× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
अन्तर्राष्ट्रिय समाचार

भारत नेपालमा संवैधानिक शासनका पक्षमा उभिनुपर्छ : पूर्वराजदूत रे

Simrik Online

९ जेष्ठ २०७८, सोमबार

भारतले नेपालमा निरंकुश शासनको समर्थन गरिरहेको छ भन्ने धारणा हटाउनुपर्छ’

काठमाडौं । नेपालका लागि भारतीय पूर्वराजदूत रन्जित रेले भारत नेपालमा संवैधानिक तथा लोकतान्त्रिक शासनको पक्षमा उभिनुपर्ने बताएका छन् । पछिल्लो समय भारतले नेपालमा निरंकुश शासनलाई समर्थन गरिरहेको भन्ने आमधारणा बन्दै गएको जनाउँदै उनले भारतले त्यसलाई हटाउन सक्नुपर्नेमा जोड दिएका छन् ।

आइतबार भारतीय अखबार हिन्दुस्तान टाइम्समा प्रकाशित लेख ‘इन काठमाण्डु, अ थ्रेट टु डेमोक्रेसी’मा पूर्वराजदूत रेले भारतले सधैं नेपालको प्रगतिशील परिवर्तन र बहुदलीय प्रजातन्त्रका पक्षमा समर्थन गरेको उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘भारतले निरंकुश शासनलाई समर्थन गरिरहेको छ भन्ने धारणालाई हटाउनुपर्छ र नेपालमा संवैधानिक तथा लोकतान्त्रिक शासनका पक्षमा दृढताका साथ उभिनुपर्छ ।’

संविधान लेखनका बेला मधेसी समुदायको मागको विरोध गरेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै जसपाको महन्थ ठाकुर र राजेन्द्र महतोले किन समर्थन गरिरहेका छन् भनेर नेपाली नागरिकले अचम्म मानिरहेको पनि रेले लेखमा उल्लेख गरेका छन् । रेले अगाढि लेखेका छन्, ‘नेपालमा राजनीतिक स्थायित्व भारतको चाहना हो । अस्थिरताले नेपालमा बाह्य प्रभाव बढ्नेछ ।’

साथै उनले भारतले सार्वजनिक रुपमै नेपालमा संवैधानिक शासनका पक्षमा आफ्नो धारणा राख्नुपर्ने बताएका छन् । त्यस्तै उनले भारतले नेपालमा कोरोना भाइरसविरुद्धको खोपको आपूर्ति गर्नुपर्नेमा पनि जोड दिएका छन् । भारतले प्रधानमन्त्री ओलीदेखि विपक्षीमा रहेका सबै दलसँग सम्बन्ध बनाउनुपर्ने पनि उनको भनाइ छ ।