× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
अन्य

पशुपतिनाथ मन्दिर पुस १ गतेदेखि खुला गरिने

Simrik Online

१४ मंसिर २०७७, सोमबार

द्रोण बास्तोला, काठमाडौं । कोरोना भाइरस संक्रमणको शुरुवात भएसँगै गत चैतदेखि बन्द रहेको भगवान श्रीपशुपतिनाथको मन्दिर आगामी पुस १ गतेदेखि भक्तजनका लागि खुला गरिने भएको छ। स्वास्थ्य सुरक्षाका विधि अपनाएर भौतिक दुरी कायम गरी पुस १ गतेदेखि मन्दिर खोल्ने निर्णय गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।

आगामी पुस १ गते देखि मन्दिर छिर्न चाहने भक्तजनहरुले पालना गर्नुपर्ने नियम सम्बन्धी मापदण्ड समेत पशुपति क्षेत्र विकास कोषले तयार पारेको कोषका सदस्यसचिव डा.प्रदीप ढकालले जानकारी दिएका छन्।
कोषका सदस्यसचिव ढकालका अनुसार भक्तजनलाई एउटा ढोकाबाट प्रवेश गराई अर्कोबाट निकाल्ने गरी व्यवस्था मिलाइने छ।

संसारभर फैलिएका सनातन हिन्दू धर्मावलम्बीले ज्योतिर्लिङ्गको पनि ज्योतिर्लिङ्ग अर्थात् महाज्योतिर्लिङ्गका रुपमा आस्था राख्ने भगवान श्रीपशुपतिनाथको मन्दिर विगत ९ महिनादेखि बन्दहुँदा भक्तजनले मन्दिरमा दर्शन गर्न पाएका थिएनन्।

(पशुपति मन्दिर बन्द भएपछि मन्दिरको बाहिरी भागमा मन्दिर खोल्न दवाव दिने उद्धेश्य सहित पूजा गर्दै ‘विश्व हिन्दु महासंघ’का महासचिव शम्भुहरि बास्तोला लगायतका भक्तजनहरु)

सार्वजनिक यातायातलगायत अन्य क्षेत्र खुला हुँदा पनि भगवान श्री पशुपतिनाथको मन्दिर खुला नभएको भन्दै विश्व हिन्दू महासंघ लगायतका धार्मिक सङ्घसंस्थाहरुले पशुपति क्षेत्रमा विभिन्न विरोधका कार्यक्रमसमेत सञ्चालन गर्दै आएका थिए।

कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेपछि चैत ११ गते सरकारले बन्दाबन्दीको निर्णय गरेसँगै पशुपतिनाथ मन्दिर भक्तजनका लागि पूर्णरुपमा बन्द गरिएको थियो। पशुपतिनाथ मन्दिरमा दर्शन गर्न नपाइएको भन्दै भक्तजनले गुनासो गर्ने गरेका थिए। भक्तजनहरुले मन्दिरमा पूजाआजा दर्शन गर्न नपाएपछि पटकपटक पशुपति क्षेत्रको परिक्रमा गरेर आस्था प्रकट गर्ने गरेका थिए। गत चैत पछि भगवान श्रीपशुपतिनाथको नित्यपूजा आरती चलिरहे पनि भक्तजनले विशेष पूजा र दर्शन गर्न भने पाएका थिएनन्। अब स्वास्थ्य सतर्कता सहित विशेष पूजा र दर्शन गर्न पाईने भएको छ।