× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
अर्थ/बजार

उपत्यकामा हट्यो जोर-बिजोर प्रणाली, अब सबै यातायात चल्न पाउने

Simrik Online

१९ असार २०७८, आईतवार

काठमाडाैं । काठमाडौं उपत्यकाभित्र काेराेना संक्रमण राेकथामका लागि लागू गरिएकाे जोरबिजोर प्रणाली हटाइएको छ । काठमाडाैंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले असार २२ गतेदेखि जोरबिजोर प्रणाली हटाइने जानकारी दिएका हुन् । याे निर्णयसँगै अब यातायातका सबै साधन चल्न पाउने भएका छन्।

उनका अनुसार कुल सिट क्षमताभन्दा बढी यात्रु राख्न पाइने छैन । यस्तै, सबै यात्रुहरुले अनिवार्य रुपमा मास्क लगाउनु पर्नेछ । मास्क नलगाउने यात्रुलाई सवारी साधनमा प्रवेश गर्न नदिन उनले आग्रहसमेत गरेका छन् । यस्तै, चालक र सहचालकले अनिवार्य मास्क, भाइजर र पन्जा लगाउनुपर्ने छ।

सफा टेम्पो र निलो माइक्रो पनि सञ्चालन गर्न पाइने भएको छ । यसअघि २५ सिट क्षमताभन्दा बढीका सवारी साधन मात्रै चलाउन दिइएको थियो । माइक्रोको तेस्रो सिटमा चार-चार जनाका दरले ८ जना र चालक छेउमा एक जना गरी ९ जना यात्रुभन्दा धेरै बोक्न पाइने छैन ।

यस्तै, सार्वजनिक सवारी साधनको ढोकामा स्यानिटाइजरको व्यवस्था हुनपर्ने छ। सवारीको मध्य भागमा दुईतर्फी यात्रुहरु छुट्याउने गरी प्लास्टिकको छेकबार लगाउनुपर्ने प्रजिअ पराजुलीले बताए।
उपत्यका भित्र संचालन हुने निजी सवारी साधनको हकमा स्वास्थ्य मापदण्डको अनिवार्य रुपमा पालना गरी संचालन गर्न पाइनेछ ।

यता, अत्यावश्यक काम विशेषले उपत्यका प्रवेश गर्ने सार्वजनिक तथा निजी सवारी साधनहरुको हकमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट स्वीकृति लिएर छोटो, मध्यम तथा लामो दूरीका सार्वजनिक तथा निजी सवारी साधनहरु प्रवेश गर्न पाउने छन् ।