिन्छ।

अत: यस वर्षको तिहारको शुभ अवसरमा पनि सधैंका वर्षहरुझैं , मखमलीमाला, सयपत्रीफूल, सप्तरंगी टिका, ओखर, कटुस, विमिरो, लावा, सेल, पुरी, रोटी, फिनी, ठोकनी, मिठाई , चिउरा, पानमसाला, दूबो, तेल, बाबियो, तोरणमाला, लालपाती, कलश, दीया र बसुधारा आदि बस्तुले क्रमशः कागतिहार, यमपूजा, यमतर्पण, कुकुर तिहार, धन्वन्तरी पूजा, लक्ष्मी पूजा, गाइतिहार, गोरुतिहार, गोवर्धन पूजा, बलि पूजा, अष्टचिरञ्जीवि पूजा, नवग्रहपूजा, चित्रगुप्त पूजा, यमुनापूजा, भाइतिहार भाइपूजा गरि भैल‍ो देउसीको शुभ आशीष लिंदै न्यानो स्वागत गरि आफ्नो धर्म संस्कार संस्कृति र परम्परालाई जीवन्त बनाउन हर्षोल्लासका साथ मनाउने धार्मिक परम्परा रहेको छ ।

तिहारको पहिलो दिन कागतिहार :

कागलाई यमदूतको प्रतीक मानिन्छ । यो चिरञ्जीवी पक्षी हो । शुभ र अशुभ सन्देश वाहकको रुपमा यसलाई मानिन्छ, नौडांडा पारि बसेकी चेलीबेटीलाई उसको माइतीघरको समाचार सुनाउने कागलाई तिहारको पहिलो दिन मीठा-मीठा अन्न दिने गर्दछन् । काकबलि द्वारा कागलाई पूजाआजा गरि खाने कुरा अन्नबाली दिएर प्रसन्न पार्नाले मृत्युपछि यमलोक जानुपर्दैन भन्ने धार्मिक विश्वास रहिआएको छ र कागले अन्न बलि खाई वर्ष भरिनै शुभ सन्देश दिन्छ भन्ने पनि विश्वास गरिन्छ । सोही दिन सायं कालमा यमलाई सम्झेर निम्तो स्वरुप यमदीपदान गरिन्छ । यमराजको स्वागतका लागि दीपबालि उज्यालो पारिन्छ सायंकालमा घरको मूलढोकाबाट बाहिर सम्म दीप बालिन्छ र प्रार्थना गरिन्छ, परिवारमा सबैको दीर्घायु आरोग्य एवं सुख समृद्धि प्राप्ति र दुर्घटना अकालमृत्यु जस्ता संकट निवारण होस् भन्ने कामना गरिन्छ । कार्तिक कृष्णपक्षको त्रयोदशीलाई धनत्रयोदशी अर्थात् धन्तेरस पनि भनिन्छ । यस दिन सुनचाँदीका गरगहना आदि र भाँडाकुँडा किन्ने परम्परा रहेको छ।

धन्वन्तरि जयन्ती, पौराणिक प्रसंगअनुसार आजकै दिनमा भगवान् विष्णु आयुर्वेदका प्रवर्तक धन्वन्तरिको रुपमा अवतार लिएर प्रकट हुनुभएको थियो। देवता र असुरद्वारा समुद्रमन्थनका क्रममा हलाहल, कामधेनु, ऐरावत, उच्चैःश्रवा अश्व, अप्सरा, कौस्तुभमणि, वारुणि, महाशंख, कल्पवृक्ष, चन्द्रमा, लक्ष्मी, कदलीवृक्ष आदिको उत्पत्तिपछि अन्त्यमा धन्वन्तरिको प्रादुर्भाव भएको हो। हातमा अमृतले भरिएको सुवर्णकलश लिएर चतुर्भुज धन्वन्तरि प्रकट भएका थिए। अमृत वितरणपछि देवराज इन्द्रको अनुरोधमा देववैद्यको पद स्वीकार गरी स्वर्गमा बस्न थाले। यसर्थ आयुर्वेद अर्थात् औषधिविज्ञानका प्रवर्तक धन्वन्तरिलाई आजकै दिनमा आरोग्यका देवताको रूपमा पूजा गर्ने परम्परा रहेको छ ।

