आयुसा बास्तोला, काठमाडौं । नेपाल पशु चिकित्सा परिषद् (भेटेरिनरी काउन्सिल) को सदस्य पदमा पशु चिकित्सक डा.मनाेजकुमार शाही विजयी भएका छन्। शनिबार भएको निर्वाचनमा पशु चिकित्सक शाही परिषदको कान्छाे सदस्यकाे रूपमा निर्वाचित भएका हुन्।
बिगत ८ वर्षदेखि पशु चिकित्सा क्षेत्रमा काम गर्दै आएका शाहीले नेपालको पशु चिकित्सा क्षेत्रकाे विकासका लागि राम्राे काम गर्ने बताएका छन् । आँफू अहिलेसम्मकै सबैभन्दा कान्छाे सदस्यका रूपमा रहेकाे र याे युवामा हुने जाेश जागर नेपालको पशु चिकित्सा क्षेत्रकाे विकासका लागि खर्च गर्ने उनले बताएका छन ।
नेपाल सरकारको एक मात्र भेटेरिनरी सेवाको नियमनकारी निकाय “नेपाल पशु चिकित्सा परिषद्”को आगामि चार वर्षको कार्यकालमा आफूले चुनावमा गरेका प्रतिबद्धता र घोषणा सहित अगाडि बढेर पशु चिकित्सा क्षेत्रमा डटेर काम गर्ने शाहीले बताएका छन् ।
‘बिजयी २ जना उपाध्यक्ष र ५ जना सदस्यहरुमात्र भएका छैनौं; सम्पूर्ण २४ जना उम्मेदवारले उठाएका एजेण्डाहरुले जितेको छ’ उनले बताएका छन् ।
सरकारको सल्लाहाकारको रुपमा रहेको काउन्सिलको हरेक ४/४ वर्षमा नयाँ निर्वाचन गर्नुपर्ने ऐनमा व्यवस्था छ । विजयी हुनेहरुको सपथ ग्रहण र पदबहाली १० माघमा हुने परिषद्का रजिष्ट्रार डा.नारायण घिमिरेले जानकारी दिएका छन ।
नेपाल पशु चिकित्सा परिषद् ऐन २०५५ को व्यवस्था अनुसार २ जना उपाध्यक्ष र ५ जना सदस्य छनोटका लागि निर्वाचन भएको हो ।
परिषद्को अध्यक्ष र रजिष्ट्रार सरकारले नियुक्त गर्ने र २ जना सदस्य सरकारले मनोनित गर्ने व्यवस्था छ । अध्यक्ष, रजिष्ट्रार र मनाेनित सदस्य मध्ये १ सदस्यकाे पद १६ जेठसम्म छ । यसअघि परिषदमा मनाेनित सदस्यका रूपमा रहेका डा.स्वयंप्रकाश श्रेष्ठले भने पदावधि बाँकी छँदै राजीनामा दिएर उपाध्यक्ष पदमा प्रतिस्पर्धा गरी विजयी समेत भएका छन् ।