काठमाडौं । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता/सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार सञ्चारकर्मीहरूसँग साक्षात्कार गर्नुभएको छ । साक्षात्कारको क्रममा उहाँले सञ्चारकर्मीहरूसँग समसामयिक विषयमा छलफल तथा अन्तरक्रिया समेत गर्नुभयो ।
कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक थापाले आर्थिक वर्ष २०८१/०८२ को १० महिनाको अवधिमा नेपाल प्रहरीबाट सम्पादित प्रमुख कार्य तथा उपलब्धिहरू सम्बन्धी प्रस्तुतीकरण गर्नुभयो । सो क्रममा उहाँले मानवस्रोत विकास तथा स्रोतसाधन व्यवस्थापनतर्फ प्रहरीको इकाईगत संख्या, अस्थायी प्रहरी पोष्टमा कार्यरत एवम् नयाँ स्थापना तथा स्तरवृद्धिको लागि माग भएका इकाईहरूको बारेमा संख्यागत विवरण प्रस्तुत गर्नुभयो ।
यसैगरी उक्त अवधिमा अपराध अनुसन्धान तथ्याङ्क तथा विश्लेषणतर्फ कर्तव्य ज्यान, आत्महत्या, जबरजस्ती करणी, जबरजस्ती करणी उद्योग, बैंकिङ कसूर, लागूऔषध लगायतमा अपराध दर्ता संख्याको प्रदेशगत तुलनात्मक विवरण, साइबर अपराध, फैसला कार्यान्वयन, मानव बेचबिखन, बालबालिका खोजतलास सन्बन्धी तथ्याङ्क र घरेलु हिंसा सम्बन्धी तथ्याङ्क समेत उहाँले विश्लेषण गर्नुभयो ।
प्रहरी वरिष्ठ उपरीक्षक थापाले अन्तर्राष्ट्रिय समन्वयतर्फ एनसिबि काठमाडौंले सम्पादन गरेका कार्यहरूको विवरण बारे जानकारी दिनुभयो । यसैगरी प्रहरी कार्य, शान्ति सुरक्षा तथा ट्राफिक व्यवस्थापनतर्फ सवारी दुर्घटना सम्बन्धी तथ्याङ्क, ट्राफिक कारवाही सम्बन्धी विवरण, विपद् व्यवस्थापन, राजस्वमा योगदान, नागरिकसँगको सम्बन्ध, सूचना प्रवाह र प्रहरी सेवा, नेपाल प्रहरी तथा अन्य निकायसँग भएका सम्मझदारीहरू, हासिल गरेका मुख्य उपलब्धिहरूको बारेमा समेत उहाँले उपस्थित सञ्चारकर्मीहरूलाई विस्तृत रूपमा जानकारी दिनुभयो ।
कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक थापाले सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको निरूपण गर्दै जनचेतना, प्रहरीको सक्रियता तथा प्रहरी प्रतिको विश्वासमा अपराधको उजुरी दिने क्रम बढेको तथ्याङ्कले देखाएको बताउनुभयो । व्यवसायिकतालाई प्रवर्धन गर्ने उद्देश्य अनुरूप उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरूलाई पुरस्कृत गर्दै प्रहरी कर्मचारीहरूको मनोबल उच्च राख्न नेपाल प्रहरी संगठन संवेदनशील रहेको उहाँले उल्लेख गर्नुभयो । संगठित अपराधमा संलग्न व्यक्तिहरूलाई कानूनी दायरामा ल्याउन नेपाल प्रहरी सदैव कटिवद्ध रहेको उल्लेख गर्दै कुनै पनि व्यक्ति प्रहरी कार्यालयमा जाँदा उनीहरूको गुनासो सम्बोधनलाई प्राथमिकतामा राखेर प्रहरी सेवा प्रवाह हुने एवम् पीडितलाई न्याय दिलाई पीडकलाई कारवाहीको दायरामा ल्याउन प्रहरी थप संवेदनशील रहेको उहाँले बताउनुभयो ।
प्रहरी वरिष्ठ उपरीक्षक थापाले संगठनको हित एवम् सुदृढीकरण, प्रहरी कर्मचारीको व्यावसायिकता एवम् नागरिक प्रतिको जवाफदेहीताको लागि सञ्चारकर्मीहरूबाट प्राप्त उपयोगी राय सुझावप्रति आभार व्यक्त गर्दै प्रहरी र सञ्चारकर्मीहरू बिच सहकार्य र समन्वयलाई अझ राम्रो र प्रगाढ बनाउँदै लैजाने बताउनुभयो ।
विभिन्न समसामयिक विषयमा सञ्चारकर्मीहरूसँग छलफल तथा अन्तरक्रिया गरिएको उक्त कार्यक्रममा विभिन्न संचारमाध्यमका सञ्चारकर्मीहरू तथा प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।