काठमाडौं । नेपाली कांग्रेसका शिर्ष नेताहरुबीच फेरि अर्को सहमति भएको छ। महाधिवेशनका लागि एकपछि अर्को सहमति गरेपनि कार्यान्वयन गर्ननसक्दा कांग्रेसमा एकपछि अर्को सहमति भइरहेका छन्। शुक्रबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको शिर्ष नेताको सहमतिअनुसार अब जिल्लासभापतिले उठाएका माग संबोधनका लागि सभापति शेरबहादुर देउवा तयार भएका छन्।
जिल्ला सभापतिहरुले क्रियाशील सदस्यता सार्वजनिक गरी त्यसमा भएका त्रुटी सच्याउने प्रतिबद्धतासहित जिल्लालाई समय दिनुपर्ने, एक निर्वाचन भएका र एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्ला सभापतिको निर्वाचनमा एकरुपमा कायम गर्नुपर्ने र जिल्ला सभापतिले पनि महासमिति सदस्यमा चुनाव लड्न पाउनुपर्ने सहितका माग राखेका थिए। सुरुमा उक्त माग संबोधनमा तयार नभएका सभापति देउवा शुक्रबारको बैठकपछि तयार भएका छन्।
अब सकेसम्म शनिबार नै ७७ वटै जिल्लाको क्रियाशील सदस्यता प्रकाशित गरी सच्याउन जिल्लालाई दुई दिनको समय दिइनेछ। “फलानो दिन वडा अधिवेशन गर्ने सहमति भनेर उल्लेख छैन तर, एकैदिन गर्ने सहमति भएको छ,” कांग्रेस वरिष्ठनेता रामचन्द्र पौडेलका स्वकीयसचिव चिरञ्जीवि अधिकारीले भने, “शनिबारै ७७ जिल्लाको क्रियाशील सदस्यता प्रकाशित गर्ने सहमति भएको छ।” उनले जिल्ला सभापतिको अनसन अन्त्यका लागि पनि क्रियाशील सदस्यता विवाद समाधान समितिले पहल गर्ने समझदारी भएको बताए।
जिल्ला सभापतिहरुले पारदर्शीताको सहमति निर्माण भएको भन्दै त्यसको कार्यान्वयन हुनेमा आशावादी भएको बताएका छन्। “क्रियाशील सदस्यता प्रकाशित गर्ने र सच्याउनका लागि दुई दिनको समय दिने सहमति भएको भन्ने सुनिएको छ। तर, हामीलाई औपचारिक जानकारी आएको छैन,” काभ्रे जिल्ला सभापति मधु आचार्यले भने, “विश्वाशिलो आधार पाएमा हामी सत्याग्रह अन्त्य गरेर अधिवेशनका लागि जिल्ला जान्छौं।”