× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
निर्वाचन

यस्तो छ माओवादीको नयाँ सांगठनिक संरचना

Simrik Online

८ असार २०७८, बुधबार

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टी संगठनलाई नयाँ संरचनामा ढाल्ने भएको छ । जसअनुसार अब माओवादीको केन्द्रीय समिति २ सय ९९ सदस्यीय हुनेछ भने पोलिटब्युरो १ सय सदस्यीय हुनेछ । त्यसैगरी स्थायी समिति ३३ सदस्यीय बनाउने प्रस्ताव गरिएको छ ।

माओवादी केन्द्रले आफ्नो अन्तरिम विधान २०७३ लाई संशोधन गर्ने क्रममा परिवर्तित अवस्थामा नयाँ प्रावधान समावेश गरेर विधान २०७८ प्रस्ताव गरेको हो । प्रस्तावित प्रावधानअनुसार केन्द्रीय समितिको कार्यकाल ५ वर्ष, प्रदेश समितिको कार्यकाल ३ वर्ष र स्थानीय तहको कार्यकाल २ वर्षको हुनेछ ।

दैनिक कार्य सञ्चालनको निम्ति अब माओवादी केन्द्रले अध्यक्ष, उपाध्यक्ष र महासचिवसहितको केन्द्रीय कार्यालय रहने व्यवस्था गरेको छ ।
त्यसैगरी केन्द्रीय कार्यालयको दैनिक प्रशासनिक कार्य सम्पादन गर्न महासचिवको नेतृत्वमा उपमहासचिव र सचिवसमेतको केन्द्रीय सचिवालय बनाइएको छ ।

राष्ट्रिय महाधिवेशन, केन्द्रीय समिति, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखापरीक्षण आयोग, केन्द्रीय निर्वाचन आयोग, राष्ट्रिय परिषद्,केन्द्रीय सल्लाहकार परिषद् र केन्द्रीय ज्येष्ठ कम्युनिष्ट मञ्च गरी ८वटा निकाय रहने व्यवस्था गरिएको छ ।

५२ पृष्ठको प्रस्तावित नयाँ विधान २०७८ मा सुझावको लागि सबै केन्द्रीय सदस्यहरुलाई बाँडिएको बुझिएको छ ।