काठमाडौं । नेपाल धितोपत्र बोर्डबाट आधा दर्जन जलविद्युत् कम्पनीले आईपीओ (प्राथमिक सेयर) निष्कासनको अनुमति पाएका छन्। यी कम्पनीको पब्लिक र प्रमोटर गरेर ७ करोड ८० लाख कित्ता सेयर निष्कासनका लागि बोर्डले अनुमति दिएको हो।
सामलिङ पावर कम्पनीले ५ लाख कित्ता स्थानीयका लागि र १२ लाख ३० हजार सर्वसाधारणका लागि, तेह्रथुम पावर कम्पनीले ४ लाख कित्ता स्थानीयका लागि र ८ लाख कित्ता सर्वसाधारणका लागि, मध्य भोटेकोसी जलविद्युत् कम्पनीले ६० लाख कित्ता स्थानियका लागि जारी गरिसकेको छ भने ९० लाख कित्ता सर्वसाधारणका लागि सेयर निष्कासन गर्ने भएको छ।
त्यस्तै, न्यादी हाइड्रोपावरले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा संस्थापक सेयरधनीका लागि १ भदौदेखि आईपीओ बिक्री खुला गर्ने भएको छ। कम्पनीले प्रतिसेयर १ सय अंकित मूल्यका कुल १८ लाख कित्ता साधारण सेयर निष्कासन गर्न लागेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्र लमजुङ जिल्लाको मस्र्याङ्दी गाउँपालिका वडा नम्बर ३, ६, ७ र ८ का स्थानीयका लागि ५ लाख कित्ता र लमजुङ जिल्लाकै अन्य क्षेत्रका स्थानीय बासिन्दाका लागि १० लाख कित्ता सेयर निष्कासन गर्न लागेको हो। बाँकी ३ लाख कित्ता कम्पनीले संस्थापक सेयरधनी बुटवल पावर कम्पनी र लमजुङ विद्युत् विकास कम्पनीका कर्मचारीका लागि निष्कासन गर्न लागेको छ । यसले २२ लाख ५० हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्ने भएको छ।
बुद्धभूमि नेपाल हाइड्रोपावरले समेत स्थानीयका लागि ३२ साउनदेखि साधारण सेयर निष्कासन गर्ने भएको छ। कम्पनीले सय रुपैयाँमा अंकित ४ करोड रुपैया बराबरको ४ लाख कित्ता सेयर निष्कासन गर्ने तयारी गरेको छ । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् भने ८ लाख कित्ता सर्वसाधारणका लागि निस्कासन गर्ने भएको छ।
त्यस्तै, साहस ऊर्जाले २९ साउनदेखि स्थानीयका लागि आईपीओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले प्रतिसेयर १ सय अंकित मूल्यका दरले ३५ लाख कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो। कम्पनीको उक्त आईपीओ आयोजना प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाका बासिन्दाका लागि निष्कासन गर्न लागेको हो। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १० लाख ५० हजार कित्ताका लागि आवेदन दिन सक्ने भएका छन्। १ करोड ५ लाख कित्ता सर्वसाधारणका लागि निष्कासन गर्ने समाचार राजधानीमा प्रकाशित छ।