× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
फिचर

महिला उपरको यौन दुर्व्यवहार र हाम्रो सामाजिक परिवेश

Simrik Online

२९ फाल्गुन २०७७, आईतवार

✍️ कोमलनाथ शर्मा

 यौनिक पवित्रता महिलाको निमित्त मात्र अनिवार्य मानिएकोले पनि महिला प्रतिको यौन दुर्व्यवहार समाजमा बढी चर्चित हुने गर्छ। आखिर महिला-पुरुष बराबर हुन् र जस उपर भएपनि यस्ता घटना असभ्य र अमानवीय हुने कुरामा विवाद छैन। तरपनि यौन दुर्व्यवहारबाट पीडित महिलालाई मात्र किन लज्जित बनाइन्छ, यो प्रश्न अनुत्तरित नै छ। अनि समाजको यस्ता घटनाबाट पीडित महिलालाई हेर्ने दृष्टिकोण नै महिलामैत्री छैन। महिलाको आत्मसम्मान र मनोबल नै खस्किने व्यवहार गरिन्छ। कसूर नै नगरिकन मानसिक रूपमा सजायभागी हुनुपर्ने मनोवैज्ञानिक स्थितिको अन्त्य नभएसम्म महिला उपरको यौन उत्पीडनको प्रभाव मेटिन सक्दैन।

अपराध विहीन समाजको परिकल्पना असंभव भएजस्तै बलात्कार जस्ता यौन दुराचारका घटनाको पूर्ण नियन्त्रण पनि संभव छैन । नैतिक शिक्षा, उपदेश जस्ता कुरा विवेकशील मानिसको निमित्त मात्र हो । उचित अनुचित कुराको ख्याल नगर्नेको निमित्त यी कुराको कुनै महत्त्व छैन । आपराधिक मानसिकता र छाडा प्रवृत्ति भएका मानिसबाट यौन दुराचार हुने भएकोले पनि सबै ठाउँमा पूर्व साबधानी र सतर्कता पनि सार्थक हुन सक्दैन । सुरक्षा अधिकारी पनि सबै ठाउँमा र चाहिएको समयमा तैनाथ हुन सक्दैनन् । कानून पनि घटना पछि मात्र उपचार खोज्ने साधन हो । संभव भएसम्म आफ्नो सुरक्षा आँफै गर्नुपर्छ । सुरक्षित हुन नसकेको अवस्थामा प्रचलित कानूनको प्रक्रियामा जानुको विकल्प पनि छैन ।

व्यक्तिगत र पारिवारिक प्रतिष्ठाको नाममा यौन दुर्व्यव्यवहार हुँदा पनि कानूनी प्रक्रियामा नजाने र घटना लुकाउने प्रवृत्ति हाम्रो समाजमा विद्यमान नै छ । घटना सार्वजनिक भएपनि कारबाहीको प्रक्रियामा सौदाबाजी पनि हुने गर्छ । जुलुमीलाई आरोपबाट उन्मुक्ति दिने परिस्थिति निर्माण गरिन्छ । यसबाट जुलुम गर्नेको दुस्साहस बढ्ने गरेको पनि पाइएको छ । प्रचलित कानूनी प्रक्रिया पनि पीडित महिलालाई हीनताबोध र आत्मग्लानी हुने स्थितिमा रहन बाध्य पार्ने खालको छ । यस परिवेशमा पीडितको निम्ति आत्मसम्मान जोगाई राख्न पनि कठिन छ । मानिसको जीवन यापनको दौरानमा अकल्पनीय घटना घट्छन् तर पनि जीउनु पर्छ । समाजबाट पृथक् भएर रहन संभव छैन र आँफूलाइ तनावको स्थितिमा राख्दा पनि उपलब्धि छैन । समाजमा रहन सक्ने ठाउँ पनि आँफै बनाउनु पर्ने स्थिति छ । हाम्रो समाज पनि अचम्मको छ । चुनौतीबाट डराउने र सामना नगर्ने हो भने चारित्रिक दोषको आक्षेप लाग्छ । अनर्गल टिकाटिप्पणि पनि हुने गर्छ र खेदिन्छ पनि । पीडितको दोष नहुँदा पनि समाज पीडितमैत्री हुन सक्दैन । यसैले पनि यस्ता घटनाको अनुसन्धानमा पीडितको परिचय गोप्य राख्ने गरिएको छ ।