तिहारको दोस्रो दिन कुकुर तिहार :

कुकुर स्वामीभक्त घरपालुवा एक इमानदार पशु हो । घरको चौबीसै घण्टा सुरक्षा गर्ने सजग प्राणी हो ।घरको मात्रै नभएर देशको पनि संरक्षक गर्ने एउटा इमानदारी प्राणी हो । व्यवहारमा मानिसको आज्ञापालक, सहयोगी र संरक्षणका रुपमा कुकुरलाई लिइन्छ । घरको रेखदेख सुरक्षा देखि अपराध निवारण र अपराधीलाई नियन्त्रण गर्ने विशेष अनुसन्धान सम्मका क्रियाकलापमा मानिसलाई सहयोग पुर्‍याउने कुकुरलाई सम्मान गर्ने पर्वको रुपमा कुकुर तिहारलाई लिइन्छ । कुकुरमा पनि धेरै प्रकारको गुण निहित छ । देख्न सक्ने शक्ति र घ्राण शक्ति भएको प्राणी हो । कुकुर तिहारको दिन कुकुर लाई मीठो खुवाउने र गलामा माला लगाई सम्मान गर्ने गरिन्छ । कुकुर भैरवको वाहन पनि हो । पाँच पाण्डव स्वर्गारोहण गर्दा यमराज कुकुरको रुपमा पछि लागेको प्रसंग अनुसार कुकुर यमराजको प्रतीक पनि मानिन्छ, कुकुरलाई विधिवत् पूजा गरी माला लगाएर स्वादिष्ट खानेकुरा खान दिइन्छ । पौराणिक प्रसंगअनुसार यमलोकमा यमराजको द्वारपालका रूपमा रहने कुकुरलाई आजको दिनमा यसरी सम्मान गर्नाले मृत्युपश्चात् यमराजबाट मार्गप्रशस्त गरी स्वर्ग जाने बाटो देखाइदिने विश्वास गरिन्छ। द्वापरयुगको अन्त्यमा धर्मराज युधिष्ठिरलाई कुकुरले स्वर्गको ढोकासम्म पुर्याएको सन्दर्भ र इतिहास पुराणमा रहेको छ।

कुकुर तिहारको दिनलाई नरकचतुर्दशी पनि भनिन्छ । यसदिन विहान नदीमा गई शरीरमा तेल लगाएर स्नान गर्ने नियम छ । यसदिन नरकबाट मुक्ति प्राप्त गर्न तेल दलेर स्नान गर्दा सम्पूर्ण रोग र पापहरुनष्ट हुन्छ भन्ने विश्वास गरिन्छ । यस दिन घसिने तेलमा लक्ष्मीको बास र स्नान गर्ने जलमा गंगाको बास हुन्छ भन्ने शास्त्रीय मान्यता छ । यस दिन नरकका नाममा चारवत्ती बालि टपरीमा अपामार्ग, टोप्रेझार, फलाम र मास राखि शरीरमा घुमाई बगाउने प्रचलनलाई नरके बगाउनु पनि भनिन्छ, यसरी बगाउनाले नरक जानू नपर्ने जन विश्वास रहिआएको छ, साथै यसैदिन यमराजलाइ सम्झी तर्पण दिने प्रचलन छ ।

तिहारको तेस्रो दिन लक्ष्मी पूजा र गाई तिहार :

