✍️ कोमलनाथ शर्मा
महिला र पुरुष समाज वा परिवारमा सहयात्री हुन्, भन्ने कुरामा दुइमत नभएपनि व्यवहारमा समान हैसियत भएर पनि नमानिएको तथ्य सबैले नजाने नबुझेको होइन । किन समान हैसियत नमानिएको भन्ने सबैको चासोको विषय बने पनि कारण अदृश्य पनि छैन र खुलस्त पनि छैन । पुरुषप्रधान समाज भएको कारणबाट महिला उपेक्षित मात्र होइन दवित पनि छन् भन्ने महिलाको आरोप प्रति पुरुष पनि अनुत्तरित छन् । अहिलेको यथास्थितिमा परिवर्तन ल्याउनेैपर्ने सोच भएपनि व्यवहारमा किन आउँदैन आँफैसँग गर्ने प्रश्न भएको छ । सामयिक परिवर्तनको पक्षमा महिला वाञ्छित रुपमा सक्रिय नभएको कारण पनि खुल्दैन । सक्रिय र अग्रसर नभैकन परिवर्तन आइदिएहुन्थ्यो भन्ने महिलाको परमुखापेक्षी सोच भएर नै यस्तो असमान स्थिति विकसित भएहोला यो अनुमानको विषय हो । परनिर्भर हुने बानी परेर पनि होला महिलामा जागरणको तीब्रता छैन । यथास्थितिमा रमाउने जीवनशैली नै प्रिय लाग्नु प्रगतिको बाधक भएपनि अनुशरण भैरहेकै छ । यसै भएर होला महिलाको उत्थान र स्वतन्त्रता चर्चाको विषय त बन्छ तर उपलब्धिमूलक निष्कर्षमा पुग्दैन । समाजको व्यवहारमा देखिने यस्ता सानातिना कुरा रुपान्तरण वा परिवर्तनका कारक हुन् वा बाधक हुन् जे भएपनि मनन गर्ने विषय हुन् ।
सीमा र नियन्त्रण :
महिला किन नियन्त्रित छन् यस विषयमा धेरै नै अध्ययन भैसकेको छ । अध्ययन भएर पनि पार नलागेकै कारणबाट मौन रहनु नै श्रेयस्कर संझिएको छ । अब समयले नै यसको छिनोफानो गर्ला । परिवार र समाजमा महत्व र मान्यतामा फरक नभएपनि निर्णय गर्ने कुरामा महिलाको राय आवश्यक मानिदैन । पुरुषले गरेको निर्णयमा विना प्रश्न समर्थन दिनुपर्ने स्थिति किन सिर्जना हुन्छ । यस्ता विषयमा पुनरावलोकन भएको छैन । परिवार सञ्चालनमा मुख्य भूमिकामा रहेका महिला नेतृत्वदायी स्थानमा रहन नसक्नुको कारण के होला भन्ने जिज्ञासा पनि टुंगोमा पुग्दैन । परिवर्तित जीवनशैलीमा पनि पुरुषको अदवमा रहनुपर्ने मानसिकता जीवित नै छ । महिला पनि पुरुषको निगरानीमा आंफूलाइ सुरक्षित ठान्छन् यो पनि वास्तविकता हो । आर्थिक कारोबारमा पुरुषको प्रधानता भएर हो भन्दा पनि महिला कमाउने भएको घरमा पनि महिलाको हैसियत वाञ्छित छैन । घरमा मात्र होइन समाजमा र अन्य क्षेत्रमा पनि महिलाको गणना बराबरीमा छैन । अहिलेको सत्य यही हो ।
परम्परागत सोच :
