काठमाडौं । नेपाल सरकारको स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ४३ ठाउँमा सुपथमूल्य पसल सञ्चालन गर्ने भएको छ। असोज १ गतेदेखि सञ्चालन हुने सुपथमूल्य पसल कम्पनीले कार्यालय रहेका ३९ जिल्लाका ४३ स्थानमा सञ्चालन गर्ने जनाएको हो। सरकारले चाडपर्वको अवसरमा हरेक वर्ष दशैँ, तिहार र छठ पर्वका बेला सुपथमूल्य पसल सञ्चालन गर्दैआएको छ।
खाद्य ब्यवस्था कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेले असोज १ गतेदेखि कार्यालय रहेका स्थानमा सुपथ मूल्यका पसल सञ्चालनमा ल्याइने जानकारी दिएकि छन्। उनकाअनुसार कम्पनीले यसवर्ष चामल, दाल, चिउरा, पिठो र तेलमा रु. ५ तथा भटमासको तेल, मासु र कर्णाली सिमीमा रु. १० छुट दिनेछ। कम्पनीले काठमाडौं उपत्यकामा खाद्यको थापाथली, रामशाहपथ, नक्खु, लगनखेल र सूर्यविनायक बिक्रीकेन्द्रबाट सुपथ मूल्यमा खाद्य सामग्री बिक्री वितरण हुने जनाएको छ। यस्तै, उपत्यकाबाहिर बनेपा, विराटनगर, बिर्तामोड, हेटौँडा, नारायणगढ, भैरहवा, बुटवल, नेपालगञ्ज, पोखरा, दाङ, सुर्खेत, धनगढी, महेन्द्रनगर, डडेलधुरा लगायतका स्थानबाट खाद्य वस्तु बिक्री वितरण हुने बताइएको छ। यसवर्ष खाद्य कम्पनीले च्याङ्ग्रा ल्याउने सम्भावना कम रहेको जनाएको छ। कोभिडका कारण कम्पनीले गतवर्ष समेत च्याङ्ग्राको बिक्रीवितरण रोकेको थियो।
खाद्य कम्पनीसँगै साल्ट ट्रेडिङ कर्पोरेसन र दुग्ध विकास संस्थान (डीडीसी)ले आफ्ना बिक्रीकेन्द्रमा सुपथमूल्य पसल सञ्चालन गर्ने जनाएका छन्। यसअघि नै कोभिड सङ्क्रमणलाई ध्यानमा राख्दै उपभोक्ताको भीडभाड नहुने गरी खाद्यान्न बिक्री वितरण गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ३ कम्पनीलाई निर्देशन दिइसकेको छ। असोज १ गतेदेखि सञ्चालन हुने सुपथमूल्य पसल कात्तिक २४ गतेसम्म सञ्चालन हुनेछन्।