सुख, सम्पत्ति, ऐश्वर्य तथा धन धान्यकी अधिष्ठात्री देवी लक्ष्मीको विशेष रुपमा वैदिक विधिबाट षोडसोपचारले पूजा गरिन्छ । सुख शान्ति र धनधान्य समृद्धि अभिवृद्धिको मनोकामना सहित अौंसीका दिनमा वैदिक विधि द्वारा लक्ष्मी माताको पूजा अर्चना गरि आफ्नो दराज, तिजरी, भण्डार, खाता आदिमा स्वस्ति चिन्ह लेखी पूजा गर्ने विधान छ । लक्ष्मीको स्वागत गर्दै सोह्र बत्ती बाली घर आँगन संघार दैलो सफा राखि लक्ष्मी माताको चिन्ह र विभिन्न प्रकारका रंगले रेखा बनाई घरको मूल ढोका भएर पूजा कोठा सम्म पुग्ने गरिन्छ । यसरी स्वागत गर्नाले गृहस्थको घरमा लक्ष्मी प्रवेश गर्नु हुन्छ भन्ने विश्वास रहिआएको छ । लक्ष्मीलाई धन धान्यकी देवी एवं ऐश्वर्यकि प्रतीक मानिन्छ । कार्तिक कृष्ण अौंसीको रातलाई अत्यन्त अध्यारो रातको रुपमा लिइन्छ । यो अन्धकार रातलाई उज्यालोको प्रकाशले आलोकीत पार्दै घर घरमा बत्ती बाली दीपावली हुन्छ, दीप+अवली अर्थात् दीयाको लस्कर बाली अमावस्याको रात्रिमा लक्ष्मीको आव्हान गरिन्छ । यस दिन लक्ष्मीस्वरुपा चेलीबेटीहरुले गृहस्थको भलै हओस् भन्दै घरघरमा भैली गाउने पनि गर्दछन् । यसरी अौंसीको दिनमा भैली गाउने चेलीबेटीहरुलाई कार्तिक मासको यथाशक्य घरबेटीले दान गर्ने गर्दछन् । अज्ञानरुपी अन्धकार लाई आफूमा अन्तर्निहित चेतना शक्तिको प्रकाशले हटाई ज्ञानको दीप बालौं र ज्ञानको पथमा अघि बढौं यही सन्देश हो दीपावलीको ।

भगवान रामचन्द्रले लोककल्याणको भावनाले रावणादि विविध असुरहरूको नाश गरेपछि कार्तिक कृष्ण औंसीको दिन अयोध्या आगमनमा र राजाका रूपमा राज्यारोहण गरेको खुसीयालीमा अयोध्यावासीले दीपावली गरेको प्रसङ्ग होस् या यमराजले यमपञ्चकका पाँच दिन आफ्नी बहिनी यमुनाकहाँ बसेका कारण होस् मृत्यु हुने कुनै मानिसले नरक देख्नुनपर्ने विश्वासमा खुसी मनाउँदै दीपावली गर्ने प्रचलन आरम्भ भएको मानिन्छ ।

यसै दिन विहान गाई पूजा गरि गाई तिहार मनाइन्छ । गाईले मनुष्यलाई वैतरणी जस्ता नरकको दु:खबाट पार लगाउने हुनाले पनि गाईको विशेष पूजाआजा गरिन्छ । “गावो विश्वस्य मातर:” गाई संसारकी आमा हुन् । गाईको अंग अंगमा सम्पूर्ण देवी देवताको बाँस हुन्छ । गाईको दूध, दही , घ्यू, गोबर र गहूँत समेत पूजा आजा यज्ञकार्यमा अनिवार्य प्रयोग गर्ने गरिन्छ भने अर्को पक्षमा मनुष्यलाई जन्म देखि मृत्युुपर्यन्त कल्याणकारी भएको हुनाले वैदिक सनातन हिन्दू धर्मावलम्बी हरुले गौ लाई माता भनी आमाको स्थान दिई मान सम्मान र पूजाआजा गर्ने गरिन्छ।

