काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच आज भेटवार्ता भएको छ। चौथाइवाले कांग्रेसको निमन्त्रणामा चार दिने अनौपचारिक भ्रमणका लागि नेपाल आइपुगेका हुन्। उनले आइतबारै बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवासँग शिष्टाचार भेटवार्ता गरेका छन्। भेटमा चौथाइवालेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश सुनाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
देउवा प्रधानमन्त्री भएपछि भारतबाट आएका डा.दिनेश उपाध्याय ५ दिने नेपाल बसाइ र भेटघाट पछि आजमात्रै दिल्ली फर्केका थिए। उपाध्याय दिल्ली पुगेपछि नेपाल आएका चौथाइवाले नै भाजपाका देउवा प्रधानमन्त्री बनेपछि नेपाल आएका सबैभन्दा उच्चस्तरीय नेता हुन्।
कांग्रेस सहमहामन्त्री एवं पूर्वपरराष्ट्रमन्त्री प्रकाशसरण महतले प्रधानमन्त्री र चौथाइवालेबीच भेटवार्ता भएको पुष्टि गर्दै दुई पार्टीबीचको सम्बन्धलाई कसरी दुई देशको हितमा उपयोग गर्न सकिन्छ ? भन्ने विषयमा छलफल भएको बताए । ‘उहाँलाई नेपाल भ्रमणको लागि मैले कांग्रेसको तर्फबाट निमन्त्रणा दिएको थिएँ। त्यही सिलसिलामा उहाँ नेपाल आउनुभएको हो। उहाँको यो भ्रमण मुख्यतः भाजपा र कांग्रेसको सम्बन्ध विस्तार र नेपाल-भारत सम्बन्धलाई कसरी बलियो पार्ने ? भन्ने सम्बन्धमै केन्द्रित हुन्छ,’ महतले भने । महतले आइतबारको भेटवार्ताले नेपाली कांग्रेस र भाजपाबीचको सम्बन्धलाई नयाँ उचाईमा पुर्याउने विश्वास व्यक्त गरे।
देउवा प्रधानमन्त्री भएपछि भारतीय समकक्षी मोदीसँग टेलिफोनमा कुराकानी भएलगत्तै चौथाईवालेले पनि देउवासँग संवाद गरेका थिए। अनौपचारिक भ्रमणका क्रममा चौथाइवालेले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललगायत शीर्ष नेतासँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।