काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ५४औं साधारणसभाले यतिबेला धेरैको ध्यानाकर्षण गरेको छ । बिहिबारबाट सुरु हुने साधारणसभाले महासंघको भावी नेतृत्व चयन गर्ने भएका कारण पनि उद्योग बाणिज्य क्षेत्रमा कृयाशील ब्यक्तिहरु परिणाम आफ्नो पक्षमा पार्न यतिबेला तीब्र दौडधूप गरिरहेका छन् ।
नेपाल उद्योग बाणिज्य महासंघको बैधानिक प्राबधान अनुसार हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा आगामी कार्यकालका लागि स्वत: अध्यक्ष हुने भएका कारण पनि निर्बाचनमा वरिष्ठ उपाध्यक्ष पदका प्रतिस्पर्धी चन्द्रप्रसाद ढकाल र किशोर प्रधान यतिबेला मतदाताहरुलाइ आफूतर्फ आकर्षित गर्ने अभियानमा जुटेका छन् । साधारणसभाका क्रममा हुने निर्बाचनमा यसपटक जसले वरिष्ठ उपाध्यक्षको पद सुरक्षित गर्यो उही महासंघको भावी अध्यक्ष हुने भएकाले पनि ढकाल र प्रधानबीचको प्रतिस्पर्धालाई कौतुहलतापूर्बक हेरिएको छ ।
वरिष्ठ उपाध्यक्ष पदका प्रत्यासी प्रधान समूहका समर्थक ब्यबसायीले साधारणसभा रोक्न माग गर्दै सर्बोच्च अदालतमा दायर रिटमा अन्तरिम आदेश जारी भएन भने यो साधारणसभामा ढकाल समूहको पल्लाभारी हुने पर्यबेक्षकहरुको अनुमान छ । विभिन्न कारणले यसअघि पनि पटकपटक स्थगित हुँदै आएको महासंघको साधारणसभा रोक्न माग गर्दै प्रधान समूहका समर्थक सर्बोच्च पुग्नुको कारण पनि पराजित मानसिकताको उपज भएको उद्योगी- ब्यबसायीहरुको निष्कर्ष छ ।
राष्ट्रिय अन्तर्राष्ट्रिय सम्पर्क र सम्बन्धका आधारमा पनि ब्यबसायीहरुको हितमा काम गर्न सक्ने क्षमता ढकाल समूहका उम्मेद्वारहरुमा रहेको आम ब्यबसायीको बुझाइ रहेका कारण पनि निर्बाचनमा यो समूहले बाजी मार्ने अनुमान धेरैको छ ।छोटो समयमै सफल ब्यबसायको नेतृत्व गरेका ढकाल आफैं देशब्यापी सञ्जाल बनाउन सफल उद्यमी हुन् । ढकाल नेतृत्वको आइएमी शहरमा मात्र नभएर दूरदराजका गाउँहरुमा पनि स्थापित छ ।यसै सञ्जालमार्फत पनि ढकाल समूहलाई मुलुकभरकै ब्यबसायीहरुसँग सम्पर्क र सम्बन्ध स्थापित गर्न प्रधान समूहभन्दा सहज भएको एकथरीको बुझाइ छ । त्यति मात्र नभएर विभिन्न ब्यबसायिक समूह र संघ संस्थाको नेतृत्व सम्हालिरहेका ब्यक्तिहरु ढकालको पक्षमा कृयाशिल ब्यक्तिहरु छन् । ब्यबसायीहरुको बिश्वास जित्न सफल खारिएका ब्यबसायीहरुले ढकाल समूहबाट उम्मेदवारी दिएका कारण पनि यो निर्बाचनमा जित हाँसिल गर्न प्रधान समूहलाई फलामको च्यूरा चपाउनुसरह हुने धेरैको ठम्याइ छ ।
ढकाल समूहबाट बस्तुगत उपाध्यक्ष कार्यसमिति सदस्य उम्मेद्वार उमेशलाल श्रेष्ठ, कमला श्रेष्ठ, प्रकाश सिंह कार्की, हेमराज ढकाल, रबिन कुमार श्रेष्ठ, जयप्रसाद शिबाकोटी, आकाश अधिकारी, सुमित केडीया, सुबोधकुमार गुप्ता, नरेशलाल श्रेष्ठ, भक्तबहादुर हमाल, सुभाष भण्डारी, हरी कार्की, रामकृष्ण श्रेष्ठ, सुर्यबहादुर मगर लगायतका प्रतिष्ठित ब्यबसायीहरु उम्मेदवार रहेका छन् । आ-आफ्नो क्षेत्रमा प्रतिष्ठित र स्थापित ब्यबसायीहरुको यो समूहलाई महासंघको नेतृत्व हस्तान्तरण गर्न सके नेपालको औद्योगिक र आर्थिक बिकासका लागि यो साधारणसभा कोसे ढुंगा साबित हुने ब्यबसायीहरुको तर्क रहेको छ ।
बर्तमान अध्यक्ष भवानी राणा र भावी अध्यक्ष शेखर गोल्छाको फोटोको दुरुपयोग गर्दै निर्बाचनको प्रचार गरेकोप्रति ब्यबसायीहरु प्रधान समूहसँग रुष्ट छन् । प्रधान समूहको यो कृत्यप्रति हालका वरिष्ठ उपाध्यक्ष गोल्छाले साँधेको मौनता पनि आश्चर्यजनक भएको उनीहरूको टिप्पणी छ । तुलनात्मक रूपमा प्रधान समूह भन्दा बलियो रहेको ढकाल समूहले महासंघमा बाजि मार्दा उत्पन्न हुनसक्ने चुनौतीको मूल्यांकन नगरी गोल्छा एउटा समूहको पछि लाग्नु दुर्भाग्यपूर्ण रहेको ब्यबसायीहरु बताउँछन् । गोल्छा र प्रधानमा दुरदर्शिता छैन भन्ने कुराको यो एउटा गतिलो उदाहरण भएको पर्यवेक्षकहरुको टिप्पणी छ ।
‘समृद्धिको आधार-निजि क्षेत्र साझेदार’ भन्ने नाराका साथ चुनावी मैदानमा होमिएको ढकाल समूहले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर रोजगार वृद्धि गर्नु र देशमै आवश्यक दक्ष जनशक्ति उत्पादन गरेर बैदेशिक रोजगारीलाई निरुत्साहित गर्नुपर्ने धारणा अघि सारेको छ । नारामा मात्रै नभएर व्यबहारमै यसको कार्यान्वयन गर्न सके आर्थिक विकाससँगै बेरोजगारी र परनिर्भरता हटेर जाने ढकाल समूहको मूल एजेन्डासँग अधिकांश मतदाताहरु सहमत भएका कारण पनि यो समूहको जित सुनिश्चित रहेको ठानिएको छ ।