गाई हाम्रो आध्यात्मिक महाप्राण हो । जन्मदेखि मृत्युुपर्यन्त सम्म सबै संस्कारहरु र अन्य कुनैपनि धार्मिक वा सामाजिक संस्कार एवं कृत्यहरुमा गाईको गोबर, पञ्चामृत, पञ्चगव्य, दही , घ्यू आदि अनिवार्य रुपमा चाहिन्छ । संस्कार गर्नु अघि विहान घर आँगन, दैलो, पूजाकोठा लिपपोत गरि गाईको गहूँत सबै तिर छर्केर आफ्नो घरकोठा पवित्र तुल्याउने परम्परा रहिआएको छ । यी कुराहरू नभएमा आध्यात्मिक संस्कार र धर्म विधानको मूल उद्देश्य ठप्प हुन्छ। तसर्थ गाईलाई माताक‍ो रुपमा स्थान दिइ गाईलाई पूजाआजा गरिएको हो । गाईको महत्त्व र जीवनदायिनी गोरसको महत्त्वलाई बुझौं र जीवनलाई निरोगी बनाअौं । यसैदिन तोरण, माला, केराका बोट, आँप, पिपलका पात, लालपाती, फूल मालाले, घर आँगन र गोठ सजाइन्छ।

तिहारको चौथो दिन गोवर्धन पूजा र गोरु तिहार :

तिहारको चौथो दिनमा गाईको गोठ वा पवित्र स्थानमा गोबरको गिरिराज बनाएर त्यसलाई विभिन्न फूलपातीले सिँगार गरि छपन्न व्यन्जन तयार पारि गोवर्धन पूजा गरिन्छ । रुख वृक्ष पहाड पर्वतबाट मनुष्यलाई जिउनको लागि कति ठूलो योगदान मिलेको छ यसर्थमा पनि वनस्पति रुख बृक्षहरुलाई सम्मान गर्ने गरिन्छ ।

यसैदिन दिन गोरु तिहार पनि मनाइन्छ । गोरुलाई हातको पञ्जा वा फूलका थुँगाले रंगी चंगी छाप लगाई दिने र मीठा मीठा अन्न दिई, फूलमाला लगाई गोरुको पूजा गरिन्छ । गोरु धर्मको स्वरुप हो । गोरुबाट मानिसलाई जीवन यात्रामा ठूलो सेवा पुर्‍याउदै आएकोले उनिहरुलाई सम्मान स्वरुप पूजाआजा गरि गोरुतिहार मनाउने गरिन्छ । उनिहरुबाट कतिठूलो सहयोग प्राप्त भएको छ त्यसको गुण सम्झी मान सम्मान गर्नु हाम्रो धर्म र कर्तव्य हो ।

तिहारको पाँचौ दिन भाइ तिहार – अर्थात् तिहारको अन्तिम दिन :

कार्तिक शुक्ल द्वितीयालाई भाइटीका वा भाई तिहार भनिन्छ । यस दिन दाजुभाइहरुलाई दिदीबहिनीहरुले आफ्नो हातबाट सुख, शान्ति, समृद्धि, स्वास्थ्य, दीर्घायु, उल्लास र उमंगको प्रतीक स्वरुप मानिने सप्तरंगी रंगको टीका निधारमा र कहिले नअ‍ोइलाउने प्रेमको प्रतीक मखमलि र सयपत्रि फूलको मालाले गलामा सजाइ मेरा भाईको शिर सदा उँचो रहोस् भनेर हिमालयको प्रतीक ढाका टोपी लगाई दिएर दिदीबहिनीले दाजुभाइलाई आसनमा राखि दूवो र फूललिई पानी र तेलले छेकी दाजुभाइको विधिवत रुपमा पूजाआजा गरि दीप, कलश, गणेश, नवग्रह र यमराज एवं अष्टचिरञ्जीविको साथै यमुनाको समेत वैदिक विधि अनुसार पूजाअर्चना गरि संघारमा ओखर फोरि दाजुभाइको दीर्घायुको कामना गर्दै काम, क्रोध, लोभ, मोह आदि गरेका मेरा दाजुभाइका शत्रुहरुको नास होस् भनेर प्रार्थना गर्दछन्। दाजुभाइले पनि उपहारका साथ दिदीबहिनीहरुको सम्मान गर्दछन् । दाजुभाइ र दिदीबहिनीको प्रेम अटूट् रहोस् भन्ने कामना पनि गर्दछन् ।