महिला शारीरिक रुपमा मात्र होइन मानसिक रुपमा पनि कमजोर छन् भन्ने पुरुषवादी सोच जीवित नै छ । त्यसै भएर सुरक्षाको घेरा आवश्यक छ भनिन्छ । महिलामा संकोच र हीनताबोध रहने गरेकै कारणबाट समाजमा खुल्न सक्दैनन् भन्ने टिप्पणी गरिन्छ । घरको आन्तरिक व्यवस्थापन महिलाको कार्यक्षेत्र मानिदै आएकोले पनि खुला हुन नसकेको भन्ने तर्क छ । महिला पुरुषको सहयात्री त हो तर अनुशरणकर्ताको रुपमा मात्र भन्ने सोचको कारणबाट महिला आफ्नै परिवेशको नियन्त्रणमा छन् । हाम्रो समाजको दृष्टिकोण नै यसरी विकसित भएको छ, जहाँ महिला एक्लो भएर जीउन सजिलो छैन । समाजको त्यस्तो दृशि्टकोणको कारणबाट पनि महिलामा अग्रसर हुन नचाहने प्रवृत्ति छ । हेय दृष्टिकोण त छँदैछ त्यसमापनि हुँदोनहुँदो आक्षेपबाट कमजोर बनाइन्छ । जैविक सिर्जनाको हिसाबले छोरी आवश्यक भएपनि प्राथमिकतामा नपर्ने र छोरा र छोरी भन्ने जन्मजात सोच नै भेदभावपूर्ण रहेको छ । त्यसैको कारणबाट जीवनको हरेक खुडकिलामा त्यस्ता व्यवहारको सामना गर्नुपर्ने स्थिति छ । आमा बाबु परिवार समाज सबै ठाउँमा हुने पक्षपातपूर्ण व्यवहारसँग भिड्नुपर्दाको सि्थति कति सह्य, असह्य र पीडादायक हुन्छ सबैले अनुभूत गर्नुपर्ने विषय हो । महिलाको मासिक धर्म प्राकृतिक नियमितता हो भन्ने कुरा जान्दाजान्दै पनि शुरुका दिनमा छोइन नहुने पृथक् बस्नुपर्ने जस्ता परम्परा विकसित भएर छाउपडि जस्ता प्रथा जनि्मएको अद्यापि जीवित नै छ । महिलाको निमित्त समाज र परिवार फरक फरक ठाउँमा फरक-फरक व्यवहार गर्नुपर्ने स्थितिको कारणबाट पनि भेदभाव हुने गर्छ । कन्यादानको परम्पराले छोरी अरुलाइ दिनको लागि हो भन्ने दृष्टिकोणले काम गरेको छ । वैवाहिक सम्बन्ध जोड्नुपर्ने कारणबाट फरक घर फरक गोत्रमा जानुपर्ने प्राकृतिक र धार्मिक मान्यताको पनि आफ्नै स्थान छ । यस्तै यस्तै सोच र विकसित भएको परम्पराले छोरी अर्को परिवारको सदस्यको रुपमा गणना गरिने कुराले पनि आफ्नो ठाउं बनाएको छ ।
गतिबिधिमा नियन्त्रण :
महिला र पुरुषको बीचमा घर भित्र होस् वा बाहिर हुने गतिबिधि र सक्रियताको विषयमा फराकिलो अन्तर छ । जन्मघर सदा आफ्नो नहुने भएबाट सुझाव जिज्ञासा निरर्थक हुन्छ भने विवाह गरि गएको घरमा आफ्नो जिज्ञासा राख्दा बढी भएको भन्ने कुराले कुण्ठित गराउँछ। घर भित्र पनि पुरुषको क्रियामा महिलाको मौन समर्थन नै घर व्यवहारमा सहयोग गरेको मानिन्छ । महिलाको प्रश्न निरर्थक नभएपनि अनावश्यक र कचकचको रुपमा लिइन्छ । जिज्ञासा र चाहना स्वाभाविक र सकारात्मक भएपनि स्वीकारिंदैन । खानपान, प्रयोग र उपयोगमा समान व्यवहार छैन । यौनशोषण जस्ता शब्दावली महिलाको निमित्त प्रयोग हुन्छ अनि आक्षेप पनि महिलालाइ नै लगाइन्छ । समाज महिलामैत्री बन्न सकेको छैन । महिला प्रति हार्दिकता पनि छैन । मनोरञ्जनको साधन र सेविका ठान्ने प्रवृत्ति रहेको कारण नै समाजमा महिला र पुरुषको वाञ्छित रुपमा हातेमालो हुन नसकेको यथार्थ प्रति ध्यान पुगेको छैन । विकास र प्रगतिको कुरा गरेपनि अग्रसर होइन नियन्त्रण हुन्छ । यस्ता प्रवृत्ति रहेको कारणबाट समाजमा रुपान्तरण सजिलो नभएको हो ।
