काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा कोभिड-१९ जोखिमबीच पनि सतर्कता अपनाएर प्रत्यक्ष कक्षा सञ्चालन हुने भएको छ। त्रिवि कार्यकारी परिषद् बैठकले स्वास्थ्य मापदण्ड पूरा गरेर सम्भव भएसम्मका शैक्षिक संस्थामा प्रत्यक्ष कक्षा सञ्चालन गर्ने निर्णय लिएको हो। प्रत्यक्ष सम्भव नभएका ठाउँमा अनलाइन कक्षालाई निरन्तरता दिइने निर्णय पनि परिषद्को छ।
कोभिड-१९ महामारीका कारण गत चैतदेखि शैक्षिक संस्था बन्द भएका थिए। लकडाउन सुरु भएको केही समयपछि अनलाइन कक्षा सञ्चालनमा ल्याइएको थियो। तर, अनलाइन कक्षामा माथिल्लो तह र प्राविधिक विषयमा विद्यार्थीको उपस्थिति राम्रो भए पनि स्नातक तहका गैरप्राविधिक विषयमा सहभागिता न्यून थियो। तल्लो तहका अधिकांश विद्यार्थीको अवस्थासमेत पहिचान हुन सकेको थिएन।
स्थानीय निकायसँग समन्वय गरी कोरोना जोखिम नियन्त्रणका लागि आवश्यक पूर्वतयारी र सतर्कता अपनाएर प्रत्यक्ष कक्षा सञ्चालन गर्ने निर्णय गरिएको त्रिविका शिक्षाध्यक्ष प्रा.डा.शिवलाल भुसालले बताए। ‘अनलाइनबाट सम्भव नभएका ठाउँमा प्रत्यक्ष कक्षा सुरु गर्ने पहिलो प्राथमिकता हो,’ शिक्षाध्यक्ष भुसालले भने, ‘धेरै जोखिम भएका र प्रत्यक्ष कक्षा सम्भव नभएका ठाउँमा अनलाइन पठन-पाठन निरन्तर सञ्चालन हुन्छ।’ त्रिविले सम्भव भएसम्म प्रत्यक्ष र नभए मात्र वैकल्पिक विधि प्रयोग गरी नियमित कक्षा सञ्चालन गर्न आग्रह गरेको छ। प्रत्यक्ष कक्षा सञ्चालन नहुँदा विपन्न परिवार र इन्टरनेटको पहुँच नभएका समुदायका विद्यार्थी पठनपाठनबाट वञ्चित थिए। परीक्षालगायत शैक्षिक गतिविधि सञ्चालनमा आएसँगै पठनपाठन पनि प्रत्यक्ष नै सुरु गर्न लागिएको हो।
रोकिएका परीक्षा धमाधम हुँदै :
आठ महिनाअघिदेखि रोकिएका परीक्षा त्रिविले धमाधम लिन थालेको छ। कोभिड महामारीकै बीच स्वास्थ्य सावधानी अपनाएर परीक्षा नियन्त्रण कार्यालय र डिन कार्यालयहरूले परीक्षा लिन थालेका हुन्। परीक्षा केन्द्रमा पुग्न सक्ने कोरोना संक्रमित विद्यार्थीलाई अलग्गै राख्ने र नसक्नेलाई प्रमाणका आधारमा पछि लिने व्यवस्था पनि मिलाइएको छ। त्रिवि परीक्षा नियन्त्रण कार्यालय, बल्खुले २८ मंसिरदेखि वार्षिक प्रणालीका विज्ञान, व्यवस्थापन र शिक्षाशास्त्र संकायअन्तर्गत स्नातक तह चौथो वर्षको परीक्षा सञ्चालन गर्दैछ। पनिकाको परीक्षा केन्द्रबाट आवेदन भरेका सबै संकायका विद्यार्थीको पनि परीक्षा सञ्चालन हुँदैछ।
गत १६ वैशाखदेखि सञ्चालन हुने तय भएर स्थगित भएका परीक्षा आठ महिनापछि हुन लागेका हुन्। त्रिवि मानविकी तथा सामाजिकशास्त्र संकायले थोरै विद्यार्थी भएका केही विषयको परीक्षा यसअघि पनि लिएको थियो।
२८ मंसिरदेखि सुरु हुने परीक्षामा विद्यार्थीहरू घरपायक केन्द्रबाटै सहभागी हुन सक्नेछन्। आवतजावतमा कठिनाइ र कोरोना संक्रमणको जोखिम कम गर्ने उद्देश्यले त्रिविले घरपायक केन्द्रबाट परीक्षा दिने व्यवस्था मिलाएको हो। घरपायकका लागि आवेदन नदिएका परीक्षार्थीले भने तोकिएकै केन्द्रमा पुग्नुपर्नेछ। मंसिर अन्तिम सातादेखि हुन लागेको स्नातकोत्तर तहका सेमेस्टर प्रणालीका परीक्षामा भने डिन कार्यालयअनुसार फरक व्यवस्था गरिएको छ।-नयाँपत्रिका।