× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
निर्वाचन

सञ्चारकर्मीको कुम्भ मेला, निर्वाचन चालू अबस्थामा

Simrik Online

२४ चैत्र २०७७, बुधबार

काठमाडौं । सञ्चारकर्मीको कुम्भमेलाका रूपमा लिइएको नेपाल पत्रकार महासंघको आगामी नयाँ नेतृत्व चयन गर्न बुधबार (आज) बिहानैदेखि काठमाडौं उपत्यकालगायत मुलुकभर मतदान हुँदैछ।

निर्वाचनलाई आफ्नो पक्षमा पार्न केन्द्रीय अध्यक्षलगायत विभिन्न पदमा उम्मेदवारी दिएर चुनावी मैदानमा उत्रिएका पत्रकार आआफ्नो पक्षमा धेरै मत ल्याउने प्रयासमा जुटिरहेका छन्। महासंघको २६औं महाधिवेशन तथा निर्वाचनको अघिल्लो दिन उनीहरू के कसरी हुन्छ आफ्नो विजय सुनिश्चित गर्ने अन्तिम कसरतमा दौडधुप गरिरहेका देखिन्थे।

महासंघको आगामी नयाँ नेतृत्वका लागि केन्द्रीय अध्यक्षमा निर्मला शर्मा र विपुल पोखरेल प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन्। यसैगरी, अर्का अध्यक्षका प्रत्यासी उम्मेदवार गजेन्द्रसिंह बुढाथोकीले पनि आफ्नो चुनावी प्रतिस्पर्धालाई तीव्रता दिइरहेका छन्। आगामी नयाँ नेतृत्वका लागि चुनावी प्रतिस्पर्धामा उत्रिएका उम्मेदवारहरूले श्रमजीवी पत्रकारको पेसागत सुरक्षा र पत्रकार महासंघको शुद्धीकरणलाई मुख्य मुद्दा र एजेन्डा बनाएका छन्।

अध्यक्षमा शर्मा, पोख्रेल र बुढाथोकीबीच प्रतिस्पर्धा

यस निर्वाचनमा भिडेका तीन जना केन्द्रीय अध्यक्षका उम्मेदवारमध्ये महासंघको इतिहासमै पहिलोपटक महिला पत्रकारको तर्फबाट अध्यक्ष पदमा उम्मेदवारी दिएकी निर्मला शर्मा व्यावसायिक र समावेशी प्यानलकी हुन्। सो प्यानललाई प्रेस चौतारी नेपाल लगायतका पत्रकार सम्बद्ध अन्य केही संघसंस्थाको समेत समर्थन रहेको छ।

प्रेस युनियन, प्रेस सेन्टरलगायतका संगठनको साझा उम्मेदवारका रूपमा विपुल पोखरेल समूह र स्वतन्त्र रूपमा अध्यक्ष पदका लागि गजेन्द्रसिंह बुढाथोकीबीच प्रतिस्पर्धा हुँदैछ।

यसैगरी, महासंघ केन्द्रको वरिष्ठ उपाध्यक्षमा माधव नेपाल र रमेश विष्ट प्रतिस्पर्धामा छन् भने समावेशी उपाध्यक्षमा उदय जीएम, अवधेश झा र मोहनकुमार सिंह प्रतिस्पर्धा गर्दैछन्। महिला उपाध्यक्षमा दाना केसी र बाला अधिकारी प्रतिस्पर्धा गर्दैछन्। महासंघको केन्द्रीय महासचिवमा रोशन पुरी, बालकृष्ण बस्नेत र सुवोध गौतमबीच प्रतिस्पर्धा हुँदैछ।

यसैगरी, प्रदेश तथा जिल्ला समितिहरूको नयाँ नेतृत्वका लागि पनि बुधबार नै मतदान हुँदैछ। मंगलबार साँझसम्म महासंघको प्रदेश तथा जिल्ला, एसोसियट र प्रतिष्ठान शाखाका केही स्थानहरूमा भने सर्वसम्मत नयाँ नेतृत्व चयन भएको छ भने प्रदेश र जिल्लाका विभिन्न पदहरूमा पनि केही पत्रकार सर्वसम्मत विजयी भएका छन्।

पत्रकारहरूको छाता संगठन महासंघको २६औं महाधिवेशन गत फागुनमा काठमाडौंमा सम्पन्न भएको थियो। सोही महाधिवेशनले तय गरेको निर्वाचन मितिअनुसार बुधबार मुलुकभर महासंघको आगामी नयाँ नेतृत्व चयन गर्न निर्वाचन हुन लागेको महासंघले जनाएको छ। ‘प्रेस स्वतन्त्रताको आधारः सुरक्षित र व्यावसायिक पत्रकार’ भन्ने मुख्य नारासहित महासंघको महाधिवेशन सम्पन्न भएको थियो।