अवसर र अग्रसरता :
शारीरिक भिन्नता प्राकृतिक भएकै कारणबाट कला सीप ज्ञान जस्ता कुरामा सोही अनुरुप तादात्म्यता रहन्छ । जे जस्तो छ त्यसै अनुसारको व्यवहार हुनुपर्ने भएपनि अनुकूल बनाउने प्रयास गरिन्छ । भावना र चाहनाको कदर त परको कुरा भयो, शारीरिक सुन्दरता र सरलताको आधारमा महिलाको प्रोत्साहन र अवसरको नाममा महिलाको प्रयोग हुन्छ । सम्मान स्वरुप पञ्चकन्या वा सरहको ठानी अभिवादन स्वागत जस्ता कार्गक्रममा महिला प्राथमिकतामा पर्ने र अग्रसर गराउने कुरा गर्वको विषय हो । तर यत्रतत्र सामेल गराउने कुराले भने न त महिलाको इज्जत बढाएको छ न त हैसियत नै गर्विलो हुन सकेको छ । महिला अग्रसरता र उत्थानको नाममा जथाभावी प्रयोग हुने परिवेश निर्माण गर्नु उचित हो होइन परिणामबाट देखिने विषय हो । जीवनशैलीसँग जोडिने यस्ता विषयले रहनसहन मात्र जटिल हुने होइन कि न्यूनीकरणको बाटो पनि खुल्छ । सामाजिक र आर्थिक प्रकृतिका यस्ता विषयले नगीच र टाढा बनाउने हो । महिलाको कार्यक्षेत्र साँगुरिने र फराकिलो बनाउने पनि यस्तै विषयले हो ।
यौनिक पवित्रता :
यौनिक पवित्रताको विषय धार्मिक मान्यता र सामाजिक व्यवस्थासँग जोडिएकोले महिला र पुरुष बीचको ठूलो अन्तर नै यौनिक र लैंगिक शुद्धता हो । पुरुषको लैंगिक पवित्रताको विषयमा वास्ता गरिंदैन तर महिलाको सतित्व आवश्यक मानिन्छ । यस मान्यताको पछाडि धार्मिक र जैविक कारण रहेको र त्यसमा केही सकारात्मक कुरा रहेको पनि भनिने गर्छ । अहिलेको परिवर्तित समाजमा विधवा विवाह र पुनर्विवाह जस्ता कुराले मान्यता पाएपछि यौनिक पवित्रता खोज्नुको कुनै प्रयोजन नदेख्ने समूह पनि छ । तरपनि यसबाहेक यौनिक अनुशासनमा रहनुपर्छ भन्ने सीमा निर्धारण गर्नु अन्यथा होइन । यो सीमा महिला पुरुष दुवैको लागि बन्धनकारी हुन आवश्यक हो । यौनिक अनुशासन महिलालाइ अदवमा राख्ने माध्यम भएको हुनसक्छ यो यौटा दृष्टिकोण हो । यौनिक अनुशासन कुनै समाज वा समुदायमा आवश्यक मानिने नमानिने फरक फरक मान्यता भएपनि समग्र रुपमा यौनिक अनुशासन आवश्यक हो । यौनिक अनुशासनको उल्लंघनमा महिला मात्र चारित्रिक दोषको भागी हुनुपर्ने भन्ने सोच समन्यायिक रुपमा अनुचित हो । यौनिक अनुशासनको सीमा बराबरीको विन्दुमा रहनुपर्ने भएपनि पुरुषलाइ छुट र महिलालाइ बन्धनकारी बनाइराख्ने गरि भएको प्रचलन केको आधारमा र कुन सोचले विकसित भएको हो त्यो ठाउँमा