× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
फिचर

ओलीको अनुपस्थितिमा धुम्बाराहीको कडा सुरक्षा घेराभित्र नेकपा स्थायी कमिटी बैठक बस्दै

Simrik Online

२० मंसिर २०७७, आईतवार

काठमाडौं । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा दिउँसो १ बजे बैठक शुरु हुने कार्यतालिका भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठकलाई लक्षित गर्दै पार्टी कार्यालय धुम्बाराही क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । धुम्बाराहीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका डीएसपीको कमाण्डमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । पार्टी कार्यालय भित्र सम्बन्धित नेता बाहेक सञ्चारकर्मीलाई समेत पार्टी कार्यालयमा प्रवेश दिइएको छैन ।

बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी ओली भने सहभागी रहेका छैनन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आजको बैठकमा ओली सहभागी नहुने जानकारी दिएका छन् । नेताहरुले केही समय ओलीलाई कुरेपनि नआउने निश्चित भएपछि उनी बिनै बैठक सुरु भएको हो ।

नेकपाको स्थायी समितिमा कुल ४५ सदस्य रहने व्यवस्था छ । जसमध्ये सभामुख भइसकेपछि अग्निप्रसाद सापकोटाले राजिनामा दिएका छन् । त्यसैगरी यौन दुर्व्यवहारको आरोपपछि सभामुखबाट राजिनामा दिएका कृष्णबहादुर महरालाई अझैसम्म पनि स्थायी समिति सदस्यमा पुनर्वहाली गरिएको छैन । त्यसैले अहिले नेकपाको स्थायी समितिमा ४३ जना सदस्य रहेका छन् ।

यसअघि सचिवालय बैठकमा पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले राखेका छुट्टाछुट्टै राजनीतिक प्रस्ताव स्थायी कमिटीमा बैठकमा पेस हुने कार्यक्रम रहेको बताइएको थियोे । उक्त प्रस्ताव बारे सचिवालयमा निर्क्याेल नभएपछि स्थायी कमिटीमा छलफलका लागि लगिन लागिएको छ । हिजो शनिबार बसेको सचिवालय बैठकमा सहमति नभएपछि उक्त प्रस्ताव स्थायी कमिटीमा नै लगेर छलफल गर्ने निर्णय स्थायी कमिटीका बहुमत सदस्यले गरेका थिए । तर पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालयका विभिन्न बैठकमा दुवै प्रस्ताव फिर्ता लिएर सहमतिको प्रस्ताव अघि लैजान प्रस्ताव गर्दै आएका थिए । नेकपाका कार्यकारी अध्यक्ष दाहालले उक्त प्रस्तावबारे अस्वीकार गरेपछि दाहाल पक्षको अग्रसरतामा बहुमत सचिवालय सदस्यको निर्णयले स्थायी कमिटीमा छलफल गर्ने निर्णय भएबमोजिम आज ती प्रस्तावबारे छलफल हुने नेकपा स्रोतले जनाएको छ ।

यसअघिका सचिवालय बैठकमा कार्यकारी अध्यक्ष दाहालले अध्यक्ष ओलीविरुद्ध विभिन्न गम्भीर आरोपसहितका १९ पृष्ठ लामो प्रस्ताव पेस गरेका थिए । त्यसको प्रत्युत्तरमा अध्यक्ष ओलीले दाहालमाथि पनि गम्भीर आरोप लगाउँदै ३८ पृष्ठ लामो आफ्नो प्रतिवेदन पेस गरेका थिए । यसपछि नेकपाका शीर्ष नेताहरूबीचको द्वन्द्व र टकराव लिखित तथा औपचारिक रूपमा देखापरेको हो भने त्यसयता निरन्तर आराेप-प्रत्यारोपका क्रम चलिरहेका छन् ।

अध्यक्ष तथा प्रधानमन्त्री ओलीले स्थायी कमिटी बैठको ओैचित्य नभएको बताउदै आएका थिए । कार्यकारी अध्यक्ष दाहालले नेतृत्व गरेको समूह बहुमत सदस्यका साथ उभिएको छ भने अध्यक्ष अल्पमतमा देखिएका छन् । कोरोना महामारीका बेला सरकारले उच्च सक्रियताका साथ भूमिका निभाउनुपर्नेमा पार्टीभित्रको द्वन्द्वले ठूलो अन्यौलता सिर्जना गरेको राजनीतिक विश्लेषकहरूले ठहर गर्दै आएका छन् ।