काठमाडौं । नेपाल राष्ट्र बैंकमा डेपुटी गभर्नरहरूको जिम्मेवारी पुनःबाँडफाँट गरिएको छ। नवनियुक्त गभर्नर विश्वनाथ पौडेलले डेपुटी गभर्नर डा. निलम ढुंगाना र बमबहादुर मिश्रबीच कार्य विभाजन गरेका छन्। यसअघि गभर्नर महाप्रसाद अधिकारीको कार्यकालमा डा. निलम ढुंगानाले पाएका जिम्मेवारीहरू बमबहादुर मिश्रको जिम्मेवारीमा थिए भने नवनियुक्त गभर्नर पौडेलले ती जिम्मेवारीहरू पुनः ढुंगानालाई सुम्पिएका छन्।
ढुंगानाले पाएका विभागहरूमा बैंक तथा वित्तीय संस्था नियमन विभाग, गैरबैंकिङ वित्तीय संस्था सुपरिवेक्षण विभाग, लघुवित्त सुपरिवेक्षण विभाग, विदेशी विनिमय व्यवस्थापन विभाग, मुद्रा व्यवस्थापन विभाग, संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभाग, सम्पत्ति तथा सेवा व्यवस्थापन विभाग, सूचना प्रविधि विभाग र प्रदेश कार्यालयहरू समावेश छन्।
त्यसैगरी, बमबहादुर मिश्रलाई बैंक सुपरिवेक्षण विभाग, वित्तीय संस्था सुपरिवेक्षण विभाग, आर्थिक अनुसन्धान विभाग, मौद्रिक व्यवस्थापन विभाग, भुक्तानी प्रणाली विभाग, बैंकिङ विभाग, मानव संसाधन व्यवस्थापन विभाग र वित्त व्यवस्थापन विभागको जिम्मेवारी दिइएको छ। गभर्नरको कार्यालय भने प्रत्यक्ष रूपमा गभर्नरकै नेतृत्वमा सञ्चालन हुने व्यवस्था गरिएको छ।
गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिएपछि डा. निलम ढुंगाना कायम मुकायम गभर्नर बनेकी थिइन् र सबै विभागको जिम्मेवारी बमबहादुर मिश्रलाई दिइएको थियो। नयाँ गभर्नर विश्वनाथ पौडेलको नियुक्ति भएसँगै डा. निलम ढुंगाना डेपुटी गभर्नरमा फर्किएका छन् र त्यसैअनुसार जिम्मेवारी बाँडफाँट गरिएको हो।