नपुगेसम्म चलनमा आएको कुरा छोड्न पनि कोही चाहँदैन । यो कुरा समन्यायिक पनि होइन र अनौठो पनि होइन । यौनाङ्गको शुद्धताको सम्वेदनशीलता आत्मसात गरेको समाजमा यौनिक अनुशासनको सीमा भित्र रहनु-नरहनु निजी विषय भएपनि समाजको डरले अनुशरण गर्नपर्ने बाध्यता छ । कुनै समुदायमा यौनिक शुद्धताको वास्ता गरिंदैन र पनि चलेकै छ । यस्ता कुरामा फरक फरक प्रवृत्तिले काम गरेको हुँदा धार्मिक मान्यता र मानसिक सोचको उपज हो भन्दा फरक पर्दैन ।
महिला र पुरुषको फरक प्रवृत्ति :
भोगको साधन बनाएको भन्ने महिलाको आरोप पनि यदाकदा सुनिन्छ । शारीरिक भोग त दुवै पक्षको हुन्छ दुवै पक्षका चाहना समाहित हुन्छन् अनि कसरी महिला भोगको लागि भन्ने भनाइ सत्य भयो भन्ने प्रश्न पनि छ । श्रमको शोषण भैरहेकै छ सर्वस्वीकार्य विषय हो । यौनसंसर्गको कुरा मात्र होइन महिलाको समग्र शरीर नै समवेदनशील मानिन्छ । सार्वजनिक ठाउँमा शरीरको स्पर्श हुनु दृष्टि रहनु जस्ता कुरामा पनि आशंकाको बीजारोपण हुन्छ । महिलाको आफ्नै अनुभव जे-जस्तो भएपनि देख्नेको मनमा प्रतिकूल सोचको उदय हुन्छ । प्रचलित कानून पनि सघाउने खालको छैन । यस्ता व्यवहारमा आशयको खोजी हुन्छ । महिला प्रति सुदृष्टिको खाँचो रहेर नै “मातृवत् परदारेषु” भनिएको हो । महिलाको शुद्धताको प्रश्न आजको मात्र नभएर पौराणिक कालदेखि कै हो । सीताको अग्निपरीक्षा यसैको सन्दर्भ हो । निगरानी महिलामा हुन्छ । परम्परागत सोचबाट विकसित भएको वर्तमान धरातलबाट छुट्कारा पाउन सजिलो हुँदैन । छलांग लगाउन खोज्नु स्वागतयोग्य भएपनि परिणाम सकारात्मक हुँदैन, समाजले परिवर्तनलाई सहज रुपमा स्वीकार्न चाहंदैन पनि ।
अन्तमा,
आदिकालदेखि नै पनपिएको सामाजिक र प्राकृतिक विभेदबाट रुपान्तरित हुने प्रयास प्रति पुरुषको मात्र हार्दिकता होइन कि महिलाको पनि सहज समर्थन हुँदैन । आमा र सासुको रुपमा छोरी र बुहारी अनि छोरी र बुहारीको रुपमा आमा र सासू प्रति हुने व्यवहार पनि फरक हुन्छ । पुराण र विभिन्न कालखण्डमा सिर्जित साहित्यका पात्रको भूमिकाले पनि परम्परागत सोचलाइ बलियो बनाएको छ। परिवार समाज कसैले पनि कालखण्डको परिवर्तनको प्रवाहमा जान प्रेरित गरेको विरलै होला । जीवनको हरेक पाइलामा संघर्ष गर्न तत्पर रहनुपर्ने अवस्था भएर पनि एकातिर सामाजिक जटिलता छ भने अर्कोतिर हरेक तप्कामा आमूल परिवर्तनको खाँचो देख्ने दृष्टिकोण पनि चुनौती भएको छ । त्यसैले सोच र दृष्टिमा नै परिवर्तनको खाँचो छ अनि निरन्तर प्रयासमा मात्र सम्भव छ । (लेखक/पूर्वन्यायाधीश शर्मा, हाल अमेरिकाबाट सुशासन र समाजिक न्यायका पक्षमा कलम चलाउनु हुन्छ।)