पीडित महिलाको उद्धार र दुर्व्यवहार गर्नेलाई दण्डित गर्न सहयोग पुर्याउनु पर्नेे समाजको कर्तव्य हो । तर समाज यस विषयमा सहयोगी नहुने गरेको मात्र होइन महिलाको चरित्र माथि नै आशंका व्यक्त गर्छ । समाजमा समयमा नै यस्ता घटनाबाट अपराधबोध हुन नदिने संभावना नखोज्ने हो भने भविष्यमा हुन सक्ने यस्तै समस्याबाट अरु महिलाले आक्षेप व्यहोर्नु नपर्ने वातावरण निर्माण हुन सक्दैन । घटनालाई सार्वजनिक नगर्दा पनि पीडितको मनमा अपराधबोधको मानसिकता रहन्छ । अनुसन्धान तहकीकातको प्रक्रिया गोप्य रहँदैन । परिचय मात्र गोप्य रहनुपर्ने कुनै प्रयोजन पनि छैन । कानून बमोजिम क्षतिपूर्ति पाउने अवस्थामा पीडित महिलाको परिचय लुक्दैन । परिचय लुकाउनु भन्दा बरु यौन दुराचारबाट पीडित महिलालाई दोषारोपण र उपेक्षा गर्ने प्रवृत्ति निरुत्साहित हुनुपर्छ । समाजमा सम्मानजनक स्थान दिने सोच विकसित नभएसम्म बाहिरिया सहयोग, समर्थन जस्ता कुरा र परिचय गोप्य राख्ने व्यवस्थाले मात्र पीडित महिलाको शीर ठाडो हुन सक्दैन । त्यसैले पहिले आफ्नो सामाजिक परिवेश नै सहयोगात्मक र महिलामैत्री हुन आवश्यक छ ।
अहिले विषम परिस्थिति छ । महिला सशक्तीकरण र जागरण जस्ता कार्यक्रमबाट पनि लैंगिक समानता कायम हुन सकेको छैन । समृद्धि र विकास प्रतिको चेतना जागृत भएपनि स्वतन्त्र अस्तित्व कायम राख्ने प्रयास पनि अधुरै छ । महिला अस्मिता संरक्षित छैन । यौन दुर्व्यवहार बढ्दो छ । बलात्कारका घटना दिन-प्रतिदिन बढिरहेका छन् । यौन दुर्व्यवहार र बलात्कारका घटना हुन नदिन के-कस्तो उपाय अबलम्बन गर्नुपर्ने हो उपायको खोजी गर्भमा नै छ । बाबु-आमा आफन्तको निगरानी पनि हरहमेशा संभव हुँदैन । सुरक्षा सतर्कता पनि अनुकूल नहुन सक्छ । अधिकतम् सजायको व्यवस्था गरेर दण्डित गरिँदा पनि यौन दुर्व्यवहार हुँदैन भन्न सकिँदैन । आक्रोश व्यक्त गर्नु मात्र पनि समाधान होइन । घटना पछिको कानूनी प्रक्रिया पनि आफ्नो ठाउँमा छ । अन्तत कानूनले आफ्नो भूमिका निर्बाह गर्छ र जुलुमीलाई दण्डित पनि गरिन्छ । दण्डित भएपनि महिला अस्मिताको क्षतिपूर्ति हुन सक्दैन । तरपनि ससम्मान जीवनयापन गर्न पाउने वातावरण निर्माण गर्न नसकिने भने होइन । महिलालाई सदा झस्काउने मूलभूत विषय नै यौनिक अस्मिता हो । क्षतिपूर्ति हुन नसकेपनि पीडित हुँदा आइलाग्ने मानसिक यातना र मनोवैज्ञानिक प्रभावको निराकरण कसरी गर्ने, अनि उपचार के हुन सक्छ उपाय खोज्न आवश्यक भएपनि त्यसतर्फ कुनै प्रयास भएकै छैन । समाजमा इज्जत साथ रहन सक्ने प्रभावकारी उपाय नखोजेसम्म नारा जुलुस भाषण आक्रोश जस्ता कुरा उधारो आश्वासन र निरर्थक सान्त्वना मात्र हुन् ।

