काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ मंगलबार दिउँसो सार्वजनिक गरिँदैछ। नेपाल सरकारले पहिलोपटक आफ्नै प्राविधिक टोलीबाट सगरमाथाको उचाइ मापन गरेर सार्वजनिक गर्न लागेको हो।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, नापी विभागले सगरमाथाको उचाइ मापन गरेको हो।
विभागले १३ करोड रुपैयाँ खर्चेर झन्डै दुई वर्षको अवधिमा सगरमाथाको मापनकार्य सम्पन्न गरेको थियो। विसं २०७२ मा गएको भूकम्पपछि सगरमाथाको उचाइ घटबढ भएको हुनसक्ने विषयमा अन्तर्राष्ट्रिय बहस शुरु भएपछि नेपालले पहिलोपटक आफ्नै स्रोत साधनमा सगरमाथाको उचाइ नापेको हो।
विभाग स्रोतका अनुसार सगरमाथाको हालको ८ हजार ८ सय ४८ मिटर उचाइ केही बढेको छ। कति बढेको भन्ने अहिले बाहिर ल्याइएको छैन। विभागले दिउँसो १: ३० मा पत्रकार सम्मेलन गरी सगरमाथाको नयाँ उचाइ सार्वजनिक गर्ने कार्यक्रम तय गरेको विभागका सूचना अधिकारी दामोदर ढकालले जानकारी दिए।
सगरमाथाको उचाइ पहिलो पटक सन् १८४९ मा जर्ज एभरेस्टको नेतृत्वमा सम्पन्न भएको थियो। जसको नामबाट सगरमाथाको अंग्रेजी नाम एभरेस्ट राखिएको हो। सन् १८४९ देखि १८५५ सम्म देहरादुन र बिहारको सोनाखोडाबाट त्रिकोणमितीय विधिबाट सगरमाथाको उचाइ नापिएको थियो।
सन् १९५४ मा सर्भे अफ इन्डियाले बिहारबाटै गरेको मापनमा सगरमाथाको उचाइ ८ हजार ८ सय ४८ मिटर देखिएको थियो। यही उचाइलाई सबैले मान्दै आए पनि पछिल्लो समय चीन र नेपालबीच सगरमाथाको उचाइबारे एकमत थिएन। गत वर्ष चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा चीनले संयुक्त रुपमा सगरमाथाको उचाइ घोषणा गर्न सहमत भएको थियो। सन् २००५ मा चिनियाँ स्टेट ब्युरो अफ सर्भेयिङ एन्ड म्यापिङले सगरमाथाको उचाइ ८,८४४.४३ मिटर मापन गरिएको दाबी गरेको थियो।-कान्तिपुर।