बुटवल । अर्थमन्त्री बिष्णु पौडेललाई बुटवलमा अर्थमन्त्री पदसँग प्रदेशको स्थायी राजधानी साटेको भन्दै कालो झण्डा देखाइएको छ । काँग्रेसको भातृ संगठन नेपाल तरुण दल र नेविसंघका युवाहरुले अर्थमन्त्री तथा नेकपा महासचिव पौडेललाई कालोझण्डा देखाएर बिरोध गरेका हुन् ।
बुटवलको नेपालगञ्ज रोडस्थित तिनाउ पुल नजिकै तरुण दल र नेविसंघका युवाहरुले पौडेल बिरुद्ध कालोझण्डा देखाउँदै केहीबेर नाराबाजी समेत गरेका थिए । अर्थमन्त्री पदसँग राजधानी साटेर जनता झुक्काउन पाइदैन, बिष्णु पौडेल मुर्दावाद, जस्ता नारा युवाहरुले लगाएका थिए । मंगलबार बुटवल आएका पौडेल आफ्नो निर्वाचन क्षेत्रमा पर्ने सैनामैना मावि रानीबगीया र पर्रोहा मावि मुर्गीयाको भवन उद्घाटनकालागि जाँदै थिए ।
प्रदर्शनमा उत्रेकाहरुलाइ प्रहरीले तत्कालै सडक किनारमै रोक्न सफल भएपछि पौडेल कार्यक्रम स्थलतर्फ लागेको प्रहरीले जनाएको छ । संसदीय निर्वाचनमा बुटवललाई स्थायी राजधानी बनाउने मुख्य एजेण्डा लिएर बुटवलबाट चुनाव जितेका नेता पौडेलले अर्थमन्त्री पदसँग राजधानी साटेको आरोप लाग्दै आएको छ ।
प्रदेश राजधानीका लागि आफ्नो उम्मेद्वारी भएको भन्दै संसदीय चुनावमा भोट मागेर जितेका पौडेलले बुटवलबाट राजधानी दाङ सारीएपछि मौनता साँध्दै आएका थिए । अर्थमन्त्री भएपछि पहिलो पटक बुटवल आएका पौडेलले हिजो पहिलो पटक पत्रकार सम्मेलन गरी सो आरोपको खण्डन गरेका थिए ।
आफूलाइ प्रधानमन्त्रीले योग्य ठानेर नै अर्थमन्त्री बनाएको भन्दै संवैधानिक ढंगले निर्णय भइसकेको विषयमा अल्झिनुको कुनै अर्थ नभएको बताएका छन् । उनले स्थायी राजधानी दाङलाई स्वीकार गर्दै रुपन्देही, कपिलवस्तु र नवलपरासीलाई समेटेर आर्थिक तथा साँस्कृतिक राजधानी बनाउने प्रदेश सरकारको निर्णयलाई साकार बनाउने बताएका थिए ।