महिला र पुरुषको बीचमा घर र समाजमा समान हैसियत रहनुपर्ने भएपनि रहन नसकेको कारणबाट समाजका हरेक क्षेत्रमा महिला प्रताडित हुनुपरेको स्पष्ट छ । महिला पछाडि पर्नुमा महिलाको आश्रित मनोवृत्ति र पुरुषको शासकीय व्यवहार हो । महिला र पुरुषलाई एकै रथका दुई पांग्रा भनिन्छ तर व्यवहारमा महिलाको समान सहभागिता आवश्यक मानिन्न । महिलालाई न्यूनीकरण गर्ने प्रवृत्ति र महिलाको पुरुष प्रतिको समर्पण भावले पनि समान हैसियत रहन नदिएको हो । महिलालाई कमजोर ठान्ने पुरुष मानसिकता र आँफूलाई अबला भएको ठान्ने महिलाको सोचको कारणबाट पनि महिला हेपिइरहेका छन् । महिलालाई कमजोर ठानेर यत्र-तत्र यौन दुराचारका घटना हुने गरेको पनि यसै कारणबाट हो ।
समाजमा महिलाको चरित्रलाई अति संवेदनशील बनाइएको कारणबाट पनि बलात्कार, यौन दुराचार र यौन दुर्व्यवहार जस्ता घटना महिला पीडित हुन पुगेका छन् । महिलाबाट पनि पुरुष उपर यौन दुर्व्यवहार हुन्छ, तर चर्चाको विषय बन्दैन । यौनिक पवित्रता महिलाको निमित्त मात्र अनिवार्य मानिएकोले पनि महिला प्रतिको यौन दुर्व्यवहार समाजमा बढी चर्चित हुने गर्छ । आखिर महिला पुरुष बराबर हुन् र जस उपर भएपनि यस्ता घटना असभ्य र अमानवीय हुने कुरामा विवाद छैन । तरपनि यौन दुर्व्यवहारबाट पीडित महिलालाई मात्र किन लज्जित बनाइन्छ, यो प्रश्न अनुत्तरित नै छ । अनि समाजको यस्ता घटनाबाट पीडित महिलालाई हेर्ने दृष्टिकोण नै महिलामैत्री छैन । महिलाको आत्मसम्मान र मनोबल नै खस्किने व्यवहार गरिन्छ । कसूर नै नगरिकन मानसिक रूपमा सजायभागी हुनुपर्ने मनोवैज्ञानिक स्थितिको अन्त्य नभएसम्म महिला उपरको यौन उत्पीडनको प्रभाव मेटिन सक्दैन । पुरुषबाट हुने अपराधको परिणाम महिलाले भोग्नुपर्ने यस्ता घटनाबाट पीडित महिलाको जीवन सामान्यीकरण हुने सहज वातावरण नबने सम्म मानसिक रुपमा पीडाबोध त भैरहन्छ । यस्ता घटना नचाहेर पनि अनायास हुने गर्छन् भन्ने तथ्य बुझ्न आवश्यक छ । घटना पछिको उपचार प्रबिधि अपमानको ठाउँमा सम्मान र घृणाको ठाउँमा सान्त्वना हो । अनि आर्थिक रूपमा आत्मनिर्भर र सबल बनाउने वातावरण निर्माण गरे मात्र पनि महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउँछ ।

पुरुष प्रधान समाज, वंशानुगत सोच र सामाजिक धरातलको कारण देखाएर समस्याबाट उम्किन सकिंदैन र यस्ता बलात्कारका घटना हुन नदिने प्रयास मात्र सार्थक हुनसक्ला । अनि यौनजन्य व्यवहारमा महिलालाई मात्र दोषी देख्ने सामाजिक दृष्टिमा आमूल परिवर्तन नभएसम्म महिलाको सम्मान संभव छैन ।
महिला उपरको दुर्व्यवहार सभ्य समाजको कलंक हो, यसमा दुईमत छैन । यस्तो दुर्व्यवहार गर्ने दण्डित हुनुपर्छ भन्ने कुरामा पनि कसैको असहमति रहँदैन । देशमा सजाय दिने कानून पनि छ । तर पनि दुर्व्यवहारका घटना दिनप्रतिदिन बढिरहेका छन् । बलात्कार गर्नेलाई मृत्युदण्ड सम्मको सजाय दिनुपर्छ भन्ने आवाज पनि उठिरहेको छ । बलात्कारको विरोधमा प्रदर्शन पनि हुने गर्छ । तर समाजमा महिलाको स्थान सम्मानित हुनुपर्छ भनेर दवाव दिने काम हुन सकेको छैन । आँफैले गर्नुपर्ने काममा स्वस्फूर्त चेतना छैन । परिवार भित्रबाट पनि पीडित महिलाको सम्मान हुन सक्दैन । पीडित महिलाको निम्ति परिवार भन्दा पुनरुद्धार गर्ने संस्था प्राथमिकतामा पर्छ । त्यस्तो संस्थाले महिलाको जिम्मा लिएर संरक्षण गरिरहे पनि सो दीर्घकालीन उपाय होइन । मनोवैज्ञानिक उपचार नै समाधान हो । जसबाट आश्वस्त हुने वातावरण बन्छ । यस्ता घटना जसलाई पनि पर्नसक्छ । यसैले विगत बिर्सेर अगाडिको बाटो तय गर्नु नै जीवनको सार्थकता हो भन्ने सोच राखेर त्यसै अनुसारको व्यवहार भएमा मात्र जीवन सामान्य हुन्छ । महिला प्रतिको पारिवारिक र सामाजिक व्यवहार पनि प्रेरणादायी हुनुपर्छ ।

