× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
निर्वाचन

जिल्लाबाटै मतदान गरि महाधिवेशन गर्न कांग्रेसका सात युवानेताको प्रस्ताव

Simrik Online

२५ जेष्ठ २०७८, बुधबार

काठमाडौं । नेपाली कांग्रेसका सात युवा नेताले पार्टीको १४औं महाधिवेशनलाई ‘वैकल्पिक विधि र प्रक्रियाबाट गर्न’ पार्टी नेतृत्वसमक्ष प्रस्ताव गरेका छन् । युवानेताहरू चन्द्र भण्डारी, धनराज गुरुङ, गुरु घिमिरे, गगन थापा, प्रदीप पौडेल, बद्री पाण्डे र जीवन परियारले मंगलबार सभापति शेरबहादुर देउवालाई भेटेरै ‘१४औं महाधिवेशन वैकल्पिक विधि र प्रक्रियाबाट गर्न’ प्रस्ताव गरेका हुन् ।

कोरोनाको बाहनामा अब महाधिवेशन सार्ने गरी कुनै योजना नबनाउन ध्यानाकर्षण गराउँदै उनीहरूले जतिसक्दो छिटो पार्टीमा सल्लाह गरेर महाधिवेशनबारे निर्णय लिनसमेत आग्रह गरेका छन् ।

युवा नेता एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले ‘महाधिवेशन गर्नुको विकल्प नभएको’ भन्दै ‘प्रक्रियामा विकल्प खोजेर भए पनि निर्धारित समयभित्रै महाधिवेशन सम्पन्न गरिनुपर्ने’तर्फ पार्टी नेतृत्वको ध्यानाकर्षण गराएको जानकारी दिएका छन्।
‘महाधिवेशनको विषय अन्योल भयो, महामारीकै बीच प्रक्रियामा विकल्प खोजेर भए पनि गरौं भनेर सभापतिलाई भनेका छौं,’ नेता पौडेलले भने, ‘सभापतिज्यूले पदाधिकारी बैठक बोलाएर छलफल गर्छु भन्नुभएको छ ।’

केन्द्रीय सदस्यसमेत रहेका अर्का युवानेता धनराज गुरुङ ‘संविधानले दिएको व्यवस्थासमेत पार्टीले उपयोग गरिसकेकाले पार्टी वैधानिकता जोगाउनकै लागि भए पनि वैकल्पिक प्रक्रियाबाट महाधिवेशन गर्न’ सभापतिलाई सुझाएको बताउँछन् ।

‘अब फेरि महाधिवेशन सार्ने अवस्था छैन, वैधानिकताको पनि कुरा छ, बरु प्रक्रियामा विकल्प खोजौं, वडामा एक बुथका ठाउँमा १० बुथ राखौं,’ पार्टी सभापतिलाई राखिएको प्रस्तावबारे नेता गुरुङले जानकारी दिँदै ७७ वटै जिल्लामा केन्द्र तहका उम्मेदवारलाई मत हाल्ने गरेर व्यवस्था मिलाऔं भनेर सुझाव दिएको बताएका छन् ।

केन्द्रीय तहका नेता छान्न जिल्लाजिल्लामै मतदान गर्नेगरी व्यवस्था गर्न सकिने र प्रतिनिधि संख्याका आधारमा बुथ तय गरी निर्वाचन प्रक्रियामा जान सकिने उनीहरूले सुझाएका छन् । अधिवेशनमा जाँदा कोरोनाका लागि जारी सुरक्षा मापदण्ड पालना गर्नसकिने उनीहरूको धारणा छ ।

सात युवा नेताको संयुक्त प्रस्तावमा सभापति देउवा सकारात्मक देखिएका छन् । पदाधिकारी बैठक बोलाएर महाधिवेशन विधि र प्रक्रियाबारे आवश्यक निर्णय लिइने उनले आश्वासन दिएका छन् ।

युवा नेताले क्रियाशील सदस्यता जतिसक्दो छिटो टुंग्याउन, पूर्वनिर्धारित कार्यतालिकाबीचको समय दूरी घटाएर अन्तिमपटक संशोधन गर्न र संशोधन गर्दा वडादेखि केन्द्रसम्मको निर्वाचन प्रक्रिया टुंग्याउन आग्रह गरेका छन् ।

कांग्रेसले ६ फागुन २०७७ मा बनाएको महाधिवेशन क्यालेन्डरअनुसार ५ असारमा वडा, ७ असारमा गाउँ-नगर, १ साउनमा प्रदेशसभा क्षेत्रीय, ३ साउनमा प्रतिनिधिसभा क्षेत्रीय र एक मात्र प्रतिनिधिसभा क्षेत्र भएका जिल्ला र ६ साउनमा एकभन्दा बढी प्रतिनिधिसभा क्षेत्र भएका जिल्ला अधिवेशन निर्धारित छ ।
यसैगरी, १० र ११ साउनमा प्रदेश अधिवेशन र ७, ८, ९ र १० भदौमा केन्द्रीय महाधिवेशन गर्नेगरी कार्यतालिका ल्याइएको छ ।