मृत्युदेव यमराजकी बहिनीले यमुनाले यही दिन आफ्ना दाजु यमराजलाई पूजा आजा गरि इच्छाभोजन गराई खुसी पारि सम्पूर्ण दाजुभाइको दीर्घायु तथा सुख शान्ति र समृद्धिको माग गरेको र यमराजले पनि बहिनीका मागलाई स्वीकार गरि बरदान दिएको हुनाले यो पर्व सर्वमान्य र लोक कल्याणकारी बन्न पुगेको हो । दिदीभाइ र दाजुबहिनी बीचको अगाध माया र सद्भाव पूर्ण पर्व हो भाइतिहार । दिदीबहिनी प्रति दाजुभाइको र दाजुभाइ प्रति दिदीबहिनीको माया र प्रेम युगयुग सम्म अटल रहोस् भन्ने कामना गर्दछन् ।

यसरी चाडपर्व मान्ने र मनाउने गर्नाले मानसिक, शारीरिक, बौद्धिक विकास हुने, प्रसन्नता, हर्ष, उमंग, भेटघाट र सम्बन्ध गाढा हुने, आत्मीयता, प्रेम, दया, करुणा र जातीय प्रेम बढेर जाने, आफ्नो धर्मसंस्कार संस्कृतिको संरक्षण हुने, जाति धर्म र समाजको मान सम्मान र उत्थान हुने, त्यसैगरी आफू र आफन्त, परिवार एवं छर छिमेकी सबैमा एकता संगठन, मेलमिलाप हुने जस्ता वातावरणको सृजना गराउँछ तिहार पर्वले । यसरी नै पर्व भित्र रहेको महत्त्व र रहस्यलाई गहिरिएर भित्री अर्थ बुझी मान्ने र मनाउने गर्‍यौं भने यो लोक तथा परलोक समेत सुधार हुनेछ भन्ने शास्त्रीय मान्यता रहेको छ ।

संसारमा कसैलाई पनि दु:ख, कष्ट, असह्यपीडा, भोक, शोक, रोग, हिंसा, हत्या, छल, कपट, अधर्म, अत्याचार, दुराचार आदिबाट दूर राखि, सबैमा दया, करुणा, माया, प्रेम, सद्भावना, सद्विचार, सद्ज्ञान, सामाजिक सेवा, परोपकारी भावना, प्रभु भक्ति, ईश्वरमा आस्था, शान्ति, मेलमिलाप र भाइचाराको भावना बढोस् ।

सबैमा वैदिक सनातन धर्म प्रति आस्था, विश्वास र श्रद्धा बढेर जाओस् । अज्ञान अन्धकार अविद्या देखि दूरभइ उज्यालो प्रकाश ज्ञानको दीप भित्री हृदयमा जलोस्, सम्पूर्ण नेपालीहरुमा मेलमिलाप र खुसीको लहर छाओस् यही शुभकामना छ ।

लक्ष्मी बसुन घर घरमा, सरस्वती बसुन मुखमा
आशीष हाम्रो लागोस राम्रो, नपरुन कोही दु:खमा
दीर्घायु र धन धान्य मिलोस सदा
यस पालीको तिहारैको मंगलमय शुभकामना ।
(लेखक आचार्य, संस्कृत स्नातक सेवा मण्डली, थाइल्यान्डका अध्यक्ष हुनुहुन्छ)