महिला र पुरुष जीवनका सहयात्री हुन् । एक विना अर्कोको जीवन अधुरो मानिन्छ । जैविक सिर्जनाको लागि पनि महिला र पुरुष दुवैको आवश्यकता छ । दुवैको समान महत्व हुँदाहुँदै पनि महिलाको समाजमा पुरुष बराबरको स्थान नरहेको कारणबाट नै महिला उपरको यौन दुर्व्यवहार यति गम्भीर भएको हो । महिलालाई कमजोर ठान्ने पुरुष मानसिकतामा परिवर्तन आएको छैन । महिलामा पनि स्वतन्त्र भएर बाँच्न सक्ने मनोबल बन्न नसकेको कारणबाट अहिलेको समय महिलामैत्री हुन नसकेको हो । पुरुषको आश्रय खोज्ने महिला प्रवृत्तिमा पनि परिवर्तन आएको छैन । महिला र पुरुष जीवनका सहयात्री भएर पनि आश्रित र आश्रयदाताको सोच जीवित नै छ । महिला अग्रसरता प्रति सबैको चासो छ । महिला सहभागिता आवश्यक छ भन्ने अनुभूति पनि छ । महिला समुदाय पनि यस विषयमा जागरुक छ । तर यी सबै कुरा व्यवहारमा सार्थक हुन सकेका छैनन् ।

महिला स्वतन्त्रता अहिले महिला उपरको यौन दुर्व्यवहार जस्ता क्रियाले संकटमा परेको छ । महिला अस्मिताको सुरक्षा प्राथमिकता भित्र रहनुपर्छ । मानव अधिकार र स्वतन्त्रताको ध्येय पनि त्यही नै हो । सुरक्षाको दायित्व राज्यको भएपनि र सुरक्षा संयन्त्र जतिसुकै क्रियाशील भएपनि पूर्ण सुरक्षा संभव छैन, यो पनि यथार्थ हो । यौन दुर्व्यवहारको विषय व्यक्ति वा परिवारको मात्र समस्या नभएर समाज र देशलाई नै लज्जित बनाउने क्रिया हो भन्ने कुरामा पनि असहमति छैन । असल संस्कार बसाउने र चेतना अभिबृद्धि गराउने क्रियामा सबैको सामुहिक प्रयास भएमा नियन्त्रणको उपाय प्रभावकारी हुने भएपनि अपराध नियन्त्रण सदा संभव हुँदैन । त्यसैले भैसके पछिको पीडित महिलाको जीवन यापनलाई सामान्य बनाउने कुरामा सबैको ध्यान केन्द्रित हुन आवश्यक छ । गैरसरकारी संस्थाबाट पीडित महिलाको उद्धार र पुनस्थापना हुनसक्छ भने समाजले त्यस्ता महिलाको सम्मान दिने स्थिति बसाल्न अग्रसर हुन नपर्ने कुनै कारण देखिंदैन । सर्वप्रथम सामाजिक परिवेश नै महिला मैत्री बनाउन आवश्यक छ । समाजमा पुरुष र महिला बराबर नै हुन् भन्ने सोच रहन आवश्यक छ । पुरुष सरह कै व्यवहार महिलालाई गरिनु पर्छ । जुनसुकै ठाउँ र मामलामा पुरुष र महिलाको बीचमा देखिने अन्तरलाइ न्युनीकरण गर्न नसकेको कारणबाट समाजमा महिलामैत्री वातावरण कायम हुन नसकेको हो । यौन दुर्व्यवहार पीडितको नियन्त्रण भन्दा बाहिरको विषय हो भन्ने जान्दा-जान्दै पनि इज्जत दिन नसक्नु पीडितलाई सामाजिक न्यायबाट वञ्चित गर्नु हो । अस्तु । (लेखक/पूर्वन्यायाधीश शर्मा, हाल अमेरिकाबाट सुशासन र समाजिक न्यायका पक्षमा कलम चलाउनु हुन्छ।)