काठमाडौं । आईएमई फाउन्डेसनले कोभिड-१९ को रोकथाम तथा उपचारका लागि करिब ३ करोड रुपैयाँ मूल्यबराबरको स्वास्थ्य उपकरण सरकारलाई प्रदान गरेको छ । आईएमई फाउन्डेसनका संरक्षक तथा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल र फाउन्डेसनका अध्यक्ष तथा आईएमई ग्रुपका प्रबन्धनिर्देशक हेमराज ढकालले मंगलबार स्वास्थ्य मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीलाई संयुक्त रुपमा ८० थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेका हुन् ।
फाउन्डेसनले गण्डकी प्रादेशिक अस्पताल, पोखरा, कास्की, लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल, रूपन्देही, सेती प्रादेशिक अस्पताल, धनगढी, कैलाली र निजामती कर्मचारी अस्पताल (सिभिल), मीनभवन, काठमाडौंलाई ८० थान अक्सिजन कन्सन्ट्रेटर (हरेकलाई २० थान) सहयोग गरेको हो । त्यसैगरी, फाउन्डेसनले जनता स्वास्थ्य केन्द्रद्वारा सञ्चालित आइसोलेसन सेन्टरलाई १५ वटा अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ । यसका अतिरिक्त फाउन्डेसनले शुक्रराज सरुवारोग अस्पताल टेकु काठमाडौंमा करिब १ करोड २८ लाखबराबरको अक्सिजन प्लान्ट स्थापनाको लागि पनि प्लान्ट अर्डर गरिसकेको छ ।
यसअघि फाउन्डेसनले वैदेशिक रोजगारीमा रहँदा देहावसान भएका नेपालीहरूको घरपरिवारहरूको सहयोगार्थ ‘भरोसा कोष’को स्थापना गरी करिब एक सय प्रभावित घरपरिवारलाई प्रतिव्यक्ति ५८ हजारका दरले करिब ६० लाख रुपैयाँ राहत उपलब्ध गराएको थियो । फाउन्डेसनले शिक्षा, स्वास्थ्य, खेलकुदलगायत विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ । साथै फाउन्डेसनले विभिन्न समयमा मुलुकमा आइपर्ने स्वास्थ्य तथा प्राकृतिक प्रकोपहरुमा सरकार तथा विभिन्न गैरसरकारी संघ/संस्थाहरुसँग हातेमालो गरेर अघि बढ्ने गरेको जनाएको छ ।