केन्द्रदेखि प्रदेश र जिल्ला शाखासम्म केन्द्रीय अध्यक्षदेखि सदस्यसम्मका लागि निर्वाचन हुँदैछ। जसका लागि महासंघ केन्द्रीय निर्वाचन सम्पन्न गर्न वरिष्ठ पत्रकार कपिल काफ्लेको संयोजकत्वमा सात सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो।

महासंघको कुल ४९ पदाधिकारीका लागि १४५ जनाको उम्मेदवारी परेको छ। यस वर्षको निर्वाचनमा कुल १३ हजार १ सय २२ मतदाता छन्। जिल्ला र प्रतिष्ठान तहको निर्वाचनका लागि गत २२ चैतमा मनोनयन दर्ता भएको थियो।
यस नयाँ व्यवस्थाअनुसार प्रदेश संरचनामा महासंघमा १० प्रदेश मानेर निर्वाचन क्षेत्र छुट्याइएको छ। सात वटा प्रदेशमा बेग्लाबेग्लै मतदान हुनेछ। यसपटक ७ प्रदेशबाहेक काठमाडौं, ललितपुर र भक्तपुरमा ‘उपत्यका प्रदेश’ संरचना बनाइएको छ ।

उपत्यकाका तीन जिल्लाबाहेक बाग्मती प्रदेशका अन्य जिल्ला समेटेर बाग्मती प्रदेश बनाइएको छ। एसोसिएट पनि प्रदेशस्तरकै मान्यता दिइएको छ। बुधबार जिल्ला, एसोसियट्स, प्रदेश र केन्द्रका लागि एकैपटक निर्वाचन हुँदैछ। जसका लागि मतदाता पत्रकारले जिल्लाबाटै सबै तहका लागि मतदान गर्ने व्यवस्था मिलाइएको छ।

प्रेस युनियनको ६ वर्षे कारबाही :

नेपाल पत्रकार महासंघमा विभिन्न पदमा स्वतन्त्र उम्मेदवारी दिएका ११ जना पत्रकारलाई प्रेस युनियनले कारबाही गरेको छ। नेपाली कांग्रेस सम्बद्ध पत्रकारको संस्था प्रेस युनियनका सदस्यहरूले संगठनको अनुशासन उल्लंघन गरेर अझै उम्मेदवारी फिर्ता नलिएपछि उनीहरू युनियनको कारबाहीमा परेका हुन्।

युनियनका विभिन्न पदमा रहेका क्रियाशील पत्रकारले उम्मेदवारी फिर्ता लिन गरेको आग्रहलाई नमानेको भन्दै युनियनले कम्तीमा ६ वर्षसम्मका लागि साधारण सदस्यतासमेतबाट निष्कासन गरिएको युनियन अनुशासन आयोगका अध्यक्ष दीपक आचार्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

पूर्वसभापतिको आह्वान :

नेपाल पत्रकार महासंघका पूर्वसभापति एवं अध्यक्षहरूले पत्रकारको अधिकार र सुरक्षाका विषयमा कतै पनि सम्झौता नगर्ने नेतृत्वलाई मतदान गर्न आमपत्रकारलाई आग्रह गरेका छन्।

मंगलबार एक विज्ञप्ति जारी गर्दै पूर्वअध्यक्षहरूले भनेका छन्, ‘हामी स्वतन्त्र एवं बहुलवादी प्रेस र पत्रकारहरूको सुरक्षा र अधिकारको विषयमा कतै पनि सम्झौता नगर्ने नागरिक र लोकतन्त्रका पहरेदार हुन सक्ने सक्षम नेतृत्वलाई आफ्नो विवेकको मतदान गर्न तमाम पत्रकार साथीहरूमा हार्दिक अपिल गर्दछौं।’

पूर्वअध्यक्षहरूले नेपाल पत्रकार महासंघलाई सरकारको प्रतिछाया तथा राजनीतिक दलको स्वार्थबाट जोगाउन र समाजको निरन्तर लोकतान्त्रीकरणका लागि वैचारिक दिशाबोध गर्न सक्ने बनाइराख्न आवश्यक रहेको बताएका छन्। उनीहरूले प्रेस स्वतन्त्रता अहिले पनि चौतर्फी चुनौतीको घेरामा रहेको भन्दै यसको रक्षाका लागि महासंघका सबै तहमा जुझारु र निष्ठावान नेतृत्व आवश्यक हुने बताएका छन्।-राजधानी।